मधेशमा बर्दिबास भनेपछि उदीयमान सम्भावनाको नगर मानिन्छ । महोत्तरीमा सबैभन्दा बढी जनसङ्ख्या (७५ हजार) भएको स्थानीयतहमा पर्ने बर्दिबास नगरमा नेकपा (एमाले) को कमाण्ड सम्हाल्दै हुनुहुन्छ, कहारमान स्याङ्वा । किशोरावस्थादेखि नै पारिवारिक परिवेशले नेकपा (एमाले) को झण्डा बोकेर राजनीति गतिविधिमा सरिक हुँदै आउनु भएका ४६ वर्षीय स्याङ्वा पछिल्ला केही वर्षयता पार्टीमा वैचारिक कामले त्यति महत्व नपाएका कुराले चिन्तित हुनुहुन्छ । बर्दिबास नगरपालिका-५ को निर्वाचित वडाअध्यक्षसमेत रहनु भएका एमाले बर्दिबास नगर अध्यक्ष स्याङ्वासँग हाम्रा सञ्चार सहकर्मी गोपाल बरालले समसामयिक कुराकानी गर्नु भएको छ । यहाँ सो कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।—सम्पादक

—खै तपाइँसँग कुरा कहाँबाट सुरु गरौं ? अँ , भर्खरै आर्थिक वर्ष २०८१/०८२ का लागि बर्दिबास नगरपालिकाको १४ औं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । तपाईँ नगर कार्यपालिकाको निर्वाचित सदस्य हुनुहुन्छ , के छ त्यसमा जनतालाई ?
++अब नीति तथा कार्यक्रम र बजेटमा जनतालाई के छ भनौ ? त्यहाँ उल्लेख भएका सबै कुरा त जनताकै हुन् । यद्यपि के गर्दा राम्रो हुन्थ्यो भन्ने सवाल चाहिँ खडा हुन्छ । हामी (नेकपा एमाले बर्दिबास नगर कमिटी) ले नगरसभा आयोजना हुनपूर्व आगामी आवको नीति तथा कार्यक्रममा लाने विषयबारे लिखित रुपमा सुझायौं । उहाँले यी विषय पर्छन् पनि भन्नुभयो । हामी त्यही विश्वासमा रह्यौं । तर ती हामीले उठाएका विषय प्रस्तुत नीति तथा कार्यक्रममा अटाएको पाएनौ ।

—तपाईआबद्ध दलले औपचारिक रुपमा दिएको लिखित सुझाव प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएनन् भन्न खोज्नु भएको हो ?
++हजुर, हामीले विभिन्न विषयमा बुँदागत रुपमा दिएका सुझाव नीति तथा कार्यक्रम र बजेटमा अटाएनन् । व्यापक जनसरोकारका विषय दीर्घकालीक हितमा कसरी व्यवस्थित गर्दै लान सकिने विश्वासका साथ ती विषय उठाएका थियौं । तर दुःखका साथ भन्नुपर्छ , नगरप्रमुखले मुखको लोलोचोपोमै सिमित गर्नुभयो ।

—भनेपछि प्रस्तुत नीति तथा कार्यक्रममा तपार्इँहरुका सुझाव नसमेटिएपछि अब प्रस्तुत विषयमा तपाईँहरुको सहमति रहेन हैन ?
++हेर्नोस, स्थानीयतह सङ्घीय र प्रदेशजस्तो संसद होइन । यहाँ प्रतिपक्षी दलको अभ्यास गरिदैन । तसर्थ हाम्रा विषय परेनन् भनेर कुर्सी भाँच्ने , नाराबाजी गर्ने कुरा त हुँदैन । यहाँ त आआफ्ना अधिकार क्षेत्रभित्र सबै नगरसभा सदस्य कार्यकारीजस्तै हुन्छन् । अपोजिसन (प्रतिपक्ष) को हामी कल्पना गर्दैनौ । सबै मिलेर काम गर्ने हो भन्ने हाम्रो मान्यता छ । नगरप्रमुखले जे उचित ठान्नुभयो, ल्याउनुभयो । हामी त्यसमा दन्तबझान गर्दैनौ । अँ, चित्त कुड्याउन पाउँछौ, हाम्रा कुरा सुनवाई भएनन् भन्छौ । तर आफ्नै नगरप्रमुखलाई ‘उहाँ मनमोजी गर्नुहुन्छ, हामी यो प्रस्तुत नीति तथा कार्यक्रम र बजेट मान्दैनौ’ भनेर ताण्डव मच्चाउन चाहदैनौ । यसविरुद्ध नाराबाजी, हुलहुज्जत गर्दैनौ । हाम्रा कुरा सुन्नु भएन, त्यो कुरा त भन्नै पर्‍यो । तर जे उहाँले ल्याउनु भयो, हामी त्यसमा असहयोगी हुदैनौ । बरु आग्रह गर्छौ, अझै हाम्रा सुझाव अटाउनोस् ।

—के थिए , तपाईँहरुका सुझाव ? नगरप्रमुखले ती कुरा किन सुन्नु भएन भन्ने लाग्छ ?
++हामीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार र भूमि व्यवस्थापनसहितका विषयमा बुँदागत सुझाव दिएका छौं । यहाँ म तपाईँलाई सो सुझावपत्रको प्रति नै दिन उपयुक्त सम्झन्छु । ताकि सबैले यसबारे प्रतिकृया दिन र धारणा बनाउन सकुन् ।
—————————————————————————————————————————————

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
बर्दिबास नगरपालिका
पालिका सभादल

बर्दिबास नगरपालिकाले प्रस्तुत गर्ने आ.व.२०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमको लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले), पालिका सभादल बर्दिबासको तर्फबाट प्रस्तुत
राय तथा सुझावहरु

नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने क्षेत्रगतरुपमा बुँदाहरु

शिक्षा

● व्यवसायिक सिपसहितको गुणस्तरिय शिक्षा अभियानकोरुपमा अगाडि बढाई यस नगरलाई शैक्षिक हवको रुपमा विकास गरिनेछ।

● शिक्षाको गुणस्तर सुधार गर्न सम्बन्धित विज्ञहरु रहेको समिति निर्माण गरी नगर शिक्षा सुधार योजना तर्जुमा गरी लागूगरिनेछ।

● ई-लर्निङ्ग सेवाको विस्तार गरी विद्यार्थीहरुको सिकाई कार्यलाई प्रविधिमैत्री बनाउँदै लगिनेछ।

● कार्यसम्पादन सूचकको आधारमा सामुदायिक विद्यालय प्रोत्साहन कार्यक्रम लागू गरिनेछ। सबै विद्यालयहरुको विद्यमान अवस्था र आवश्यकताका आधारमा श्रोत साधनको समुचित वितरणको व्यवस्था मिलाई सामुदायिक शिक्षामा एकरुपता ल्याईनेछ।

● बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवन उपयोगी र व्यवसायिक बनाउँदै लगिनेछ। माध्यमिक शिक्षालाई आधारभूत प्राविधिक ज्ञान र सिप सहितको शिक्षा प्रदान गर्न विद्यालय तह पुरा गर्दा कम्तिमा एउटा सिपमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गरिनेछ।

● अपाङ्ग विद्यालय सञ्चालनको लागि बर्दिबास नगरपालिका वडा नं.२ मानिर्माण भएको भवनमा तत्काल सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाईनेछ।

● सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकहरुलाई प्रविधिमैत्री सिप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाई आदान-प्रदान कार्यक्रमहरु सञ्चालन तथा सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुश्चित गर्न आवश्यक प्रबन्ध मिलाईनेछ।

● सामुदायिक विद्यालयहरुको परिसर सुधार कार्यक्रम शौचालय निर्माण (लैङ्गिक र अपाङ्ग मैत्री) र स्तरोन्नती, निःशुल्क सेनेटरी प्याड, प्याड डिसपोजेबल मेशिन, पिउनयोग्य पानीको प्रबन्ध, विद्यार्थीको लागि लकरको व्यवस्था लगायत गरिनेछ।

● संस्थागत विद्यालयहरुको शुल्क पुनरावलोकन गरी वैज्ञानिक मापदण्डमा आधारित बनाईनेछ। गुणस्तर विकास र असल अभ्यासको आदान-प्रदान गरिनेछ।

● नगरभित्रका कम्तिमा २ वटा सामुदायिक विद्यालयहरुलाई राष्ट्रियस्तरको नमुना विद्यालयको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाईनेछ।

● समुदायमा आधारित विकास प्रक्रिया, समस्या समाधानका लागि अध्ययन अनुसन्धान, प्राथमिक उपचार तालिम स्थानीय शासनमा नव-प्रवर्तन आदि विषयहरु पठ्यक्रममा समावेश गर्न पहल कदमी गरिनेछ।

● वडास्तरिय सामुदायिक सिकाई केन्द्र (ऋयmmगलष्तथ ीभबचलष्लन ऋभलतचभ० मार्फत अनौपचारिक शिक्षा र सिप विकास प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ।

● निजिस्तरमा सञ्चालित शैक्षिक परामर्श केन्द्र, कोचिङ्ग सेन्टर, तालिम केन्द्रहरु लगायत संस्थाहरुको अभिलेखीकरण गरी नियमन गर्ने व्यवस्था मिलाईनेछ।

● सामुदायिक विद्यालयहरुको सम्पत्ति संरक्षण, सम्बद्र्धन र न्यायोचित उपयोगका लागि विशेष अभियान सञ्चालन गरिनेछ।

● सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच, प्राथमिक उपचार र स्वास्थ्य सचेतनाको लागि आवश्यक प्रबन्ध गरिनेछ।

● गुणस्तरीय विद्यालय शिक्षा र विद्यालयमा विद्यार्थी ल्याउने, सिकाउने र टिकाउने कार्यक्रमका लागि समुदाय परिचालन तथा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

● विद्यालय बाहिर रहेका तथा बीचमै कक्षा छोड्ने विद्यार्थीहरुलाई शिक्षा पुरा गर्न विशेष प्रोत्साहन कार्यक्रम लागू गरिनेछ।

● पढ्दै सिक्दै र कमाउँदै एवम् विद्यालय आयआर्जन कार्यक्रम निरन्तरता र विस्तार गर्दै लगिनेछ।

● शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शैक्षिक सम्मेलन र श्रोत प्रवद्र्धन जस्ता कार्यक्रम सञ्चालन गरिनेछ।

● शैक्षिक सुशासन तथा वित्तीय अनुशासनका लागि संस्थागत क्षमता र सक्षमता विकासमा प्राथमिकता दिईनेछ।

● वित्तीय साक्षरता ः आजको आवश्यकता भन्ने मान्यताका साथ माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि वित्तीय अनुशासन तथा लगानी प्रक्रिया, उत्पादन र प्रतिफल जस्ता पक्षहरुको बारेमा जानकारी गराई विद्यार्थी जीवनमा वित्तीय व्यवस्थापनको क्षेत्रलाई प्रभावकारी बनाईनेछ।

● सामुदायिक विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपात र विषयगत दरबन्दी समेतका आधारमा शिक्षकहरुको आन्तरिक दरबन्दी मिलान गर्दै लगिनेछ।

● सामुदायिक तथा संस्थागत विद्यालयहरुको नियमित अनुगमन, सुपरिवेक्षण र नियमनलाई प्राथमिकतामा राखी थप प्रभावकारी बनाईनेछ।

स्वास्थ्य क्षेत्र :

● स्वास्थ्य सेवाको गुणस्तर र पहूँच अभिबृद्धि गर्न नगर जनस्वास्थ्य ऐन जारी गरिनेछ।

● नागरिकको आरोग्यता प्रवद्र्धन गर्न उपयुक्त आहार विहार, ध्यान, योग, प्राणायम आदि बारे सचेतना कार्यक्रमहरु गरिनेछ।

● आयुर्वेद उपचार पद्धतीलाई प्रवद्र्धन गरिनेछ। नगरमा रहेको राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रमा थप सेवाहरु विस्तार गर्दै आयुर्वेद चिकित्सालाई प्रोत्साहन गर्दै आयुर्वेद केन्द्रलाई अझ व्यवस्थित प्रभावकारी बनाईनेछ।

● स्थानीयस्तरमा हुने जडीबुटीजन्य खेतीलाई प्रोत्साहन गर्दै आयुर्वेद चिकित्सा/वैकल्पिक चिकित्सा पद्धतीलाई प्रवद्र्धन गरिनेछ।

● स्वास्थ्य संस्थाहरुको अभिलेख व्यवस्थित गरिनेछ। सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुसित समन्वय गरी विशेषज्ञ चिकित्सक सेवामा सर्वसाधारण नागरिकको पहूँच बृद्धि गर्न आवश्यक व्यवस्था मिलाईनेछ।

● विपन्न र जेष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक व्यवस्था मिलाईनेछ।

● विपन्न र जेष्ठ नागरिकहरुका लागि सबै अस्पतालहरुले निःशुल्क बेड सुविधाको लागि कार्यविधि बनाई प्रबन्ध मिलाईनेछ।

● बर्दिबास अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्नको लागि आवश्यक प्रबन्ध मिलाईनेछ।

● विभिन्न खाले प्रकोप बच्न र बचाउनका लागि प्रतिरोधात्मक, उपचारात्मक, निदानात्मक, निरोधात्मक सेवा लगायत नागरिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ।

● सबै वडाका स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय सेवा प्रदान गर्नका लागि आवश्यक न्यूनतम मापदण्ड सेवा अनुसार औषधी तथा उपकरणको व्यवस्था र स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्दै नागरिकको पहूँचमा सहजता ल्याईनेछ।

● स्थानीय स्वास्थ्य सेवालाई व्यवस्थित गर्न संघीय सरकारले बनाएको स्वास्थ्य ऐन, नियम, कानून, मापदण्ड, नियमावली तथा निर्देशिका अनुसारका कार्यलाई आन्तरिकीकरण गर्दै लगिनेछ।

पूर्वाधार विकास

● बर्दिबास चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन गरी चक्रपथ हरेक वडासँग जोड्ने गरी लिङ्क रोड निर्माण कार्यको विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयन गरिनेछ।

● खरिद गुरुयोजना तथा वार्षिक खरिद योजना तर्जुमा गरी कार्यान्वयन कार्य प्रभावकारी बनाईनेछ।

● नगर क्षेत्रभित्र रहेका सडक, खानेपानी पाईप लाईन, सडक बत्ती, टेलिफोन, नाला लगायत सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाईल तयार गरी एकिकृत विवरण अद्यावधिक गरिनेछ।

● नगर कार्यपालिकाको कार्यालय आफ्नै भवनमा सम्पूणर् रुपमा व्यवस्थापन गरिनेछ। र, आफ्नो भवन नभएका वडा कार्यालयहरुको भवन निर्माण कार्यलाई प्राथमिकता दिईनेछ।

● सामुदायिक विद्यालयहरु, सार्वजनिक संघ संस्थाहरु तथा सार्वजनिक शौचालयहरुलाई स्तरोन्नती गरी अपाङ्गमैत्री, लैङ्गिक तथा बालमैत्री बनाईनेछ। संघ संस्था तथा निजि क्षेत्रसँगको सहकार्यमा सार्वजनिक शौचालयहरु सञ्चालन तथा व्यवस्थापन गरी शौचालयको सुविधामा नागरिकको सहज पहूँच बृद्धि गर्ने कार्यलाई निरन्तरता दिईनेछ।

● नगर क्षेत्रभित्रका सांस्कृतिक सम्पदाहरुको संरक्षण सम्बद्र्धनको लागि आवश्यकतानुसार कम्पाउण्ड वाल, गेट निर्माण लगायतका कार्य गरी आवश्यकता अनुसार थप व्यवस्थित बनाईनेछ।

● नियमित मर्मत सम्भार: दिगो पूर्वाधारको आधार भन्ने मूल मान्यतालाई सार्थक तुल्याउन निर्मित पूर्वाधारको दिगोपनको लागि नियमितरुपमा मर्मत सम्भारको व्यवस्था मिलाईनेछ।

पर्यटन
● नगरपालिकाले पहिचान गरेका पर्यटकीय बिन्दूहरुको अभिलेखीकरण तथा नयाँ गन्तव्यहरुको खोजी र पहिचान गरी संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गरिनेछ ।
● नगरभित्रका विभिन्न धार्मिक पर्यटन, कृषि पर्यटन, खेल पर्यटन, पर्यापर्यटन लगायत विभिन्न सम्भावना बोकेका क्षेत्रहरुको पहिचान गरी सम्बद्र्धन तथा प्रवद्र्धन गरिनेछ ।
● जातजाति संग्राहलय निर्माण गर्न पहल गरिनेछ । त्यस्तै, कला, संस्कृति, साहित्य, भाषा, धर्म, तथा सांस्कृति धरोहरहरुको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन कार्यलाई प्राथमिकतामा राखिनेछ ।
● नगरपालिकाको पर्यटन गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।

भाषा, कला, साहित्य तथा संस्कृति सम्बन्धी
● नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिद, चौतारी, धर्मशाला, पदमार्ग, सम्पदाहरुको अभिलेख राखी संरक्षण सम्बद्र्धन र स्तरोन्नतीको व्यवस्था मिलाई प्रचार प्रसारको कार्यक्रमलाई महत्वका साथ अगाडि बढाईनेछ ।
● सांस्कृतिक संग्राहलयको स्थापना तथा धार्मिक सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धन गरिनेछ ।
● मौलिक तथा परम्परागत कला, संस्कृति, भाषा, धर्म, समुदाय तथा रितिरिवाजलाई संरक्षण तथा प्रवद्र्धनको व्यवस्था मिलाईनेछ ।
● सबै जातजाति, भाषा, धर्म, समुदायको मूल्य मान्यता संस्कारको सम्मान गरी प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिनेछ ।

भूमि व्यवस्थापन तथा भू-उपयोग
● नगर क्षेत्रभित्र रहेको ऐलानी, पर्ती, नदी उकास जग्गाहरुको नक्सांकन गरी संरक्षण गरी आवश्यकतानुसार हरित पार्क निर्माण गरिनेछ ।
● सार्वजनिक जग्गा संरक्षणको लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
● नगर क्षेत्रभित्र बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी एवम् नगरभित्र जनताले हकभोग गरेका तर भूमाफिया तथा जग्गा दलालहरुले सत्ता, शक्ति र पैसाको वलमा गोप्यरुपमा दर्ता गरेका जग्गाहरु लगायत भूमिसित सम्बन्धित समस्याहरु समाधानका लागि संघ र प्रदेश सरकारसित समन्वय गरी प्राथमिकतामा राखी तिब्रताका साथ अगाडि बढाईनेछ ।

सहकारी
● सहकारी संस्थाको दर्ता, नविकरण कार्यलाई विधुतीय प्रणालीमा आवद्ध गरिनेछ ।
● सहकारीको जोखिम व्यवस्थापनको लागि अनुगमन संयन्त्र गठन गरी प्रभावकारीरुपमा परिचालन गरिनेछ ।
● सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिबृद्धि गरी सेवा प्रवाहमा थप प्रभावकारीता ल्याउन सहकारी संस्थाहरुलाई एकीकरण गर्ने कार्यलाई थप प्रोत्साहन गरिनेछ ।
● संकटग्रस्त सहकारीलाई तीनै तहसँगको समन्वयमा प्रभावकारी व्यवस्थापनको लागि संस्थागत प्रवन्ध मिलाई सुधारका आवश्यक कार्य गरिनेछ ।
● सहकारी संस्थाहरुलाई उत्पादन तथा रोजगारीका क्षेत्रमा लगानी गर्न प्रोत्साहीत गर्दै कम्तिमा १५ प्रतिशत लगानी उत्पादन तथा रोजगारीका क्षेत्रमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिनेछ ।
● सहकारीको वार्षिक कार्ययोजना निर्माण, लेखा व्यवस्थापन, सञ्चालकहरुको नेतृत्व विकास लगायतका विषयमा क्षमता अभिबृद्धि तालिम आयोजना गरिनेछ ।
● किसान साझा सहकारी संस्था लि.मार्फत मल, खाद, बीऊबिजन, विषादी आदि बिक्री वितरणको व्यवस्था मिलाईनेछ ।

सिप विकास, उद्यमशीलता, रोजगार प्रवद्र्धन तथा गरिबी न्यूनिकरण
● सिप सिक्न ईच्छुक नगरबासीहरुलाई सिप प्रशिक्षण (मूर्तिकला, काष्ठकला, धातुकला, बाजा, माटाका भाँडा निर्माण आदि) कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
● नगर क्षेत्रमा रहेका उद्योग तथा नयाँ उद्यमीलाई प्रविधिमा सहयोग, छुट, मिनाहा, तथा आवश्यक सहुलियत उपलब्ध गराईनेछ । साथै, उद्यमीलाई प्रोत्साहन गर्न स्टार्टअपको नीति अबलम्बन गरिनेछ ।
● युवा केन्द्रीत व्यक्तिगत वृत्ति विकासका लागि विकास मार्ग पत्ता लगाउन करियर परामर्श कक्षा सञ्चालन गरिनेछ ।

कानून तथा मानवअधिकार
● संविधान, कानून, नगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने ऐन, कानून, कार्यविधि, निर्देशिका तर्जुमा गरी जारी गरिनेछ । साथै, नगरपालिकाद्वारा जारी गरिएका स्थानीय कानूनहरुको आवश्यकतानुसार संशोधन, परिमार्जन तथा एकीकरण गरिनेछ ।
● मानवअधिकार तथा स्थानीय कार्ययोजना कार्यान्वयन प्रभावकारीरुपमा गर्ने संस्थागत प्रवन्ध मिलाईनेछ ।
● न्यायिक समितिलाई थप प्रभावकारी बनाउन आवश्यक प्रबन्ध मिलाईनेछ ।
● सूचना प्रविधिको प्रयोगबाट न्याय सम्पादनलाई कार्यलाई सरल, सहज र पहूँचयोग्य बनाईनेछ ।
● जातीय, लैङ्गिक, सांस्कृतिक, भाषिक, वर्गीय हिंसा, शोषण, कुरिती, कुप्रथा, विभेद, दुव्र्यवहार तथा मानव बेचविखन विरुद्ध शून्य सहनशीलताको नीति अबलम्बन गरिनेछ । बालबालिका अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, एकल महिला, मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिला, दलित तथा किशोरीहरुको हक अधिकार सुनिश्चित गरी सशक्तिकरण गरिनेछ ।

खानेपानी, सरसफाई तथा फोहोर व्यवस्थापन
● नयाँ तथा पुराना खानेपानी आयोजनाहरुको निर्माण सुधार र विस्तारलाई प्रभावकारी बनाईनेछ । र, खानेपानी योजनाहरुमा ट्रिटमेण्ट प्लाण्टलाई व्यवस्थित गरी स्वच्छ खानेपानीको व्यवस्था मिलाईनेछ ।
● डिप ट्युवबेल, ओभरहेड टयांकी लगायतका प्रविधिको प्रयोग गरी खानेपानकिो वितरण व्यवस्थित गर्दै लगिनेछ ।
● खानेपानी मुहान संरक्षण तथा नयाँ मुहान खोजी सम्बन्धी विशेष कार्यक्रम गरिनेछ ।
● फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न श्रोतमा नै वर्गीकरण गर्ने व्यवस्था मिलाईनेछ । कुहिने फोहोरलाई घरमै मल बनाउने विशेष व्यवस्था मिलाईनेछ ।
● फोहोरको श्रोतमा पृथकीकरण गरी व्यवस्थापन गर्न तीन प्रकारका भाँडाहरु आवश्यकता अनुसार उपलब्ध गराईने र प्रयोगलाई थप सुव्यस्थित गर्ने प्रबन्ध मिलाईनेछ ।
● प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली लागू गरी फोहोरमैलाको दिगो व्यवस्थापन गरिनेछ । यसका लागि आवश्यकतानुसार थप अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ती, स्थापना, विकास र सञ्चालनको कार्य गर्न आवश्यक प्रबन्ध गरिनेछ ।
● फोहोरमैलाको दिगो व्यवस्थापनको लागि फोहोर को संकलन, ढुवानी र रुपान्तरण गर्न खुल्ला प्रतिस्पर्धात्मक विधिबाट कार्य अगाडि बढाईनेछ ।

सूचना तथा सञ्चार प्रविधि
● नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवामासूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी विधुतीय सुशासन प्रवद्र्धन गरिनेछ ।
● नगर सम्बद्ध सूचना तथा तथ्यांकलाई व्यवस्थित रुपमा संकलन गरी नगर डाटा बैंकको स्थापना गरिनेछ ।
● एफ एम रेडियो, श्रव्यदृश्य कार्यक्रम, अनलाईन समाचार पोर्टल र अन्य आमसञ्चारका अभ्यास तथा सामाजिक सञ्जालको विकास गरी प्रभावकारी कार्यान्वयन गर्न सञ्चार ऐन तर्जुमा/परिमार्जन गरिनेछ ।
● नगरपालिकामा साइबर सेल स्थापना गरी हुन सक्ने मानसिक, डिजिटल र सामाजिक दुरुत्साहनलाई रोकथाम गर्न आवश्यक प्रबन्ध गरिनेछ ।
● फिचर लेखन तालिम, फेलोसिप लेखन तथा पत्रकार सम्मान जस्ता कार्यक्रम निरन्तर अगाडि बढाईनेछ । त्यस्तै, स्थानीय सञ्चार माध्यमहरुलाई प्रवलीकरण गर्न विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
● बर्दिबास पत्रकार सञ्जालको भवन निर्माणको लागि आवश्यक व्यवस्था मिलाईनेछ ।
● कर्मचारीहरुलाई अनिवार्यरुपमा सूचना प्रविधि तथा ई-ईगभर्नेन्स सम्बन्धी तालिमको व्यवस्था गरिनेछ ।
● अत्याधुनिक ई-लाईब्रेरीको व्यवस्था गरिनेछ ।

युवा तथा खेलकुद
● खेलकुदको माध्यमबाट युवाहरुको व्यक्तित्व विकास गर्न नगरक्षेत्रमा आवश्यकतानुसार खुल्ला व्यायामशाला, एरोबिक्स, योग, लगायतका कार्यक्रम सञ्चालन गर्न आवश्यक खेल मैदान तथा भौतिक पूर्वाधार विकास र विस्तार गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
● नगरपालिकास्तरीय खेलकुद एकेडेमी सञ्चालनका लागि सम्बन्धित निकायहरुसँग पहल गरिनेछ । नगरस्तरमा खेलकुदको प्रवद्र्धन कार्यक्रमलाई जोड दिईनेछ ।
● खेलाडीहरुलाई अन्तराष्ट्रियस्तरसम्म प्रतिष्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनका लागि खेल विशेष कार्ययोजना बनाई कार्य गरिनेछ ।
● अधुरा रहेका खेलमैदानहरुलाई अबिलम्ब निर्माण कार्य सम्पन्न गरिनेछ । र, निर्माण सम्पन्न खेलमैदान तथा कवर्ड हलमा खेलकुद गतिविधिहरु सञ्चालनमा ल्याईनेछ ।
● खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरु निर्माणमा प्रथमिकता दिईनेछ ।
● उपयुक्त स्थानहरुमा साहसिक खेलहरु सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यक योजना निर्माण गरी लागू गरिनेछ ।
● एक वडा एक खेल मैदान निर्माण व्यवस्थापन गरिनेछ ।
● नगरका युवा पुस्तामा देखिएको डरलाग्दो लागू औषध तथा दूव्यर्सनको वर्तमान अवस्थालाई गम्भीरताकासाथ लिई सोको रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न नेपाल प्रहरी, सामुदायिक प्रहरी, संघ-संस्था तथा सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्य गरी प्रभावकारीरुपमा कार्य अगाडि बढाईनेछ ।
● स्वस्थ युवा: त्यागौं दुव्र्यसन भन्ने मान्यताका साथ लागू पदार्थ र दुव्र्यसनबाट युवा जोगाउन सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

वन, वातावरणतथा जैविक विविधता संरक्षण
● स्थानीय श्रोतहरु पहिचान गरी सामुदायिक तथा साझेदारी वनसित साझेदारीमा वन पैदावर संरक्षण संवद्र्धन तथा उपयोग गर्दै कार्यक्रम सञ्चालन गर्न आवश्यक खाका तर्जुमा गरी विकास गतिविधि सञ्चालनमा ल्याइनेछ ।
● वातावरण मैत्री पूर्वाधार निर्माण तथा विकासमा जोड दिईनेछ । खानेपानी मुहान, खोला, पोखरी, सिमसार क्षेत्र लाई प्रदुषणमुक्त बनाउन वातावरण स्वच्छता अभियान सञ्चालन गरिनेछ ।
● सामुदायिक वन, साझेदारी वन तथा राष्ट्रिय वन क्षेत्रको सीमांकन गरी वन तथा वन्यजन्तु संरक्षण गरिनेछ ।
● स्थानीय वन ऐन तर्जुमा गरी दिगो वन व्यवस्थापनको कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ ।
● चुरिया संरक्षण, वन डढेलो न्यूनिकरण र व्यवस्थापन, जलाधार संरक्षण, जैविक विविधता तथा पर्यापर्यटन जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
● पूर्वाधार तथा संरचना विकास निर्माण कार्यक्रमहरु सञ्चालन गर्दा विपद् जोखिम न्यूनिकरण, अनिवार्य न्यूनतम वृक्षारोपण तथा वातावरणमैत्री विकासको अवधारणालाई अवलम्बन गरिनेछ ।
● प्राकृतिक श्रोतमा आश्रित गरिब, विपन्न, महिला, संकटासन्न घरधुरी र समुदायका लागि अनूकूल क्षमता बढाउन वैकल्पिक आय-आर्जनका उपयाहरु पहिचान गरी प्रवद्र्धन गरिनेछ ।
● वातावरण संरक्षण र प्रबद्र्धनका लागि वैज्ञानिक उपायहरु अबलम्बन गरिनेछ । चालिस माईक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगलाई निषेध गरिनेछ । प्लाष्टिक झोलाको सट्टा कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
● जल, जमीन, वायु र ध्वनी प्रदुषण नियन्त्रण गरी स्वच्छ वातावरण प्रवद्र्धन गर्न आवश्यक कार्यक्रम बनाई सञ्चालन गरिनेछ ।
● सार्वजनिक जग्गा, नदी किनार, संघ संस्था, सरकारी कार्यालय तथा विद्यालय परिसरमा वृक्षारोपण गर्ने कार्यलाई विशेष अभियान बनाई सो कार्यलाई निरन्तरता दिईनेछ ।
● नगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरु पहिचान गरी सोको लगत राखिनेछ र त्यसको संरक्षण र प्रबद्र्धन गरिनेछ ।
● जैविक विविधता संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न जैविक विविधता अध्ययन र सोको प्रोफाईल, सामुदायिक वन उपभोक्ता महासंघ, साझेदारी वन उपभोक्ता समूह, सरोकारवाला संघ-संस्थाहरुसितको समन्वय र सहकार्यमा निर्माण गरिनेछ ।
● जैविक विविधता पर्यटन प्रवद्र्धन गरिनेछ ।

विपद् व्यवस्थापन
● विपद् व्यवस्थापनका लागि जनस्तर, विद्यालयस्तरमा विपद् विशेष सचेतना, उद्धारको अभ्यासको कार्यलाई निरन्तरता दिईनेछ ।
● नगरको विपद् जोखिम नक्सांकन गरिनेछ ।

कृषि तथा सिंचाई
● कृषि क्षेत्रलाई उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गर्न कृषिलाई आधुनिकरण, व्यवसायीकरण, विशिष्टीकरण र वजारीकरणका लागिआवश्यक व्यवस्था मिलाईनेछ ।
● सर्वसुलभरुपमा तरकारी तथा फलफुलको आपूर्ती गर्न शीत भण्डारको स्थापना र सञ्चालन गरिनेछ ।
● नगरभित्र रहेका कृषि व्यवसाय सम्बन्धि फर्महरुको अभिलेखीकरण कार्यलाई निरन्तरता दिदैं यवसायिक खेती एवम् अर्गानिक कृषि खेतीको लागि प्रोत्साहन गरिनेछ ।
● किसानहरुलाई विभिन्न उत्पादन र उत्पादनोपरान्त सामग्री आवश्यकतानुसार उपलब्ध गराईनेछ । र, पकेट कार्यक्रम सञ्चालन गरी स्थानीयस्तरमा खाद्यन्न आत्मनिर्भर हुने वातावरण निर्माण गरिनेछ ।
● सामुदायिक बाली विमा प्रणाली स्थापना गरी कार्यान्वयन गरिनेछ ।
● खोलाहरुबाट हुँदै आएको मौसमी सिंचाईलाई वर्षभरी सञ्चालन गरी उत्पादन बृद्धिका लागि जलासय निर्माण गरी खेर जाने पानीलाई सञ्चित गरी मत्स्यपालन, जलपर्यटन, वनभोज स्थल निर्माण तथा सिंचाईको प्रबन्ध मिलाईनेछ । साथै, नविन सिंचाई प्रणाली (सौर्य सिंचाई, भूमिगत सिंचाई आदि) पनि प्रवद्र्धन गरिनेछ ।
● कृषि पर्यटनलाई प्रवद्र्धन गरिनेछ ।

पशु पन्छी विकास
● पशुपन्छी तथा मत्स्यपालनलाई व्यवस्थित गर्न प्रविधिको उच्चतम प्रयोग गरी पशुपन्छी तथा मत्स्यपालन व्यवसायको अभिलेखीकरण गरी पशुपन्छी दर्ता गर्ने कार्यको शुरुवात गरिनेछ ।
● पशुपन्छी तथा मत्स्यपालनमा उपयुक्त प्रजनन् तथा नश्ल सुधार गरी आधुनिक पद्धती अनुसार उत्पादन र उत्पादकत्व बृद्धि गर्ने कार्यक्रमसञ्चालन गरिनेछ ।
● नगपालिकाभित्र उत्पादित पशुपन्छी तथा मत्स्य उपजहरुको न्यूनतम समर्थन मूल्य तोक्न सरोकारवालाहरुसित समन्वय गरी सोको आधारमा बिक्री मूल्य कायम गरिनेछ ।
● मासुजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायको मापदण्ड तयार गरी काडाईका साथ लागू गरिनेछ ।
● सिंचाई सुविधा उपलब्ध भएको नीजि तथा खाली जमीन र सिमसार क्षेत्रको संरक्षण र सदुपयोग गर्दै माछापालन व्यवसायको पकेट, ब्लक र जोन कार्यक्रमको रुपमा विकास तथा विस्तार गरी माछापालनको व्यवसायीकरण गरिनेछ ।
● उन्नत जातका पशुपन्छी तथा मत्स्य र डाले घाँसको विकास तथा प्रवद्र्धनका लागि श्रोत तथा प्रजनन् केन्द्रहरुको विकास गरिनेछ ।
● प्रयोगशालामा आधारित उपचार सेवा, पशुधनको रक्षामा टेवा भन्ने अभियानका साथ पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापनका लागि प्रयोगशाला एवम् तालिम हल सहितको आधुनिक सुविधासम्पन्न विशेषज्ञ सेवा सहितको भेटरिनरी अस्पताल निर्माण तथा सञ्चालन गरिनेछ ।
● उत्पादनमा प्रत्यक्ष संलग्न कृषकहरुदारा उत्पादित वस्तुको लागत अनुसारको मूल्य नपाउने भएको हुँदा कृषि पेशामा संलग्न कृषकहरुलाई पलायन हुनबाट जोगाउन वास्तविक कृषकहरुलाई उत्पादन साथमा अनुदान हातमा भन्ने अभियान कार्यक्रम मार्फत उत्पादनमा आधारित अनुदान कार्यक्रमको शुरुवात गरिनेछ ।
● मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने पशुजन्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको स्वच्छ मासु तथा स्वच्छ दुध उत्पादन प्रक्रिया बारेमा सचेतनामूलक तालिम, दुध तथा मासु चिस्यान भण्डार, मिलक एनालाईजरको पनि व्यवस्था गरिनेछ ।
● भू-वर्गीकृत कृषि क्षेत्र लक्षित बाख्रा, बंगुर, माछा तथा पशु आहार सम्बन्धी विशेष प्याकेज र पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिनेछ ।

सुशासन तथा संस्थागत विकास
● नगरको संगठन संरचना, स्वीकृत दरबन्दी र पदाधिकारी तथा प्रशासनिक एकाईहरुको कार्यविरण प्रभावकारीरुपमा कार्यान्वयन गरिनेछ । साथै, संगठन संरचना सेवामूलक र वैज्ञानिक बनाउन मानव संशाधन नीति तर्जुमा गरी प्रभावकारीरुपमा कार्यान्वयन गरिनेछ ।
● कर्मचारीहरुबाट बाञ्छित लक्ष्य हाँसिल गर्न नतिजामा आधारित कार्य सम्पादन एवम् प्रोत्साहन प्रणाली अबलम्बन गर्नुका साथै नगरका प्रत्येक कर्मचारीको कार्य व्यवहारलाई पारदर्शी, जनमैत्री र सुशासनयुक्त बनाउन आवश्यक कानूनी प्रबन्ध गरी कार्यान्वयन गरिनेछ । सबै कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सिसिटिभि मार्फत प्रत्यक्ष निगरानीमा राखिनेछ ।
● नियमित सार्वजनिक सुनुवाई गरी सेवाग्राहीबाट प्राप्त हुने सुझाव तथा गुनासोको व्यवस्थापन गरिनेछ ।
● पालिका स्थापना दिवसको विशेष अवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई प्रदान गरिने पदक, सम्मान र पुरष्कारलाई निरन्तरता दिईनेछ ।
● सूचनाको हक प्रभावकारीरुपमा कार्यान्वयन गरिनेछ ।
● सार्वजनिक पुस्तकालयलाई थप व्यवस्थित गरी ई लाईब्रेरीको रुपमा विकास गरिनेछ । साथै, अध्ययन तथा अनुसन्धानको लागि श्रोत केन्द्रको रुपमा विकास गरिनेछ ।
● विकास आयोजनाहरु निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गरिनेछ ।
● नियमित जनतासँग साक्षात्कार गर्ने, गुनासो तथा समस्या सुन्ने र समाधानका लागि आवश्यक पहलकदमी गरिनेछ ।

राजश्व तथा वित्त व्यवस्था
● कानून बमोजिम असुल गर्ने राजश्व (कर तथा गैरकर) प्रशासनलाई न्यायोचित, पारदर्शी र वैज्ञानिक बनाउन आवश्यक प्रबन्ध मिलाईनेछ ।
● करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिकरुपमा सहभागी गराउन समग्र राजश्व प्रणालीलाई करदातामैत्री बनाईनेछ ।
● स्थानीय राजश्व (कर तथा गैरकर) अनुगमन गर्न विशेष टोली गठन गरी प्रभावकारीरुपमा परिचालन गरिनेछ ।
● करदाताको सहजताको लागि आवश्यक कार्यविधि निर्माण गरी अग्रिम कर तिर्न सकिने प्रबन्ध मिलाईनेछ ।
● कर संकलनको लागि व्यवस्था गरेको अनलाईन प्रणालीलाई थप व्यवस्थित गरी सबै करहरुलाई करदाताको पहूँचमा बृद्धि गर्न आवश्यक प्रबन्ध मिलाईनेछ ।
● राजश्व प्रशासनमा कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरिनेछ ।

आगामी आ.व.२०८१/८२ को लागि बर्दिबास नगरपालिकाले प्रस्तुत गर्नेवार्षिक नीति तथा कार्यक्रममा माथि उल्लेखित राय तथा सुझावका बँुदाहरु नगरपालिकाकोे वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नको लागि नेकपा (एमाले), बर्दिबास पालिका सभादल अनुरोध गर्दछ ।

. .काहारमान स्याङ्गवा
, अध्यक्ष
, नेकपा (एमाले) बर्दिबास नगर कमिटी
तथा
संयोजक, एमाले सभादल, बर्दिबास नगरपालिका
मितिः ८ असार २०८१

—यी त नगरपालिकासम्बन्धित नगरसभा र तपाईँका दलका धारणाका कुरा भए । तपाईँ त एमाले नगर अध्यक्ष पनि हुनुहुन्छ । के छ तपाईँको दलको हालत ?
++बर्दिबासमा नेकपा (एमाले) सङ्गठन , कार्यालय व्यवस्थापन र जनसम्बन्धका दृष्टिले पनि अब्बल दल हो । हाम्रो नगर कमिटीको नियमित बैठक हुन्छ । नगरका १४ वटै वडा र अधिकांश टोल बस्तीमा टोल कमिटी छन् । पार्टीका सबै जनवर्गीय सङ्गठन कृयाशील छन् । सबै कमिटीका बैठक नियमित हुँदैछन् । जनता अब हामीप्रति ‘गरे यिनीहरुले नै केही गर्लान् भन्ने आस र विश्वासमा छन् ।

—तपाईँले व्यवस्थित दल भन्नुभयो । तर तपाईँहरुको गुटबन्दी देख्दा त उदेकलाग्दो छ । खै, यहाँका बुद्धिजीवी त तपाईँको दललाई ‘घोडे एमाले’ , ‘गिरि एमाले’ र ‘बिचरा एमाले’ जस्ता गुटका नाउँ दिन्छन् । एमालेमा घोडाले चलाएका, गिरिराजमणिले चलाएका र यी दुबैले नपत्याएका हरुको गुटैगुट छ भन्छन् त…..

++दल भनेको मान्छे सङ्गठित भएर बन्ने कुरा हो । मान्छेका दलमात्र नभएर आफ्ना सम्बन्ध पनि हुन्छन् । सम्बन्धका आधारमा हिडडुल र उठबसमा संगसाथ देखिन्छ, यो गुट होइन । यसलाई गुटमा अथ्र्याउन हुन्न । यद्यपि समस्या रहित नै छ हाम्रो दल भन्ने म दाबी गर्दिन । समस्या होलान् , हामी सामुहिक छलफल पद्धतिबाट तिनको सामाधान पहिल्याउँदै अघि बढ्छौं ।

—समस्या छन् त भन्नुभयो । के छन् त समस्या ?
++नेकपा (एमाले) वैज्ञानिक समाजवादमा विश्वास गर्ने पार्टी हो । माक्र्सवाद लेनिनवाद र जनताको बुदलीय जनवाद यसका मार्गदर्शक सिद्धान्त हुन् । त्यसैले यो विचारले निर्देशित हुने पार्टी हो । यो दल सामुहिक निणर्य पद्धतिमा विश्वास गर्छ । पछिल्ला केही दशकयता दलभित्र वैचारिक बहस र यससम्बन्धी कक्षा र अभ्यास पातलिदै गएका छन् । कतिपय सन्दर्भ र ठाउँमा त व्यक्तिको हालीमुहाली चलेको भान हुन्छ । नेताहरु विलासी बन्दैछन् । तडकभडक देखाउनेको बोलबाला बढेको देखिन्छ । पार्टी टिकटमा चुनाव जितेका व्यक्ति प्राप्त पदलाई आफ्नो पुख्र्यौली आर्जन झैं ठानेका देखिन्छन् । आर्थिक, नैतिक र वैचारिक स्खलन बाक्लिएको छ । दलको निणर्य अवज्ञा गर्ने आफ्ना कुतर्कले जित्न खोजेका देखिन्छ । यी दलका लागि पेचिला समस्या हुन् । यिनको निदान खोजिनु पर्छ ।

—शालिनतापूर्वक कुराकानी गर्नुभयो । अन्त्यमा भन्नै पर्ने केही कुरा छुटेका झैं लागेको छ तपाइँलाई ? छन् भने भन्नोस् न ।
++ ठिक छ । खासै छुटेको भन्ने लागेको छैन । तपाईंले कुराकानीको अवसर दिनुभयो । आफ्ना कुरा तपाईँ र तपाईँको प्रकाशनमार्फत जनसमक्ष पुर्‍याउने अवसर पाएँ । तपाईँ र तपाईँको प्रकाशन टिमप्रति आभारसहित धन्यवाद ।
—स्याङवाजी, धन्यवाद तपाईँलाई पनि ।

२०८१ असार १३, बिहीबार ११:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय