महोत्तरी :  मुलुककै ‘बाबाधाम’ र ‘मधेशको कैलाश’ पनि भनिने महोत्तरीको टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा आज आइतबार दण्डीबमले दर्शन, पूजाआराधना गर्दै जल, गाईको दूध र बेलपत्र चढाएका छन् ।

यात्राको पाँचौ दिन आज बिहान टुटेश्वरधाम पुगेर दण्डीबमले शिव दर्शन र पूजाआराधना गरेका हुन् । पस्रदै गरिने यो यात्रा दण्डीबमले १८ किलोमिटर दुरीको माण्डवीगङ्गा (मडहा), वरुणमती (बेलगाछी) र स्वणर्मती (सोनी) नदीको त्रिवेणी सङ्गमबाट सुरु गरेका थिए ।

इष्टदेव रिझाउन श्रद्धालु भक्तले पस्रदै गरिने कठोर यात्रा गर्ने चलन छ । त्रिवेणीमा जल भरेर यात्रा सङ्कल्प गरेपछि भक्तले यात्रा थालेका हुन् । यो यात्रामा एकपटक पस्रदा (लम्पसार पर्दा) हातले जति दुरीमा रेखा खिच्न भ्याइन्छ , अर्को पटक त्यही रेखामा लम्पसार परेर अघि बढ्न पर्ने मान्यता छ । बाटोमा नित्यकृया, विश्राम वा खानपिन गर्नुपर्दा यी काम सकेर फेरि पस्रेर लगाइएको चिनोबाट अघिल्लो यात्रा सुरु गरिन्छ । दण्डीबमले बाटोमा चार रात बिताएर आज पाँचौ दिन औसी तिथि पारेर बिहान सभाप्रहरभित्रै शिव दर्शन गरेका हुन् । शिवदर्शन प्रयोजनले यसरी पस्रेर गरिने यात्रालाई ‘दण्डी’ र यात्रीलाई ‘दण्डीबम’ भनिन्छ ।

टुटेश्वरधाममा दण्डीबमको यात्रा थालिएको ३४ वर्ष भएको छ । विक्रम सम्वत् २०४८ साल साउन १७ गते गौशाला-४ का वासुदेव महतो र ठगा साहले यो यात्रा थाल्नुभएको थियो । ठगा साहले केही वर्ष गरेर यात्रा विराम गरेपनि महतोले भने अझै जारी राख्नुभएको छ । यो भक्ति र समर्पणको यात्राले सबैकुरा ईश्वरमा अर्पण गर्न प्रेरित गर्छ । शरीरलाई कष्ट हुने भएपनि यात्री यो आनन्ददायक रहेको बताउँछन् ।
छलकपट, इष्र्याद्वेष र लालच त्यागेर प्राणीजगतलाई आफ्नो सामथ्र्यले भ्याएको सेवा गर्न प्रेरित गर्ने यो यात्रा अलौकिक भएको प्रथम यात्री महतोको भनाइ छ । पहिलोपटक दुई जनाले थालेका यो यात्रामा यसपालि ३० जना सहभागी भए । दण्डीबमले सहभागी बढाउँदै लान यसको प्रचारप्रसार र व्यवस्थापनका लागि दण्डी यात्रा सहयोग समिति नै बनाएका छन् । यस्ता यात्री कतिपय भाकल पूरा गर्न र कतिपय भक्ति र आनन्दको अभिष्ठ राखेर सहभागी भएका पाइएको छ । साउनमा गरिने यो अलौकिक यात्रामा दाताहरुले आबास, भोजन, पानी, सर्वत र अन्य आवश्यक सेवा जुटाउँदै आएका छन् ।
टुटेश्वरनाथसँग जोडिएका रामायण र महाभारतकालीन जनश्रुति छन् । अघि रामायणकालमा राजा जनकका भाइ कुशध्वजकी छोरी माण्डवी यसक्षेत्रमा विहार गर्न सखीसहेलीसाथ आउने गरेकी यहाँका पाका मैथिल बताउँछन् । यसैगरी महाभारतकालीन द्वापर युगमा वनबासका बेला अर्जुनले शिवजीको तपस्या गरी यसै ठाउँमा पाशुपतास्त्र प्राप्त गरी दिव्यास्त्रको ज्ञान लिन स्वर्ग गएका टुटेश्वरका ७० वर्षीय मोतिलाल गौतम बताउनुहुन्छ । यद्यपि पौराणिक कथा जोडिएपनि यो ठाउँको सोधखोज भने निकै पछि विक्रम सम्वत् २००२ सालदेखि भएको पाइएको छ । विक्रम सम्वत् २००२ सालमा डिठ्ठा गौरीनारायण गिरीले वन फडानी गरी बस्ती बसाउने क्रममा यहाँ अति प्राचीन शिवलिङ्ग, पत्थर कुदिएर बनेको बसाहासहित पुरातात्विक महत्वका सामग्री फेला परेका थिए । शिवलिङ्ग, बसाहा र अन्य पुरातात्विक महत्वका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरुले महाभारतकालीन भनेका छन् ।

प्छिल्लो समयमा टुटेश्वरको विकासका लागि केन्द्र र मधेश प्रदेश सरकारले पहलकदमी लिएका छन् । यसपालि चालु आर्थिक वर्षमा केन्द्र र प्रदेश सरकारले यहाँ एक करोड बढी रकम विनियोजन गरेका छन् । विनियोजित यो रकम यहााको विकासका लागि विस्तृत परियोजना प्रस्ताव बनाउन र प्रस्तावअनुसारका पूर्वाधार निर्माणमा खर्च हुने मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन सचिब राजिव पोखरेल बताउनुहुन्छ ।

२०८१ श्रावण २०, आईतवार १७:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय