बर्दिबास, २९ माघ । दृष्टिविहीन छात्रछात्राका लागि महोत्तरीको बर्दिबास-३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयमा छात्राबास निर्माण कार्य थालिएको छ । करिब एक करोड लागतमा दुई तलाको आठ कोठे पक्की छात्राबास भवनको आज सोमबार नगरप्रमुख प्रह्लादकुमार क्षत्रीले शिलान्यास गर्नुभएसँगै निर्माण कार्य सुरु भएको हो ।

जम्मा ९८ लाख ९५ हजार ८४२ लागतको छात्राबास भवन निर्माणका लागि आष्ट्रियाली सरकारले छायाँ नेपाल नाउँको संस्थाको समन्वयमा ७९ लाख १६ हजार ६७४ र बर्दिबास नगर कार्यपालिकाको कार्यालयले १९ लाख ७९ हजार १६८ आर्थिक दायित्व निर्वाह गर्ने शिलान्यास समारोहमा जानकारी दिइएको छ । एक वर्षभित्रै निर्माण सम्पन्न गरिने यस भवनको बनौट अपाङ्गता मैत्री हुने सहयोगी संस्था छायाँ नेपालका इञ्जिनियर साध्या बेलबासेले बताउनुभयो ।

भवनको भुइँतलामा दृष्टिविहीन मैत्री शौचालयको सुविधासहितका चार कोठा हुनेछन् । त्यसैगरी माथ्लो तलामा दृष्टिविहीनहरुलाई उद्यमशीलतामा लगाउने सहयोग सामग्रीसहितको अभ्यासकक्ष र सभाभवन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजनप्रसाद ढुङ्गानाको भनाइ छ । यसले औपचारिक शिक्षामात्र नभएर सीप सिकाइसँगै आर्थिक रुपमा आत्मनिर्भर बन्न दृष्टिविहीनलाई सहयोग पुग्ने विश्वास गरिएको ढुङ्गाना बताउनुहुन्छ ।

जनता माध्यमिक विद्यालय गौरीडाँडामा विक्रम सम्वत् २०७३ सालदेखि दृष्टिविहीनहरुको पठनपाठन व्रेल लिपीमा हुँदैछ । यसअघि २०७५ सालमा निर्मित छात्राबास भवन छात्र र छात्रालाई छुट्टाछुट्टै बसोबास प्रबन्ध गर्न समस्या भइरहेका बेला अहिले थप आठ कोठे भवन बन्न लागेको हो । अब यसअघि भाडाघरमा बस्दै आएका छात्रछात्रा अब आफ्नै भवनमा बस्न पाउने प्रबन्ध हुनलाग्दा निकै सहज हुने दृष्टिविहीन छात्रछात्राका शिक्षक सीमा नेपाल बताउनुहुन्छ ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख क्षत्रीले नगरको शैक्षिक विकासमा स्थानीय सरकारको उदात्त सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा विद्यालय संस्थापकमध्येका स्थानीय शिक्षाप्रेमी तुलसीप्रसाद ढुङ्गाना , सहयोगी संस्था छायाँ नेपालका प्रबन्धक राम महर्जन, बर्दिबास-३ का वडाअध्यक्ष विराटकुमार बिष्टलगायतले दृष्टिविहीन छात्रछात्राका लागि निर्माण थालिएको छात्राबासले विद्यालयको भौतिक पूर्वाधारसँगै लक्षित छात्रछात्रालाई पठनपाठन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि (२०७३ यता) २० जनासम्म दृष्टिविहीन छात्रछात्रा यस विद्यालयमा अध्ययनरत थिए । अहिले भने महोत्तरी र सर्लाहीका गरी १५ छात्रछात्रा रहेका विद्यालयका प्रधानाध्यापक रामसकल महतोको भनाइ छ । अध्ययनरत छात्रछात्रा बालकक्षादेखि नौ कक्षासम्मका छन् ।

२०८० माघ २९, सोमबार १९:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय