
महोत्तरी, ३० भदौ ।
जुन कक्षामा छिरेपनि छात्रा नै भरिभराउ देखिन्छन् । लाग्छ, बर्दिबास-१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारीले नै धानेका छन् । क्याम्पसका एक हजार १०० विद्यार्थीमा छात्रा नै ७०० माथि छन् । पूर्व धनुषा, पश्चिम सर्लाही , उत्तर सिन्धुली र दक्षिणमा बर्दिबास नगरपालिकाकै बस्तीहरुबीच अवस्थित यो क्याम्पस लामो समय पठनपाठन छुटेका छोरीबुहारीका लागि उच्चशिक्षाको अवसर दिने थलो बनेको छ ।
क्याम्पसमा बर्दिबास घर वा माइती भएका र छिमेकको धनुषाको मिथिला नगरपालिकाको लालगढ बस्तीका छोरीबुहारीको सङ्ख्या उल्लेख्य छ । विभिन्न क्षेत्रको सेवामा रहेका र घरगृहस्थीमा पसेका छोरीबुहारीले यहाँ क्याम्पस सञ्चालन भएपछि उच्चशिक्षामा आपूmलाई जोडेका छन् ।
ब्र्दिबास-३ पाटुकी गीता खड्काको स्नातक गरेपछि उच्च शिक्षाका लागि बाहिर जान विभिन्न परिवेशले साथ दिएको थिएन । बर्दिबासमै केही वर्षपछि स्नातकोत्तरको पठनपाठन सुरु गरेपछि खड्का क्याम्पस जोडिनुभयो । खड्का अहिले नेपाली विषयको स्नातकोत्तर तहको चौथो सेमेस्टर पूरा गर्दै हुनुहुन्छ । यसैगरी लालगढकी विमला मोक्तान , गौरी जर्घा, चुरेकी मीना तामाङ् र बर्दिबास माइती भएकी प्रियङ्का सुवेदी अब स्नातकोत्तर तार लगाउने कडीमा पुग्नु भएको छ । उहाँहरु सबै शिक्षण पेसामा हुनुहुन्छ । “हामी विद्यालयमा गुरुआमा, कलेजका विद्यार्थी” प्रियङ्का भन्नुहुन्छ । “यहीबाट स्नातक गरें, विवाह रौतटहको चन्द्रपुर भयो , अब पढ्न पाइन्न भन्ने थियो , तर माइत बसेर पढ्ने वातावरण मिल्यो” बर्दिबास-२ माइती भएकी प्रियङ्का भन्नुहुन्छ, “अब तार लगाइन्छ भन्ने लागेको छ ।” बर्दिबासमा यो तहको पठनपाठन सुरु हुनु आपूmहरुलाई वरदान नै बनेको प्रियङ्कासहितका छात्राहरुको सामुहिक प्रतिकृया छ ।
घर नजिक कलेज भएकैले आपूmहरु उच्च शिक्षामा जोडिन पाइएको यी छात्राको भनाइ छ । “घरकै सुतोपिठो खाएर डिग्री गर्न पाइयो” अहिले स्वास्थ्य विषयको चौथो सेमेस्टरकी छात्रा मीना तामाङ् भन्नुहुन्छ, “यहाँ कलेज नभएको भए हामीजस्ता कमजोर आर्थिक अवस्थाका छोरी पढ्न बाहिर जान सक्दैनथ्यौ ।” छोरीको उच्चशिक्षामा बाहिर जाने कुरा आर्थिक अवस्थामात्र नभइ सुरक्षा समवेदनशीलताले पनि अभिभावक हच्कने गरेका मीनाको बुझाइ छ । क्याम्पसमा अहिले स्नातकोत्तर तहका २१ विद्यार्थीमध्ये १५ जना त छोरी बुहारी नै रहेका क्याम्पस प्रमुख तेजबहादुर खड्का बताउनुहुन्छ । क्याम्पसले २०७५ देखि शिक्षा सङ्कायमा नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।
बर्दिबास जनता बहुमुखि क्याम्पस सञ्चालनमा आएसँगै उच्च शिक्षा आर्जन गर्ने रहर मारेर बसेका बर्दिबास र ओरपरका छोरी/बुहारीले पढ्ने अवसर पाएका हुन् । घरको कमजोर आर्थिक अवस्था , बाहिर जान अभिभावकको अस्वीकृति र सुरक्षा चासोले बाहिर जान नसकेका छोरीबुहारीले घरकै सुतोपिठो खाएर उच्च शिक्षाको रहर पुरा गरेका छन् । अझ स्नातक सकेपछि पढाइ अगाडि बढ्न नपाएका आपूmहरुलाई यहीं नै स्नातकोत्तर पढ्न पाउँदा खुशी मिलेको स्नातकोत्तर तहका छात्राको भनाइ छ ।
क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्नेमा प्राय सबै पाको उमेरका छन् । स्नातक सकेर विभिन्न क्षेत्रमा काममा लागेका हरु यहाँ स्नातकोत्तर तहको पठनपाठन सञ्चालन भएपछि जोडिएका छन् । छात्रामात्र नभइ यस्ता विद्यार्थी छात्र पनि छन् । स्नातक सकेर स्वास्थ्यक्षेत्रमा सरकारी जागिरमा रहेका रामबाबु यादव र मोहन माझी पनि अहिले स्वास्थ्य विषयमै स्नातकोत्तर गरीरहनु भएको छ । “यहीं (बर्दिबासमै) काममा छौं, यहीं पढ्न पाइने अवसर जुर्यो” बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा स्वास्थ्य शाखामा कार्यरत ४० वर्षीय यादव भन्नुहुन्छ, “पढाइमा उमेरको केको छेकवार !”
स्नातकोत्तर तहमा मात्र नभइ स्नातक तहमा पनि छात्राको सङ्ख्या उल्लेख्य छ । स्नातक तहसम्म शिक्षा र वाणिज्य सङ्कायको पठनपाठन हुने क्याम्पसमा एक हजारमाथि सङ्ख्याका विद्यार्थीमा ७०० माथि छात्रा छन् । स्नातक तहमा चाहिँ अधिकांश नियमित विद्याथी नै छन् । कक्षा १२ सकेपछि लगत्तै पढाइ जारी राखेका । यद्यपि यिनमा पनि विवाह भएर घरजम गरीसकेका बुहारीका लागि नजिकको कलेज हुँदा पढ्ने अवसर जुरेको छ । बर्दिबास-२ घर भएकी श्वेता अर्याल भन्नुहुन्छ, “मेरो त १२ सकेपछि दुई/तीन वर्ष बाबा (पिता)को जागिर सँगसँगै हिड्दा पढाइ नियमित हुन सकेन, विवाह बर्दिबास-२ मा भएपछि कलेज जोडिएँ , स्नातक यहींबाट सके” अर्याल भन्नुहुन्छ, “स्नातकको पढाइ र छोरी हुर्कान सँगसँगै पर्यो , तर परिवारजनको मेरो पढाइप्रतिको वास्ताले सहजै तार लगाएँ । वाणिज्य विषयकी छात्रा अर्यालले चौथो वर्षकोे परीक्षा दिइसकेपनि परिणाम (नतिजा प्रकाशन) भने आउन बाँकी रहेको बताउनुभयो ।
घर नजिक भएपछि छोरीबुहारी पढ्न जान अनुकूल भएको यहाँका अभिभावकको पनि ठम्याइ छ । आफ्नै घर वरपर कलेज भएपछि गरिबीबीच पनि दुःखसुख पढ्न सकिने वातावरण बन्ने हुँदा यहाँको कलेजमा छोरीबुहारीको सङ्ख्या निकै बढी भएको क्याम्पस नजिकै घर हुनु भएका अभिभावक हरि दाहाल बताउनुहुन्छ । यस कलेजमा १५ किलोमीटर दुरीसम्मका विद्यार्थीले घरमै सुतोपिठो खाएर पढाइलाई निरन्तरता दिदै आएकापाइएको छ । यसै क्याम्पसबाट स्नातकोत्तर पुरा गरेकी जिल्लाकै औरही-७ टिम्कियाकी सुनिता ठाकुरले त पढ्ने सङ्कल्प भएपछि केही टाढा र कमजोर आर्थिक अवस्थाको कुराले पनि छेक्न नसक्ने आफैं उदाहरण भएको बताउनुभयो । तराईमा शिक्षा, स्वास्थ्य र अन्य अवसरमा निकै पछि देखिने गरेका बरही (लोहार, डकर्मी पेसाका तराइको जातिविशेष ) जाति परिवारकी ठाकुरले करिब १५ किलोमीटर दुरी छिचोलेर स्नातक र स्नातकोत्तरको अध्ययन यसै क्याम्पसबाट पूरा गर्नुभएको हो ।
“एसएलसी (हालको एसइई)पछि मेरो स्टाफनर्स पढ्ने रहर थियो, मेरो गरिबी बाधक बन्यो” सुनिताले आँखाबाट बरर झरेका आँसु पुछ्दै भन्नुभयो, “जे होस् अभावैअभावका बीचमा पनि स्नातकोत्तर पुरा गरें ।” नातेदार आफन्तहरुले आफ्नो स्नातक सकिएपछि विवाहको प्रस्ताव ल्याइरहेपनि बुबा रामदुलार ठाकुरले त्यतिखेर यो छोरीको निणर्यमा भर पर्ने बताइदिएर आपूmलाई पढ्ने वातावरण मिलाइ दिनुभएको सुनिताको आफ्नै बुबाप्रति अहोभाव छ । “सम्पति नभएर बुबाले स्टाफनर्स पढ्ने मेरो रहर पुर्याउन सक्नुभएन” सुनिताले भन्नुभयो, “तर, मेरो पढ्ने इच्छाको सधैं उहाँले सम्मान र समर्थन गर्नुभयो , मलाई पढ्न र इच्छित काम गर्नपनि छेकवार भएन ।” स्टाफनर्स बन्ने सपना सँगालेकी ठाकुरले स्वास्थ्य विषयमा स्नातकोत्तर गरेपछि चित्त बझाउनु भएको छ ।
विक्रम सम्वत् २०६४ सालमा सञ्चालनमा आएको यो क्याम्पसले स्नातक तहका लागि शिक्षाशास्त्र र वाणिज्य सङ्कायको पठनपाठन सञ्चालन गर्दै आएको छ । स्नातक तहमा यी सङ्कायभित्र बिभिन्न विषयको अध्ययन विद्यार्थी गर्दै आएका छन् । त्यसैगरी २०७५ देखि शिक्षाशास्त्रअन्तर्गत नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन क्याम्पसले सुरु गरेको हो ।
क्याम्पसमा अहिलेलाई दुखजिलो कोठा पुगेपनि बढ्ने विद्यार्थी सङ्ख्यालाई अब थप भवन चाहिने क्याम्पस प्रमुख खड्का बताउनुहुन्छ । अहिले छ कठ्ठा क्षेत्रफलको आफ्नै नाउँको जग्गामा तीनतले क्याम्पस भवन छ । क्याम्पसमा छ जना कर्मचारी र २८ जना शिक्षकसहित ३४ जनाको जनशक्ति कार्यरत छ । यद्यपि शिक्षकमा नौ जनामात्र पूणर्कालीन भएका खड्काले स्पष्ट पानुभयो ।
क्याम्पसलाई बर्दिबास नगरपालिकाले नौ बिघा एक कठ्ठा एक धुर जग्गा भोगाधिकारसहित उपलब्ध गराएको छ । यो जग्गा क्याम्पसकै नाउँमा दर्ता हुने प्रकृया अघि बढेको छ । अहिले काँडेतार लगाएर घेरिएको यो जग्गामा भविष्यमा क्याम्पस भवन विस्तार पनि गर्न सकिने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमाल बताउनुहुन्छ ।
जताततै सामुदायिक क्याम्पसहरुको शाख गिर्दै गएको प्रतिकृया अन्त सुनिए पनि बर्दिबासमा भने शान बढेको छ । अभिभावकको चासो, शिक्षकको समर्पण , व्यवस्थापन समितिको लगन र विद्यार्थीको मेहनतले बर्दिबास जनता बहुमुखि क्याम्पसले सुनाम कमाएको लामो समय शिक्षण पेसामा रही हाल सेवा निवृत हुनुभएका बर्दिबास-१ का केदारबहादुर कोइराला बताउनुहुन्छ ।