
महोत्तरी : आफ्नो घर भएको जग्गाको धनी पूर्जा पाउँदा महोत्तरीको मटिहानी-३ बर्दाहाका ३८ घरपरिवार अहिले दङ्ग छन् । पछिल्ला १५ वर्षदेखि घरजग्गाको धनीपूर्जा पाउने ध्याउन्नमा बसेका ३८ परिवारमा आज बुधबार जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाउँदा खुशी छाएको हो ।
“आब बुझाइय जे अपन जगहमें घर अई” (अब बल्ल आफ्नै जग्गामा घर छ भन्ने भयो) बर्दाहाकी नजमा खातुनले आज पाएको जग्गाधनी प्रमाणपूर्जा देखाउँदै भन्नुभयो, “इ पूर्जा आब सैंतक रखबै” (यो पूर्जा अब जतनले राख्नेछु) । यसैगरी भूmलन राय र राममकृपाल ठाकुरले पनि लालपूर्जा पाउँदा खुशी व्यक्त गर्नुभयो ।
“कईसालसे नियारै छली, जे कहिया लालपूर्जा भेटजाय” (कैयन वर्षदेखि पर्खाइ थियो, लालपूर्जा पाउन) झुलन रायले लालपूर्जामा टाँसिएको आफ्नो फोटो देखाउँदै सञ्चारकर्मीसँग जिज्ञासा राख्नुभयो, “देखदियौ त , सबकुछ ठिकठाक लिखायल है न” (हेरी दिनुस् त, सबै कुरा ठिकठाक लेखिएको त छ नि..)। बर्दाहाबासीले डेढ दशक (१५ वर्ष) पहिले २०६५ सालदेखि आफ्नो घर भएको जग्गाको धनीपूर्जा पाउन पहल थालेका थिए ।
नापी कार्यालय महोत्तरी जलेश्वरले आज बर्दाहा बस्तीमै गाउँब्लक (घरजग्गा भएको क्षेत्र) को जग्गाको धनीपूर्जा सम्बन्धित घरधनीलाई प्रदान गरेको हो । कार्यक्रममा लालपूर्जा सम्बद्ध घरधनीलाई प्रदान गर्दै मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले घरजग्गाको धनीपूजाृ नपाएका सबैका लागि प्रकृया अघि बढाइएको बताउनुभयो । कार्यक्रममा नापी कार्यालयका महोत्तरीका प्रमुख रामविनय सिंहले मटिहानी-२ बर्दाहाका १५६ घरजग्गाबालालाई चाँडै लालपूर्जा वितरणको तयारी भइरहेको जानकारी दिनुभयो ।
नापी कार्यालय महोत्तरीका प्रमुख रामविनय सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख मण्डल, उपप्रमुख मञ्जुदेवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा एबं मटिहानी- २ र ३ का वड़ाअध्यक्षद्वय मोहम्मद रयूप र नाजिर मियाँसहितको उपस्थिति थियो ।