
नेपालवाणी नेटवर्क
जनकपुरधाम, बैशाख ।
क्षिरेश्वरनाथ नगरपालिकाले सञ्चालन गरेको एक महिने लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा विधिवत रुपमा शुक्रवार सम्पन्न भएको छ । क्षिरेश्वरनाथ नगरपालिका तथा आसपासका स्थानीय तहका विद्यार्थीहरुले लोकसेवा आयोगको कक्षा तयारी गर्न नपाएका तथा गरिब विपन्न वर्गको अभावका कारण तयारी कक्षा सहभागि नभएकाहरुको मध्यनजर गर्दै सञ्चालन गरेको निःशुल्क कक्षा शुक्रवार विधिवत सम्पन्न भएको हो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको आयोजना तथा हेल्पिङ्ग ह्याण्डस् नेपालको समन्वयन/सहकार्य तथा मधेश कोचिङ्ग सेन्टरको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क लोक सेवा आयोगको कक्षामा २५ जना विद्यार्थी सहभागि रहेका थिए । स्थानीय गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्थानीय स्तरमै निः शुल्क तयारी कक्षा सञ्चालन गरेको नगरपालिकाले युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन गरेको मेयर सुखदेव यादवले बताए ।
लोकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र धेरै शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउँदै स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सुरु गरेको नगर प्रमुख यादवले बताए । युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताए । अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध हुन्छ भन्ने विश्वासका साथ नेतृत्व विकास तथा सकारात्मक उर्जाको लागि लोकसेवाका कक्षा उपयोगी सावित हुने विश्वास लिए ।
शुक्रवार आयोजित निःशुल्क लोकसेवा कक्षा समापन समारोहमा बोल्दै उनले भने, ‘युवाहरूमा सिकाइ उपलब्धि बढाउँदै, मेहनति, प्रतिस्पर्धी र इमानदार नागरिकका रुपमा स्थापित गराउने लक्ष्यका साथ यो कक्षा सञ्चालन गरिएको छ । यसलाई भविष्यमा समेत निरन्तरता दिईनेछ । युवायुवतीमा प्लस टु सकेपछि नै विदेश जाने प्रवृत्ति छ । त्यसलाई कम गर्न तथा सरकारी सेवामा आकर्षण बढाउने उद्देश्यले निःशुल्क तयारी कक्षा सुरु गरिएको हो ।’
लोकसेवाको निःशुल्क तयारी कक्षाको समापन समारोहमा नगरपालिकाका शिक्षा अधिकृत दीपक खत्री, जिन्सी शाखा प्रमुख सरोज कुमार रजक, प्राविधिक प्रमुख अजय कुमार यादव, काशिम राईन लगायतको कर्मचारीहरुको उपस्थिति रहेको थियो । आफ्नै पालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन भएपछि विद्यार्थीहरू खुसी व्यक्त गरेका छन् ।
लोक सेवा तयारीको कक्षा लिन जनकपुरधाम, काठमाण्डौै सहित टाढा जानुपर्ने र आर्थिक धनराशि पनि खर्च नभएको प्रशिक्षार्थी गणेश गुप्ताले बताए । ३० दिनसम्म सञ्चालन भएको लोकसेवा कक्षामा २५ जनाको सहभागिता थियो । नगरपालिकाको प्रत्येक वडाबाट विद्यार्थीको सहभागिता रहेको थियो ।