नेपालवाणी डटकम / जनकपुरधाम

जनकपुरमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । जनकपुरको एंजल्स स्कुल बसको ठक्करबाट एक जनाको घटना स्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्करबाट जनकपुरधाम उप–महानगरपालिका २३ की ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमा र सोही ठाउँ बस्ने ५८ वर्षीया देवकली साहको उपचारको क्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आइतबार बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुल बसले बिहेको मटकोर विधिको लागि माटो ल्याउन जाँदै गरेका महिलाहरुको समूहलाई ठक्कर दिएको थियो । जसमा जसमध्ये ५० वर्षीय अम्बिका देवी झाको अवस्था गम्भीर छ र उनलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।

यस्तै घाइतेहरुमा ७० वर्षीया पशुपति देवी यादव, भुवनेश्वर देवी यादव, ४ वर्षीय बालक सोनु कुमार साह, २४ वर्षीया ममता देवी यादव र ४० वर्षीया दलसिया देवी साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी अवाले बताए । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

घटनापछि विहानै देखि विन्धीको अवस्था तनावग्रस्त छ । ठक्कर दिने बसमा आगजानी र एकजनाको घरमा लुकेका चालकलाई आक्रोशित स्थानीयले आक्रमण गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा ढुंगामुढाबाट ७ जना प्रहरी सामान्य घाइते भएको डीएसपी अवाले बताए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो । चालक र बसलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ । सडक छेउमा हिँडिरहेका महिलालाई तिव्र गतिमा रहेको बसले ठक्कर दिएको स्थानीयबासिन्दाले बताएका छन् । विवाहका लागि माटो खन्न गइरहेकी महिलाहरुको समुहलाई बसले किचेको थियो । दुर्घटनापछि आक्रोषितहरु बसमा तोडफोड गरेको छ ।

२०८० फाल्गुन २०, आईतवार १९:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय