एक सातामा ७४ सडक मानवको उद्धार

बर्दिबास(महोत्तरी), ४ कात्तिक : चाडपर्वलाई सडक मानवरहित बनाउन थालिएको अभियानले एक सातामा ७४ जना सडक मानवको उद्धार गरेको छ ।

मानव सेवा आश्रम र आनी छोइङ् डोल्मा फाउण्डेसनले संयुक्त रुपमा थालेका यो अभियान मेचीबाट महोत्तरीको बर्दिबास आइपुग्दा ७४ जना सडक मानवको उद्धार गरिएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अभियानले जनाएको हो । जसमा छ जना आज आइतबार महोत्तरी र धनुषाबाट उद्धार गरिएको यात्रा आयोजकमध्येको मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

‘यस पटकको चाडवाड (दसैं, तिहार, नेपाल सम्वत् र छठ) मा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने नारासाथ एक साताअघि मेचीबाट सुरु भएको यात्रा ३२ आंै दिन महाकाली पुगेर समापन गरिने आयोजकले बताएका छन् । सडकमा बेवारिसे जीवन बिताइरहेका हरुलाई उद्धार गरी आफन्त खोजेर जिम्मा लगाउने र आफन्त फेला नपरे नजिकको मानव सेवा आश्रममा संरक्षण दिइने गरिएको अभियान टोलीले जनाएको छ । यसअनुरुप आज उद्धार गरिएका तीन पुरुष र तीन महिला गरी छ जनालाई जनकपुरस्थित मानव सेवा आश्रममा राखिएको आश्रमका अध्यक्ष अधिकारीले स्पष्ट पार्नुभयो ।

“हामीले पछिल्ला १२ वर्षदेखि सहयोगापेक्षी सडक आश्रितहरुलाई उद्धार, उपचार, संरक्षण दिने सम्भव भएजतिलाई पारिवारिक पुनर्मिलन गराउँदै आएका छौं” अधिकारी भन्नुहुन्छ, “यसले मानवीयता प्रबद्र्धनमा सकारात्मक भूमिका बढेको हाम्रो विश्वास छ ।” आफुहरुको अहिलेको यात्राको उद्देश्य सडक मानवबारे राज्यका निकायहरु , विभिन्न सामाजिक सङ्घसंस्था र आम मान्छेले चासो बढाउन् भन्ने रहेको यात्रामा सहभागी सुप्रसिद्ध गायिका आनी छोइङ् डोल्माको भनाइ छ ।

यो यात्रामा गायिका आनी छोइङ् डोल्मा र आश्रमका अध्यक्ष अधिकारीसहित ४७ जना सहभागी हुनुहुन्छ ।

२०८१ कार्तिक ४, आईतवार २०:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय