बर्दिबास, ७ असोज ।

विश्व पर्यटन दिवस नजिकिदै गर्दा महोत्तरीको बर्दिबासमा यसको भव्यताका लागि पर्यटन व्यवसायी र सम्बद्ध निकाय जुटेका छन् । बर्सेनि इस्वी सम्वत् परम्पराको सेप्टेम्बर २७ तारिखका दिन मनाउँदै आइएको विश्व पर्यटन दिवस यसपालि आउने शुक्रबार मनाइँदैछ । यो दिवस भव्य बनाउन बर्दिबासमा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिले तयारी थालेका हुन् ।

“हामी पर्यटन दिवस भव्यताका साथ सफल पार्न जुटेका छौं” आज सोमबार बर्दिबासको गौतम होटलमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका संयोजक हिरालाल गौतमले भन्नुभयो, “दिवस सम्झनायोग्य बनाउन सबैपक्षको सहयोग आवश्यक छ ।” बर्दिबासमा यसपालि दिवसका अवसरमा एक दिन पहिले नगर सरसफाइ कार्यक्रम आयोजना गरिने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

दिवसको मुख्य दिन आउने शुक्रबार बिहान बर्दिबास नगरचोकमा साँस्कृतिक झाँकीसहितको प्रभातफेरि र त्यसपछि ‘पर्यटन प्रबद्र्धनका सम्भावना र चुनौति’ विषयक विचार गोष्ठी आयोजना हुने गौतमले जानकारी दिनुभयो । गौतम नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष पनि हुनुहुन्छ ।

पत्रकार सम्मेलनमा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले यसपटक देखि नै पर्यटन दिवसको अवसरमा पर्यटन प्रबद्र्धनका क्षेत्रमा उल्लेखनीय योगदान दिएका पत्रकारलाई पुरस्कृत गर्ने थिति बसाल्न खोजिएको बताउनुभयो । “महोत्तरीको पर्यटन प्रबद्र्धनका लागि सञ्चारक्षेत्रमा आफ्नो लेखनीबाट योगदान दिने पत्रकारहरुलाई पुरस्कृत गरिने तयारी गर्दैछौं” कार्कीले भन्नुभयो, “यसक्षेत्रमा समाचार, आलेख वा विचार पस्केर पर्यटनबारे जानकारी बढाउने जिल्लाका तीन जना पत्रकारलाई पुरस्कृत गरिने हाम्रो सोच छ ।” जिल्लामा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको नाउँ नै ‘पर्यटन प्रबद्र्धन पत्रकारिता पुरस्कार’ राखिएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा दिवसको भव्यताका लागि नगरक्षेत्रका उद्यमी, ब्यापारी, आम नागरिक समाज , जनप्रतिनिधि र सरकारी तथा गैरसरकारी सङ्घसंस्था र निकायहरुसँग कार्यक्रममा सहभागिताका लागि आयोजकपक्षले अपिल गरेका छन् ।

२०८१ आश्विन ७, सोमबार २२:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय