
गाेपाल बराल,
बर्दिबास (महोत्तरी), २९ वैशाख ।
मान्छेको जीवन रक्षाका लागि उपचारमा कतिपय बिरामीलाई सेतो रगत (श्वेत रक्त) को आवश्यकता पर्छ । बिरामीले यो सेवा आफ्नै ठाउँमा पाउन् भन्ने उद्देश्यले यो रगत बनाउने कम्पोनेन्ट मसिन खरिद गर्न अहिले महोत्तरीको बर्दिबासमा अर्थ सङ्कलन थालिएको छ ।
बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयबाट २०५९ सालमा एसएलसी सेन्टप विद्यार्थीले यो अभियानको थालनी गरेका हुन् । बर्दिबास हेल्पिङ् ह्याण्डस् (बर्दिबासका सहयोगी हात)–२०५९ संस्था नै गठन गरेका पूर्वविद्यार्थीले आज शनिबार कम्पोनेन्ट मसिन खरिदका लागि प्रारम्भिक चरणमा ५९ हजार नगद नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई हस्तान्तरण गरेका छन् ।
“हामीले प्रारम्भिक चरणमा कम्पोनेन्ट मसिन किन्न रेडक्रस बर्दिबास उपशाखालाई ५९ हजार नगद हस्तान्तरण गरेका छौं” २०५९ सेन्टप समूहका सदस्य तथा हाल बर्दिबास अस्पतालका मेडिकल अफिसर डा. किशोर अधिकारीले भन्नुभयो, “यो सबैलाई जागृत गराउने अभियान हो, यसैले रकम सानो भएपनि समारोह नै आयोजना गरेर हस्तान्तरण गरेका हौ ।” आम बर्दिबासबासीले कम्पोनेन्ट मसिन खरिदका लागि अभियान थालिएको थाहा पाउन् भन्ने आपूmहरुको उद्देश्य रहेको डा. अधिकारीको भनाइ छ ।
जनता मावि बर्दिबास–२ का २०५९ सेन्टप विद्यार्थीले पहिलो चरणमा आपूmहरुबीच नै रकम सङ्कलन गरेर रेडक्रसलाई हस्तान्तरण गरेका हुन् । “हामीलाई यो अभियान अघि बढाइ हालौं भन्ने भयो, जो जो साथी भेटिए ,तिनका बीच सल्लाह गरेर बर्दिबास हेल्पिङ् ह्याण्डस् (बर्दिबासका सहयोगी हात)–२०५९ गठन गरेर संस्थागत प्रयत्न थाल्यौ” सो सेन्टप समूहकै सदस्य तथा हाल सशस्त्र प्रहरी निरीक्षक रवि थापाले भन्नुभयो, “यो सबैका लागि प्रेरणा र हौसला होस् भन्ने अभिप्रायले प्रचारात्मक शैली अपनाएर हस्तान्तरण गरेका हौं ।” प्रारम्भमा आपूmहरुको नवगठित संस्थामा २०५९ सङ्केत रहेको हुँदा ५९ हजारको सहयोगबाट अभियान बढाइएको थापाको भनाइ छ ।
यो सेन्टप समूहका पूर्वविद्यार्थी अहिले विभिन्न पेसा, व्यवसायमा मुलुकभित्र र बाहिर कृयाशील छन् । आपूmहरुले सबैसँग सम्पर्क बढाएर अभियानलाई अझ प्रभावकारी बनाइने २०५९ सेन्टप समूहका पूर्वविद्यार्थीले प्रतिबद्धता जनाएका छन् । यो समूहमा ९६ जना रहेका थापाले जानकारी दिनुभयो ।
समारोहमा मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदादेवी थापा र बर्दिबास हेल्पिङ् ह्याण्डस्का संयोजक प्रकाश गौतमले ५९ हजार नगदको चेक रेडक्रस बर्दिबास उपशाखाका सभापति रेवन्त कार्की ‘सुदीप’ लाई हस्तान्तरण गर्नुभयो । सभापति कार्की स्वयं पनि यसै सेन्टप समूहका सदस्य हुनुहुन्छ भने राज्यमन्त्री थापा जनता मावि बर्दिबास–२ कै पहिलो ब्याच (समूह) को एसएलसी सेन्टप हुनुहुन्छ । जनता मावि बर्दिबास–२ को पहिलो एसएलसी समूह २०४० को हो ।
कार्यक्रममा राज्यमन्त्री थापाले आपूm पनि जनता माविकै पूर्वविद्यार्थी रहेको हुँदा बर्दिबास हेल्पिङ् ह्याण्डस्सँग भावनात्मक सम्बन्ध जोडिएको बताउनुभयो । “म पनि यो अभियानमा तपाईंहरुसँग छु” राज्यमन्त्री थापाले भन्नुभयो, “सबै लाग्यौ भने चाँडै रेडक्रस बर्दिबास उपशाखाको रक्तसञ्चार केन्द्रमा सेतो रगत बनाउने कम्पोनेन्ट मसिन आउनेछ ।”
मधेशका कुनै पनि जिल्लामा हालसम्म सेतो रगत बनाउने कम्पोनेन्ट मसिन नहुँदा यताका बिरामी यो सेवाका लागि राजधानी काठमाण्डौ र विदेश जानुपर्ने वाध्यता छ । आपूmहरुले यो अवस्था दृष्टिगत गरी यहींनै कम्पोनेन्ट मसिन राख्न आवश्यक स्रोतका लागि अपिल गरेपछि सार्वजनिक चासो बढेको रेडक्रस बर्दिबास उपशाखा सभापति कार्कीले बताउनुभयो ।
“बर्दिबास हेल्पिङ् ह्याण्डस्ले नगद हस्तान्तरण गरेरै अभियान थाल्यो, हामीलाई थुप्रै सामाजिक सङ्संस्था र जिल्लाका स्थानीयतहले सहयोगबारे चासो देखाउनु भएको छ” सभापति कार्कीले भन्नुभयो , “हामी आउने दसैं पर्वअघि नै यहाँको रक्तसञ्चार केन्द्रमा सेतो रगत बनाउने कम्पोनेन्ट मसिनबाट काम लिन थाल्नेछौं ।” रेडक्रस बर्दिबास उपशाखाले पछिल्ला पाँच वर्षयता रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको छ । यो सेवा महोत्तरीमात्र नभएर धनुषा, सर्लाही र सिरहाका अस्पतालमा उपचार गराइ रहेका बिरामीले पाउँदै आएका कार्कीको भनाइ छ । यो मसिनका लागि एक करोड १० लाख रकम आवश्यक पर्ने कार्कीले बताउनुभयो ।
बर्दिबास हेल्पिङ् ह्याण्डस् (बर्दिबासका सहयोगी हात)–२०५९ का संयोजक प्रकाश गौतमको अध्यक्षतामा सम्पन्न रकम हस्तान्तरण समारोहमा होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश अध्यक्ष हिरा गौतम, रोटरी क्लव अफ बर्दिबासका अध्यक्ष कृष्ण गौतम तथा बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिब उत्तम श्रेष्ठले कम्पोनेन्ट मसिन खरिद अभियानमा आपूmहरुको सहयोग हुने प्रतिबद्धता जनाउनुभयो ।