नेपालवाणी नेटवर्क
जनकपुरधाम, श्रावण ।

नेपाल रेडक्रस सोसाईटी धनुषामा एक्कै व्यक्तिको वर्षौदेखि हालीमुहाली भएको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । नेपाल रेडक्रस सोसाईटीद्वारा सञ्चालित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित प्रादेशिक अस्पतालको भवनमा सञ्चालित रक्त सञ्चार केन्द्र र जानकी आँखा अस्पतालमा वर्षौदेखि एक्कै व्यक्तिको हालीमुहालीमा अनियमितता बढेको विरुद्धमा आन्दोलन गर्ने भएको छ ।

नेपाल चिकित्सक संंंघ जनकपुरधाम शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रमजिवि चिकित्सकहरुले काम गरेर समयमा आफ्नो पारिश्रमिक पाउन नसकेको तथा रेडक्रस जस्तो सामुदायिक र समाजसेवी संस्थामा एक्कै व्यक्तिको हालीमुहालीका कारण संस्थाको गरिमामा आँच आएको भन्दै नेतृत्व परिवर्तन सहित संस्थाको अनियमितता रोक्न दबाब स्वरुप चिकित्सक संघले आन्दोलन गर्ने निर्णय गरेको डा. रामज्ञान यादवले नेपालवाणी नेटवर्कलाई बताए ।

उनले भने, ‘साथीहरुले धेरै समयसम्म अस्पताल, मेडिकल कलेज र रेडक्रसहरुमा काम गर्नुभएको छ, तर पारिश्रमिक पाउनु भएको छैन् । वर्षौवर्ष देखि काम गराउने र पारिश्रमिक नदिने प्रवृति विरुद्धमा पनि हाम्रो यो आन्दोलन हो ।’

नेपाल चिकित्सक संघ जनकपुरधाम शाखाको अध्यक्ष डा. रामजी यादवको अध्यक्षतामा भएको कार्यक्रममा उनले रेडक्रसको सदस्यता खुल्ला रुपमा आव्हान गर्न समेत माग गरे । डा. रामजी यादवले काम गरेर पारिश्रमिक बाँकी भएका चिकित्सकहरुको पुर्नवहाली सहित रकम उपलब्ध गराउनुपर्ने, पटक पटक सम्झौता गरी कार्यान्वयन नगर्ने अस्पताल वा प्रमुखलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने सहितका माग राखि आन्दोलन गर्ने जनाएको छ ।

उनले भने, ‘रेडक्रस कसैको एकल संस्था हैन, राजा राजौटे जस्तो एक्कै जनाको नाममा नामसारी जस्तो चलाउनु र भ्रष्टाचार गर्नु यहाँको लागि दुर्भाग्य हो ।’

कार्यक्रममा उपस्थित पूर्व स्वास्थ्यमन्त्री डा. सुरेन्द्र यादवले जानकी आँखा अस्पताललाई एक स्वायत संस्थाको रुपमा घोषणा गरी प्रादेशिक अस्पताल सरह विस्तार समेत गर्न माग गरे । उनले एक व्यक्तिको पछाडि संस्था हुन नहुने तर्क गर्दै संस्थालाई चलयमान राख्न नेतृत्व परिवर्तन आवश्यक रहेको बताए ।  उनले भने, ‘एउटै व्यक्तिको नेतृत्व राजारजौटे शैली भयो, यसलाई परिवर्तन गर्न अति आवश्यक छ ।’

राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको कार्यक्रममा मुख्यतया नेपाल रेडक्रस सोसाईटी अन्तर्गतको ब्लड बैंक र जानकी आँखा अस्पतालमा वर्षौदेखि एक्कै व्यक्तिको ईशारामा चलिरहेकोमा आपत्ति जनाउँदै नेतृत्व परिवर्तनको लागि दवाव दिने उदेश्यका साथ सबै एकजुट भएका छन् ।

उनीहरुले रेडक्रसलाई सुधारका लागि सदस्यता खुलाउन र भएको अनियमितताको छानविनको लागि सरकारी टोली गठनको माग गरेको छ । जसको लागि सल्लाहकार समिति र दबाब समिति समेत गठन गरिएको छ ।

२०८१ श्रावण ३, बिहीबार १५:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय