बर्दिबास : बर्दिबासमा उत्कृष्ट सहकारीमध्येको एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेतृत्व चयन भएको छ । हिजो शुक्रबार सम्पन्न संस्थाको पाँचौं साधारणसभाले सर्वसम्मत नेतृत्व चयन गरेको हो । संस्थाको अध्यक्षमा थप कार्यकालका लागि उत्तमकुमार श्रेष्ठले निरन्तरता पाउनु भएको छ भने केही पदमा नयाँ अनुहार परेका छन् ।
पाँचौं साधारणसभामा नेतृत्व चयन प्रकृयाका लागि गठित निर्वाचन समितिका अनुसार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन भएको हो । कार्य समितिमा मीना पोखरेल, विनोद अधिकारी र डिगबहादुर श्रेष्ठ (विमल) क्रमशः उपाध्यक्ष, सचिब र कोषाध्यक्षको जिम्मेवारीम ाचयन हुनुभएको छ । यसैगरी कृष्णप्रसाद चौंलागाईँ, युवराज भट्टराई, वविता मिश्र, उद्धवप्रसाद खतिवडा, सिर्जना भण्डारी, सलिना थापा र डम्बरबहादुर श्रेष्ठ सदस्य चयन हुनुभएको छ ।
यसैगरी तीन सदस्यीय लेखा सुपरीक्षेक्षण समितिको संयोजकमा रोशनलाल श्रेष्ठ र सदस्यमा पोष्टराज पौडेल एबं सुनिल साह चयन हुनुभएको छ । विक्रम सम्वत् २०७७ साल असारमा त्यसपहिलेका साथी, जुनतारा, नमूना र शुभ समय बचत तथा ऋण सहकारी संस्था आपसमा एकीकरण भइ एकीकृत बचत तथा ऋण सहकारी संस्था बनेको हो । संस्थामा हाल तीन हजार ३९२ सेयर सदस्य छन् । संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा भएको कारोबारमा २३ लाख ६२ हजार नाफा भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।