मटिहानी (महोत्तरी), ६ वैशाख ।
स्थानीयतहका बस्तीबस्तीमा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवाले सर्वसाधारणमा आफ्ना ठाउँका कामबारे सकारात्मक चासो बढेको छ । मटिहानी नगर पालिका कार्यालयबाट जनप्रतिनिधि र सम्बद्ध कर्मचारीसहितको टोली आफ्नै बस्तीमा आएर विभिन्न सेवा एकै ठाउँमा दिन थालेपछि सर्वसाधारण उत्साहित देखिएका छन् ।
मटिहानी नगर कार्यपालिकाको कार्यालयले थालेको बस्तीबस्तीको घुम्ती सेवाले सर्वसाधारणबीच आफ्ना ठाउँका आवश्यकता र तिनको समाधानका बारेमा आपसी छलफल गर्ने क्रम बढाएको छ । सर्वसाधारण आफ्ना ठाउँका अधुरा कामबारे जनप्रतिनिधिलाई त्यस्ता अधुरा योजना देखाएरै ध्यानाकर्षण गराउँदैछन् । नगर कार्यपालिकाको कार्यालयले सबै वडा बस्ती पुग्ने तालिकासहित गत सोमबार थालेको घुम्ती एकीकृत सेवा टोलीमा जनसहभागिता बढ्दै गएको कार्यालयका योजना अधिकृत राजेशकुमार शर्माको भनाइ छ ।
नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुँदै आएका जनसरोकारका कामहरु एकीकृत घुम्ती सेवामा एकै ठाउँबाट दिइदै छ । जसमा जन्मदर्तासहितका व्यक्तिगत घटना दर्ता, दैनिक हु्ँदै आएका सिफारिसका अतिरिक्त योजना सम्बन्धी अभिमुखीकरण, योजना छलफल र सम्झौता , व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, नाता प्रमाणित , अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरणसहितका कार्यक्रम छन् । यस क्रममा स्वास्थ्य जाँच गर्ने महिला निकै बढेका देखिदो छ ।
यसैगरी कृषिसम्बद्ध कार्यहरु विज्ञबाट माटो परीक्षण (कृषि कार्यका लागि), कृषि मीटर (विद्युत मीटर) सिफारिस र तरकारीका मिनी किट (बीउ) वितरण घुम्ती सेवामा दिइदैछ । यस्तै घुम्ती सेवामा पशुबस्तुको गोबर र गर्भ परीक्षण, पशुपक्षीसम्बन्धी विभिन्न स्वास्थ्य समस्याबारे परामर्श तथा औषधी वितरणका कार्यक्रम छन् । यस्तै यसै अभियानमा राजस्व असुली, गरिब परिचयपत्र वितरणसहितका सेवा छन् ।
“बौवासब्के जनम दर्ता भगेल आ तरकारीक बिजन सेहो भेटल” (साना नानीहरुको जन्मदर्ता भयो, अनि अब खेती गरिने तरकारीका बीउ पनि लिएँ) मटिहानी-५ गोबरौरा बस्तीका एक सेवाग्राहीले खुशी हुँदै घुम्ती सेवाबाट सजिलै काम भएको प्रतिकृया दिनुभयो । यसै क्रममा आफ्नो र घरपालुवा पशुबस्तुको स्वास्थ्य जाँच र औषधी पनि पाइएको सेवाग्राहीले बताएका छन् ।
“आम सर्वसाधारणलाई वडा र नगरपालिका कार्यालयबाट प्रदान गरिने सेवाबारे जानकारीको पनि कमी छ, हामी घुम्ती सेवामा कार्यालयबाट प्रदान गरिने सेवाबारे पनि सर्वसाधारणमा जानकारी बढाउँदैछौं” नगरप्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “खासमा प्रारम्भिक स्वास्थ्य जाँच र उपचारबारे जानकारी बढे स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढ्ने छ ।” यस्तै विकास पूर्वाधार र अन्य आवश्यकताबारे चासो बढाउनु पनि घुम्ती सेवाको उद्देश्य रहेको मण्डलको भनाइ छ ।
एकै ठाउँमा सबै सेवा प्रवाहले विभिन्न कार्यालयबाट हुँदै आएका काम सर्वसाधारणले आफ्नै बस्तीमा सजिलै पाएका छन् । घुम्ती सेवाले भएका जनसरोकारका विकासे कार्यबारे आम चासो बढाएको उपप्रमुख मञ्जुदेवी साह बताउनुहुन्छ । यस क्रममा व्यक्तिगत घटना दर्ताबारे सचेतना बढेको र स्थानीय आवश्यकताबारे योजना बनाउन सर्वसाधारणको सहभागिता बढेको उपप्रमुख साहको ठम्याइ छ । “हाम्रो ध्येय नै वडा र नगर कार्यपालिका कार्यालयबाट सम्पादन हुने कामबारे सर्वसाधारणको चासो बढाउनु हो” उपप्रमुख साह भन्नुहुन्छ, “हालसम्म घटना दर्ताबारे चासो नै नराखेका सर्वसाधारणले यस अभियानका क्रममा प्रसस्त व्यक्तिगत घटना दर्ता गराएका छन् ।”
नगर कार्यपालिकाको कार्यालयले जनसरोकारका काममा सर्वसाधारणको चासो बढाउन र भए गरिएका कामबारे आम उपभोक्ताको धारणा समेटन यो कार्यक्रम सहयोगी हुने जनाएको छ । आफ्नै बस्तीमा नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्षसहितका जनप्रतिनिधि, कार्यालयका अधिकृत कर्मचारी र विभिन्न शाखाका प्रमुखलाई एकै ठाउँमा भेटेपछि सर्वसाधारण खुलेर आफ्ना आवश्यकता र कामबारे टिप्पणी गर्ने भएका छन् । मुख्य रुपमा जनसरोकारका काममा जनचासो र सहभागिता बढाउने उद्देश्यसाथ सुरु गरिएको एकीकृत घुम्ती सेवाको कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख मण्डलको भनाइ छ । नगरमा नौ वडाका ५० भन्दा बढी बस्ती छन् । सेवा सबै बस्तीमा पुर्याइने मण्डल बताउनुहुन्छ ।
जिल्लाको दक्षिणपूर्व अवस्थित भारतसँग सीमा जोडिएको मटिहानीमा थालिएको यो कार्यक्रमको प्रभावकारिताबारे अब छिमेकका स्थानीयतहका सर्वसधारणले चासो बढाएका छन् । जलेश्वर, पिपरासहितका मटिहानीसँग सीमा जोडिएका स्थानीयतहका सर्वसाधारणले आफ्ना प्रतिनिधिसँग यस्तो कार्यक्रम संयोजन गर्न सुझाव दिइएको प्रतिकृया दिएका छन् ।