महाेत्तरी, ११ साउन ,
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेेष्ठकाे स्मृतिमा वृक्षाराेपण गरिएकाे छ । नेकपा (एमाले) बर्दिबास नगर कमिटीकाे आयोजनामा बर्दिबास-५ टुटेश्वरस्थित माणडवीगङ्गा  (मडहा) नदी उकास जग्गामा आज शुक्रबार पाँच हजार बिरुवा राेपिएकाे हाे ।
यसअघि साउन पहिलाे सातामै नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रणेता स्व. बिपी काेइरालाकाे स्मृतिमा पनि नेपाली काँग्रेसले साेही स्थलमा वृक्षाराेपण गरेकाे थियाे ।

बर्दिबास मेडिकल कलेजकाे जग्गाप्राप्ति प्रयाेजनका लागि माण्डवीगङ्गा किनारमा विभिन्न राजनीतिक दल र सामाजिक सङ्घसंस्थाहरुले साे स्थानमा वृक्षाराेपण गर्दै आएका छन् । यसै क्रममा नेकपा माओवादीकेन्द्रले पनि वृक्षाराेपण गरी सकेकाे छ । साउन पहिलाे सातामै राेटरी क्लव बर्दिबासले पनि साे स्थलमा वृक्षाराेपण गरेकाे छ ।

मेडिकल कलेज निर्माणकाे प्रस्तावितस्थलमा रहेका रुख कटानपूर्व काटिने सङ्ख्याका १० गुणा रुख राेपेर हुर्काउन पर्ने अदालती आदेशानुसार अहिले २० हजार बिरुवा राेप्ने अभियान चलेकाे हाे । कलेज निर्माणस्थलमा एक हजार ९६७ रुख कटान गर्नु पर्नेछ । यस प्रयाेजनका लागि
बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण परियाेजना कार्यालय बर्दिबासले गत असार २२ गते वृक्षाराेपण अभियान थालेकाे थियाे ।

आजको वृक्षाराेपण साे क्रमकै निरन्तरता भएकाे एमाले बर्दिबास नगर कमिटीका सचिब निरज अधिकारीले जानकारी दिनुभयाे । एमाले नगर अध्यक्ष काहारमान स्याङ्वाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभाका सांसद लक्ष्मी महताे काेइरी, मधेस सरकारका भाैतिक पूर्वाधार मन्त्री सराेज यादव र शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापासहित सयाैं नेता कार्यकर्ताकाे सहभागिता रहेकाे सचिब अधिकारीले बताउनुभयाे ।
आजसमेत साे स्थलमा १७ हजार बिरुवा राेपिएका छन् । साे स्थलमा अझै तीन हजार बिरुवा राेपिएर संरक्षणका लागि घेराबेरा गरिने कलेज परियाेजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदीकाे भनाइ छ ।

२०८१ श्रावण ११, शुक्रबार २०:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय