
नेपालवाणी नेटवर्क
महोत्तरी (गौशाला) जेष्ठ ।
ईलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीका प्रहरी प्रमुख आएको दोश्रो दिनमै अवैद्य उत्खनन्का तीनवटा ट्रिफर समातिएको छ । ईलाका प्रहरी कार्यालय गौशालामा हाजिर भएको एक दिन नवित्दै अवैद्य उत्खनन्मा संलग्न तीन वटा ट्रिफर चेकजाँचको क्रममा पक्राउ गरी नगरपालिकालाई बुझाएको हो ।
गौशाला नगरपालिका ५ मा अवस्थित शिवम एवं शिवानी कन्सट्रक्सन प्रा.लि.को ग्राभेल सहित लोड भएको ट्रिफर नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी प्रमुख सूर्य बहादुर रानामगरले जानकारी दिए ।
गत जेष्ठ ३ गते मध्यान्हमा गौशाला नगरपालिका ५ स्थित ट्रिफर गाडीमा अवैद्य रुपमा उत्खनन् गरेको ग्राभेल लोड गरी लुकाई छिपाई लगी रहेको अवस्थामा चेकजाँच गर्दा भिसिटिएस लगायत कुनै पनि बिलपुर्जा नरहेको हुँदा पक्राउ गरी आवश्यक कारवाहीका लागि गौशाला नगरपालिकामा बुझाएको जानकारी दिए ।
शिवम एवं शिवानी कन्सट्रक्सन प्रा.लि.को प्रदेश ०२–००१ क ०३८३, प्रदेश ०२–२००१क ०३८१ र ना २ क ०८०५ नम्बरको ट्रिफर नियन्त्रणमा लिएर बुझाएको हो ।