
नेपालावाणी डटकम
गौशाला (महोत्तरी) जेष्ठ ।
गौशालाको महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । महोत्तरीको गौशाला नगरपालिका १ रामनगरका नागरिकलाई स्वास्थ्य सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच बढाउन ९ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो ।
वडाध्यक्ष नविन कुमार साह, वडा सचिव धर्मराज बस्नेत लगायतले साइकल वितरण गरेका छन् । एक समारोहका बीच वडाध्यक्ष साहले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दै आएको र अझै थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताए । ‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ, उनले भने, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’
कोरोना महामारी र नियमित खोप अभियानमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन र बाल तथा मातृ मृत्युदर कम गर्न यस्ता कार्यक्रमले सघाउने बताए ।
स्वयंसेविकालाई स्वास्थ्य सम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरेका हौँ, वडासचिव बस्नेतले भने । महिला स्वास्थ्य स्वयंसेविका रेणु महतोले साइकल वितरण आवश्यक रहेको र यसले स्वास्थ्य सेवा प्रवाहमा आफूलाई सजिलो हुने र घर–घरमा पुग्ने बताईन ।
महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा स्थायी–अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवर्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा चार पटक गर्भजाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन, नियमित खोप, महामारीमा खोप अभियान लगायतका काम गर्दै आएको रामनगर स्वास्थ्य चौकीका प्रमुख हेम बहादुर श्रेष्ठले जनाएको छ ।