अनिल निराला बैशाख ३१ जनकपुरधाम:-मधेश प्रदेशमा जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवले मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले पाउनुपर्ने दाबी गरेका छन् । उनले भ्रष्टाचार र कुशासनमा संलग्न जनता समाजवादी पार्टी नेपालको सरकारको नेतृत्वबाट बहिर्गमन भएको अवस्थामा अब बन्ने नयाँ सरकारको स्वाभाविक नेतृत्व जनमत पार्टीले गर्न पाउनुपर्ने बताए ।

उनले भने, ‘विगतको चुनावमा जनमत पार्टीले प्राप्त गरेको जनादेशका कारण पनि सरकारको नेतृत्वमा हाम्रो दाबी छ ।’

उनले प्रदेशमा जनमत कुन गठबन्धनमा रहने विषयमा निर्णय भइनसकेको बताए । केन्द्रीय गठबन्धनको स्वरूपअनुसार मधेशमा पनि जनमतको सहकार्य सुनिश्चित हुने उनको भनाइ छ ।जसपा नेपाल नेतृत्वको सरकारबाट नेकपा एमाले, नेकपा माओवादी बाहिरिनुअघि उनीसहिते एमाले, माओवादी र लोसपाका नेतासहितको तस्बिर आइतबार सार्वजनिक भएपछि जनमत पार्टी एमाले र माओवादीसहितको गठबन्धनमा सामेल हुने चर्चा चुलिएको छ ।

जनमत पार्टी संसदीय दलका नेता यादवले जसपा नेपालको नेतृत्वको सरकारबाट बाहिरिन तथा सरकारलाई दिएको समर्थन फिर्ता लिन आफूले एमाले र माओवादीको हौसला बुलन्द गर्न आइतबार ती पार्टीका नेतालाई भेटेको बताए । उनले भने, ‘सरकारसँगको साइनो चुँडाउन एमाले र माओवादीलाई ऊर्जा दिन तथा उत्साहित तुल्याउन मैले एमाले र माओवादीका नेतासँग आइतबार भेट गरेको हुँ । यसलाई गठबन्धनमा सम्मिलित भएको अर्थमा लिन हुँदैन ।’

आइतबार एमाले, माओवादी, जनमत र लोसपा नेताहरूको भेटमा गठबन्धन बनाउने र नयाँ सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा छलफल नभएको उनले बताए ।नेता यादवले प्रदेश सरकार गठनमा जनमतको काँग्रेससँग सहकार्य हुनसक्ने बताए ।

२०८१ बैशाख ३१, सोमबार २१:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय