
बर्दिबास , ९ जेठ । महोत्तरीको रातु नदीमा अनियन्त्रित उत्खनन् भइरहेको गुनासो बढी रहेका बेला आज बुधबार बर्दिबासका सर्वसाधारणले बालु ओसार्न प्रयोग गरिएका छ वटा ट्रिपर नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन् ।
बर्दिबास-१४ स्थित पूर्वपश्चिम रेलको ट्र्याक बनीरहेको ठाउँमा बालु झार्न ल्याएका छ वटा ट्रिपर सर्वसाधारणले प्रहरीलाई खबर गरेर बुझाएका हुन् । बालु भरिएका छ वटा ट्रिपर नियन्त्रणमा राखी सोबारे आवश्यक कुरा बुझीरहिएको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ ।
रेल्वेको काम जिम्मा लिएको कम्पनीले रातु नदीबाट जथाभावी बालु उत्खनन् गरी राजश्व नबुझाई ओसारी रहेको हुँदा यस्ता ट्रिपर प्रहरीलाई खबर गरी बुझाइएको बर्दिबास-१ का राजनीतिक सामाजिक कार्यकर्ता निरज अधिकारीले बताउनुभयो । रातु नदीमा मापदण्डविपरित उत्खनन् गरेर वातावरणलाई प्रतिकूल प्रभाव पारी रहेका हुँदा उत्खनन् गर्नेविरुद्ध कडा कार्वाही गरिन पर्ने सर्वसाधारणको माग छ ।
यसरी प्रहरीलाई बुझाइएका ट्रिपर ना १ क ९५११, ना ६ ख ८०९६, ना ६ ख २५३६, ना १ क ७०६७, ना १ क ५५२० र ना २ ख २७९ नम्बरका रहेका इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । नियन्त्रणमा लिइएका ट्रिपरले ओसारेका बालुको राजश्व बुझाएको भर्पाइसँगै अन्य प्रमाण कागजातबारे सोधखोज र छानबिन गरिने इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।
बर्दिबास नगरपालिका क्षेत्रको रातु नदीमा अनियन्त्रित तवरले मापदण्डविपरित उत्खनन् भइरहेको कार्य तत्काल रोक्न माग गर्दै यहाँका नेपाली काँग्रेस, नेकपा ( एमाले), नेकपा माओवादीकेन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर प्रतिनिधिले सर्वोच्च अदालतमा दायर गरेका रिट विचाराधिन छ । अदालतले मुद्दाको टुङ्गो नलागुञ्जेल उत्खनन् कार्य नगर्न नगराउन आदेश गरेपनि त्यसको अवज्ञा भएपछि ट्रिपर रोकेर प्रहरीलाई बुझाइएको दलका प्रतिनिधिले बताएका छन् ।
यसैबीच दलहरुले दायर गरेका रिट सुनवाई भइरहेबीच नै बर्दिबास नगरपालिकाले कानुनअनुसार उत्खनन् गर्न पाउँ भन्दै फरक रिट सर्वोच्चमै दायर गरेको छ । यो रिट पनि विचाराधिन अवस्थामै छ ।