
महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षत्रीले आपूmले पाउने पारिश्रमिकवापतको रकम रक्त सङ्कलन प्रयोजनको गाडी किन्न दान गर्नु भएको छ ।
नगर प्रमुखका हैसियतमा पाइँदै आइएको रकम माछापुच्छ्रे बैङ्कमा जम्मा गराउनु भएका क्षत्रीले नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्रलाई आज सोमबार सात लाख ७७ हजार ७७७ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । क्षत्रीले रेडक्रस बर्दिबास उपशाखाका सभापति रेवन्त कार्की ‘सुदीप’ लाई चेक हस्तान्तरण गर्नुभयो ।
नगरप्रमुख क्षत्रीले आपूm र धर्मपत्नी मञ्जु क्षत्रीको २५ औं वैवाहिक वर्षगाँठको अवसरमा आइतबार राती आयोजित एक समारोहबीच नै आफ्नो पारिश्रमिकवापतको रकम रक्त सङ्कल प्रयोजनका लागि गाडी किन्न दिने घोषणा गर्नुभएको थियो । “मैले नगरप्रमुखका हैसियतमा पाउने रकम माछापुच्छ्रे बैङ्कको बर्दिबास शाखामा खाता खोलेर राख्दै आएको थिएँ, मनमा थियो यो रकम कुनै पुण्य काममा लगाउँ” क्षत्रीले भन्नुभयो, “वैवाहिक वर्षगाँठको अवसर पनि पर्यो, यसै मौकामा रक्त सङ्कलनका लागि गाडी किन्न दिएँ ।”
बैङ्कमा पारिश्रमिकवापतकोे कति जम्मा भएको छ, आपूmले नसोधेको क्षत्रीको भनाइ छ । सात (७) को अङ्क शुभ हुने धार्मिक मान्यता र विश्वासले हाललाई सात लाख ७७ हजार ७७७ (७७७७७७) को चेक दिएको उहाँले बताउनुभयो ।
नगरप्रमुखबाट यो रकम प्राप्त हुनासाथ गाडी किन्ने प्रकृया थालिएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ । “हामीले स्वास्थ्य सेवाको प्रयोजन भएको हुँदा भन्सार छुटका लागि आवश्यक प्रकृया थालेका छौं” रेडक्रस उपशाखा सभापति कार्कीले भन्नुभयो, “यो हुनसके १० लाखभित्रै गाडी पाइने हाम्रो अनुमान छ ।” गाडी किन्न अपूग हुने रकम नगरप्रमुखले थपी दिने विश्वास दिनुभएको कार्कीले बताउनुभयो । यस प्रयोजनका लागि किनिने गाडी कुनै ठाउँमा रक्तदान गर्ने टोली भए सो ठाउँमा आवश्यक सामग्रीसहित सोही ठाउँ पुग्ने उद्देश्य राखिएको कार्कीको भनाइ छ ।
यता नगरप्रमुख क्षत्रीले माछापुच्छ्रे बैङ्कमा सञ्चालित आफ्नो खातामा पारिश्रमिकको रकममात्र जम्मा हुँदै आएको खुलासा गर्नुभयो । “त्यसमा पारिश्रमिकको रकममात्र जम्मा हुँदै आएको छ, जेजति जम्मा हुन्छ, समयसमयमा यस्तै पुण्य कामका लागि सो रकम दिदै जानेछु ।”
नगरप्रमुख क्षत्रीको यो दानशीलताको अहिले बर्दिबास नगरक्षेत्रमा आम जनसाधारणले सराहना गर्ने गरेका छन् ।