बर्दिबास, १७ चैत । मुलुकका सहकारी संस्थाहरु ऋण र वचतको कार्यले मात्र अब अघि बढ्न नसक्ने यस आन्दोलनका अगुवाको निष्कर्ष छ । आज शनिबार महोत्तरीको बर्दिबासमा समाज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभामा सहकारी आन्दोलनका अगुवा तथा प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले अब सहकारी संस्थाहरुले विश्वसनीयता र सदस्यहरुप्रतिको जवाफदेहितामा प्रतिष्पर्धा गर्नपर्ने बताउनु भएको हो ।

कार्यक्रममा समाज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक संरक्षकसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य एबं नेपाली काँग्रेसका केन्द्रीय सदस्य घिमिरेले सहकारीहरुले अब ब्याजदरलाई कम गर्दै सदस्यहरुको सर्वाङ्गिण हितमा काम गर्नपर्ने बताउनुभयो । “अब वचत र ऋणबाट मात्र संस्था चलाउँछौं भन्ने सोचं बदलिनै पर्छ” घिमिरेले भन्नुभयो, “प्रत्येक सदस्यका परिवारको शिक्षा, स्वास्थ्य र जनजिविकाका कुरामा सहकारीले जिम्मेवारीवोध लिनपर्छ ।” सहकारी आन्दोलनमा यसभित्रका विकृति र आर्थिक अपचलनले राम्रा काम गर्नेहरुको पनि साख गिरेको घिमिरेको भनाइ छ । विक्रम सम्वत् २०५१ सालमा स्थापना भइ त्यसलगत्तै मुलुक गहिरो सशस्त्र द्वन्दमा रहेको बेला आफ्नो संरक्षकत्वको समाज सहकारीले भने जनउत्तरदायी काम गर्दै अघि बढेको घिमिरेले उल्लेख गर्नुभयो ।

साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/०८० मा संस्थाको सेयर पुँजी एक करोड ६९ लाख ३९ हजार ८०० छ । यो आव २०७८/०७९ को तुलनामा १.४४ प्रतिशतले वृद्धि भएको उल्लेख छ । त्यसैगरी संस्थाको कूल वचत रकम १७ करोड ११ लाख ४८ हजार ८१२ रहेको प्रतिवेदनमा जनाइएको छ । यो अघिल्लो वर्षभन्दा २. ६२ प्रतिशतले बढेको संस्थाका अध्यक्ष गीता अधिकारीले उल्लेख गर्नुभयो । यसैगरी कूल ऋण लगानी २२ करोड ७६ लाख ५३ हजार ८२८ पुगेको छ । संस्थामा चालु आवको प्रारम्भमा सेयर पुँजी, बचत, संस्थागत पुँजी र वाह्य ऋणसमेत गरी २७ करोड ७७ लाख तीन हजार ९१९ रहेको र चालु आवको अन्त्यसम्म यो रकम ३२ करोड ३३ लाख पुर्‍याइने लक्ष रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाका दुई हजार ५६४ महिला, दुई हजार एक पुरुष र २७८ संस्थागत सदस्य रहेका अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रममा सहकारी आन्दोलनका अगुवाहरुले विद्यमान प्रतिकूलतालाई चिर्दै जनउत्तरदायी कामबाट सहकारी जनताको असल र दुःखसुखको साथी भन्ने प्रमाणित गर्ने प्रतिबद्धता जनाएका छन् ।

संस्थाको सम्पन्न २१ औं वार्षिक साधारणसभामा उत्कृष्ट समूह, सेयर बचतकर्ता र उद्यमीलाई सम्मानित गरिएको छ ।

संस्थाको २१ औं साधारणसभा संस्थाका अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।


२०८० चैत्र १७, शनिबार २१:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय