बर्दिबास : नेपाली भाषा साहित्य क्षेत्रकी साधिका पारिजातलाई एउटा युगको प्रतिनिधिका रुपमा अहिलेका साहित्य साधकले बताएका छन् । पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा बुधबार प्रगतिशील लेखक सङ्घ नेपाल मधेश प्रदेश समितिले बर्दिबासमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले पारिजातको साहित्य साधनाले नेपालमा विषमता र विभेदविरुद्ध विद्रोहको वकालत गरेको बताएका हुन् ।
पञ्चायतकालका अँध्यारा दिनमा राजाको स्तुतिगानमा रहेको साहित्यलाई जनताका आधारभूत अधिकारबारे सुसूचित गराउँदै पारिजातसहितका साधकहरुले एउटा नयाँ युगको आह्वान गरेका वक्ताहरुको भनाइ छ । भाषा साहित्यको साधनालाई प्रगतिशील तथा प्रजातान्त्रिक आन्दोलनसँग जोड्दै पञ्चायतविरुद्ध जनमत बनाउन पारिजातको अतुल्य योगदान रहेको श्रष्टाहरुले बताएका छन् ।
“उहाँ (पारिजात) ले पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनसँग भाषा, साहित्यको तादाम्यता जोड्न निरन्तर प्रयत्न गर्नुभयो” कार्यक्रममा राष्ट्रियसभाका पूर्वउपाध्यक्ष शशिकला दाहालले भन्नुभयो, “पञ्चायतविरुद्धको राजनीतिसँग प्रजातान्त्रिक आन्दोलनको नाता जोड्ने पछिल्लो कालका साधकहरुमा पारिजात अव्वल हुनुहुन्थ्यो ।”
कार्यक्रममा वक्ताहरुले पारिजातको सङ्घर्षपूणर् जीवन र अनवरत साहित्य साधनालाई जीवनका आवश्यकता र जनताको चाहनाका विषयसँग जोडेर विवेचना गर्नुभयो । “पारिजात साहित्य नै नेपाली भाषा , साहित्यको इतिहासमा एउटा खास कालखण्ड हो, जसले शोषण, दमन र असमानताविरुद्ध विद्रोहको चेत बोक्यो” शिक्षाविद् नारायणविक्रम थापा भन्नुहुन्छ, “पारिजात र उहाँका समवयी साहित्य साधकले पञ्चायतविरुद्ध फुकेका विगुलले प्रजातन्त्र पुनस्र्थापना चाँडै हुनसक्यो ।”
कार्यक्रममा प्राज्ञ इन्द्रप्रसाद रेग्मी, राजनीतिक व्यक्तित्वहरु तुुलसीप्रसाद ढुङ्गाना, राजन सी, राजनप्रसाद ढुङ्गाना, आधारशीला परिवार गौरीडाँडाका माधव कोइराला र साहित्य साधक केदार कोइरालासहितका वक्ताले पारिजातको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभयो ।
यसैगरी कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य जीवन स्पर्शी, विपीराज दाहाल, लिलानाथ गौतम, हेमसागर वाग्ले, सौरभ खड्का, नेत्र रम्तेल, लिलानाथ गौतम, अग्नीकवच, विपुल विद्रोही, जनक पौडेल, नारद , सुमन सारङ्गी , रमेश खड्का, राममिलन, रोजी फुयाल, सुनिता बराल, खड्ग बस्नेत, कमरुदिन नदाफसहितका श्रष्टाले पारिजातको साहित्यिक योगदानको चर्चा गर्नुभयो ।
समारोहमा श्रष्टाहरुले कविता, गजल, मुक्तकसहितका विधामा आफ्ना रचना वाचन गर्नुभयो । प्रगतिशील लेखक सङ्घ मधेशका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रम भीमकुमार राउतले सञ्चालन गर्नुभएको हो ।