बर्दिबास : बर्दिबासका अग्रणि समाजसेवी कृष्णप्रसाद देवकोटा बर्दिबास वर्ष व्यक्तित्व-२०८० सम्मानबाट सम्मानित हुनुभएको छ । ‘सबैका लागि हामी’ सामाजिक संस्थाको दोस्रो साधारणसभाको अवसरमा पूर्वमन्त्री तथा नेकपा माओवादीकेन्द्रका उपमहासचिब गिरिराजमणि पोखरेलले देवकोटालाई वर्ष व्यक्तित्वको सम्मानपत्र प्रदान गर्नुभएको हो ।
बर्दिबासमा सर्पदंश उपचार केन्द्र स्थापना र रातु ठाकुर मोक्षधाम निर्माणमा अथक योगदान दिनुभएका देवकोटालाई ‘सबैका लागि हामी’ सामाजिक संस्थाले वर्ष व्यक्तित्व सम्मानका लागि छनौट गरेको हो ।
सो अवसरमा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले सम्मानित व्यक्तित्व देवकोटाको सामाजिक योगदानको स्मरण गर्नुभयो । ‘सबैका लागि हामी’ सामाजिक संस्थाले देवकोटाको सामाजिक योगदानको कदरस्वरुप वर्ष व्यक्तित्व छनौट गरेर उच्च सम्मान दिने परम्परा बसालेर नयाँ काम थालेको पोखरेलको भनाइ थियो । नेता पोखरेलले कार्यक्रममा ‘सबैका लागि हामी’ संस्थाले शिक्षा र स्वास्थ्यको पहुँच वृद्धि तथा लागुपदार्थ दुव्र्यशनविरुद्ध सामाजिक जागरणका क्षेत्रमा आफ्ना प्रयत्न बढाउनु प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व देवकोटाले संस्थाले दिएको सम्मानको गरिमामा आँच आउन नदिनेगरी जीवनपर्यन्त सामाजिकक्षेत्रमा आफ्ना प्रयत्न लगाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बर्दिबासको समुन्नतिका लागि शिक्षा र पर्यटन प्रबद्र्धनका क्षेत्रमा योजनाबद्ध काम तथा प्राकृतिक सम्पदाको संरक्षण मुख्य मुद्दा बनाउन सामाजिक सङ्घसंस्थाहरुलाई अपिल गर्नुभयो ।
सो कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानि तथा बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष गोपाल बरालले ‘सबैका लागि हामी’ संस्थाले वर्ष व्यक्तित्व छनौटमा विवेकसम्मत निणर्य गरेको बताउँदै सम्मानित व्यक्तित्व देवकोटाको सामाजिक जीवन अझ फराकिलो बन्दै जाने कामना गर्नुभयो ।
समारोहमा ‘सबैका लागि हामी’ सामाजिक संस्थाका स्थापनाकालदेखि हालसम्मका सामाजिक गतिविधि समेटिएको भिडियो सामग्री देखाइएको थियो । संस्थाका सदस्य रमण घिमिरेले यी गतिविधिबारे विवेचना गर्नुभएको थियो । साधारणसभाको उद्घाटनसत्र सत्र संस्थाका अध्यक्ष रवि निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।