महोत्तरी, ३० भदौ ।
महोत्तरीको मध्यवर्ती भेगमा बाघ देखिएको त्रास बढेको छ । तर बाघको त्रास निराधार भएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । पछिल्ला तीन दिनयता बलवा र लोहारपट्टी नगरपालिकाको सीमामा पर्ने रौजामजार नजिकको रातु नदी किनारको झाडीमा बाघ देखिएको कुरा पुष्टि नभएको कार्यालय प्रमुख अजयकुमार मिश्रले सञ्चारकर्मीलाई बताउनु भएको हो ।
“पछिल्ला तीन दिनयता रौजामजार नजिकको रातु नदी तटको झाडीमा बाघ देखिएको हल्ला निकै फैलियो, सो ठाउँ र वरपर खोजविन गर्दा यो कुरा निराधार देखियो”मिश्रले भन्नुभयो । भनिएको क्षेत्रमा वनसुरक्षाकर्मीको टोली परिचालित गरेर खोजविन गरिएको उहाँको भनाइ छ ।
पछिल्ला तीन दिनदेखि बाघ देखिएको हल्ला फैलिएपछि अत्यन्त बाक्लो ओहोरदोहोरको जनकपुर-लोहारपट्टी-रौजा-रामगोपालपुर-सम्सी सडकको रौजामजार पूर्व सर्वसाधारण हिडडूल गर्न छाडेका छन् । नदीतटको झाडी र वरपर घना बगैंचा भएको आम सर्वसाधारणले घाँसदाउरा गर्न बाक्लै आउजाउ गर्ने सो ठाउँ आम मान्छे हिडडूल गर्न डराउँदा निर्जन झैं बनेको छ ।
बाघ देख्ने कोही पुष्टि नभएपनि यो हल्ला सनसनीपूणर् फैलिदा हल्लिखल्ली मच्चिएको हो । डिभिजन वन कार्यालयका प्रमुख मिश्रले बाघको जस्तै सेतो खैरो घेरा हुने हुडार कसैले देखेर बाघ भन्ने ठानेको हुनसक्ने बताउनुभयो । यद्यपि वन सुरक्षाटोलीले खोजविन र सोधपुछ गर्दा हुडार देख्ने पनि कोही फेला नपरेका मिश्रको भनाइ छ ।
अहिलेको बाघको हल्ला निराधार भएपनि वन्यजन्तुको बाक्लो बासस्थान रहदै आएको उत्तरी भेगको वनक्षेत्र उजाडिदै जाँदा आहाराको खोजीमा अन्य जन्तुजस्तै बाघ चितुवा पनि तलतिर झर्नसक्ने सम्भावना भने रहने मिथिला वाईल्ड लाईफ ट्रष्टका संस्थापक तथा वन्यजन्तु विज्ञ देव नारायण मण्डल बताउनुहुन्छ । यसबारे पूर्वसजगता भने अपनाइन पर्ने मण्डलको सुझाव छ ।