
बर्दिबास, ९ साउन ।
पर्यटन प्रबद्र्धनका क्षेत्रमा कृयाशील पत्रकारलाई प्रोत्साहन गर्न महोत्तरीमा पर्यटन पत्रकारिता पुरस्कारको घोषणा भएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले आज सो पुरस्कारको घोषणा गरेको हो ।
पर्यटन क्षेत्रका समस्या , सम्भावना र प्रबद्र्धनका क्षेत्रका विषय उठाएर निरन्तर समाचार लेखनमा रहेका तीन जनालाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ । यो पुरस्कार प्रत्येक वर्षको पर्यटन दिवसको अवसरमा सेप्टेम्बर २७ तारिखका दिन प्रदान गरिने सङ्घका महोत्तरी अध्यक्ष गुञ्जबहादुर कार्कीले जानकारी दिनुभयो ।
तीन जनालाई जनही १५/१५ हजार नगद र कदरपत्रसहित पुरस्कार दिइने सङ्घले जनाएको छ । पर्यटन क्षेत्रका गतिविधिमा सघन कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले पर्यटन पत्रकारिता पुरस्कार घोषणा गरिनु महत्वपूणर् कार्य भएको नेपाल पत्रकार महासङ्घ महोत्तरीका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता) को प्रतिकृया छ । यसले पत्रकारलाई हौसला र कामप्रति अझ बढी सकृय बनाउने बरालको विश्वास छ ।
सङ्घको महोत्तरी समितिले घोषणा गरेपनि पुरस्कार मधेश प्रदेशका कुनै पनि जिल्लामा कार्यरत पत्रकारलाई दिन सकिने जनाइएको छ । पुरस्कारका लागि छनौट प्रकृया पर्यटन दिवसको एक महिना पहिले सुरु गरेर नामहरु १५ दिन पहिले घोषणा गरीसकिने सङ्घले जनाएको छ ।
पुरस्कार छनौटका लागि कार्यविधि बनाइ सकिएको छ । मोफसलमा बसेर पत्रकारिता गर्नेका लागि मधेशमा यो राम्रो र स्वागतयोग्य कार्य भएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काको धारणा छ । अन्य जिल्लामा पनि यसको अनुशरण हुनसके पर्यटन क्षेत्रको पत्रकारिता झनझन सशक्त हुने यस क्षेत्रका बुद्धिजीवीले औंल्याएका छन् ।