
महोत्तरी : अनाथ बालबालिका र सडक मानव व्यवस्थापनका लागि महोत्तरीको बर्दिबासमा ‘हाम्रो माया घर’ निर्माण तयारी अघि बढेको छ । करिब ११ करोड ५० लाखको लागतमा निर्माण हुने ‘हाम्रो माया घर’ का लागि जग्गा व्यवस्थापन र पक्की घेराबेराको पर्खाल लगाइएपछि अब भवन बनाउने तयारी अघि बढेको हो ।
“हामीले दाताहरुकै सहयोगमा बर्दिबास-२ मा करिब एक करोड ५० लाख मूल्य बराबरको जग्गा प्राप्त गरेर त्यस्को घेराबेराको पक्की पर्खाल बनाइ सकेका छौं” ‘हाम्रो माया घर’ बर्दिबासका अध्यक्ष कृष्णप्रसाद गौतम भन्नुहुन्छ, “अब भवन निर्माणको चरणमा छौं ।” भवन निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (म्एच्) बनेको र विभिन्न दाताबाट सहयोग प्राप्त हुने क्रम चलेको हुँदा अब चाँडै भवन बन्न सुरु हुने उहाँको भनाइ छ ।
“हामीलाई दाताहरुले सम्पर्क गरेर सहयोगको वाचा गर्नु भएको छ, महोत्तरीका स्थानीयतह र मधेश प्रदेश सरकारसँग पनि सहयोगको याचना गरेका छौं” अध्यक्ष गौतम भन्नुहुन्छ, “यी प्रस्ताव निणर्यको चरणमा छन् , अहिले व्यक्तिगत रुपमा दाताहरुबाट प्राप्त सहयोगले काम थालिने तयारी छ ।”
बर्दिबासमा ‘हाम्रो माया घर’ बन्ने कुराले यसक्षेत्रमा चासो निकै बढेको छ । यसैबीच ‘हाम्रो माया घर’ निर्माणार्थ सहयोग पुर्याउने उद्देश्यले जनस्तरबाट शिव पुराण महायज्ञ आयोजना गरिन लागिएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा ‘हाम्रो माया घर’ निर्माणार्थ १०१ सदस्यीय शिव पुराण महायज्ञ आयोजक मूल समिति गठन गरिएर यसको तयारी अघि बढाइएको छ ।
“हामीले जनस्तरबाट ‘हाम्रो माया घर’ निर्माणमा सहयोग गर्न शिव पुराण महायज्ञ आयोजना गर्दैछौं” शिव पुराण महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हिरालाल भन्नुहुन्छ, “यसका लागि मूल समितिले १८ वटा विभिन्न उपसमिति बनाएर काम व्यवस्थित रुपले अघि बढाउँदैछौ ।” शिव पुराण महायज्ञ आउने साउन २१ देखि २९ गतेसम्म नौ दिन आयोजना गरिने मूल समितिले निणर्य गरीसकेको हिरालालले बताउनुभयो । शिव पुराण महायज्ञमा २५ लाख खर्च हुने अनुमान गरिएको छ । पुराणबाट ‘हाम्रो माया घर’ निर्माणार्थ लगभग दुई करोड सहयोग जुट्ने आयोजकको विश्वास छ । साउन शिवभक्तिको महिमा गाइने महिना मानिदै आइएको छ । समयको छनौटले पनि पुराण सफल हुने आयोजक बताउँछन् ।
एउटा तीन तले र अर्को दुई तलेसमेत दुई वटा भवन बनिने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ । जम्मा २०० सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्धसमेत गरिने समितिले जनाएको छ ।
प्रसिद्ध पुराण वाचिका राधिका दासी मुख्य संरक्षक रहनु भएको हाम्रोे मायाको घर निर्माण सम्पन्न हुन पाँच वर्ष लाग्ने समितिले जनाएको छ । ‘हाम्रो माया घर’ निर्माणार्थ सहयोग गर्न आयोजना गरिने शिव पुराणमा पाठ पारायण र कथा वाचन प्रसिद्ध पुराण वाचिका राधिका दासी नेतृत्वको पण्डित टोलीले गर्ने आयोजक समितिले जनाएको छ ।
भवन निर्माण पाँच वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइने ‘हाम्रो माया घर’ बर्दिबास समितिका अध्यक्ष गौतमको भनाइ छ । आफ्नै भवन तयार भएर सञ्चालन हुन अघि पनि अनाथ बालबालिका र सडक मानवको अभिभावकत्व भने समितिले लिइरहने र त्यस समयसम्मका लागि इटहरीस्थित माया घरमा व्यवस्थापन गरिने गौतमले स्पष्ट पार्नुभयो ।