गौशाला (महोत्तरी) , ३ मङ्सिर ।
नेपाली क्रिकेट महिला टिमबाट भर्खरै यू-१९ टी-२० विश्वकप प्रतियोगिता र एशिया कपमा प्रवेश सुनिश्चित भएपछि अहिलो सो टिमकी कप्तान पूजा महतोलाई बधाई र हौसला दिनेहरुको जमघटले उहाँको घर भरिभराउ छ । विश्वकप छनौटको खेल युएइबाट जितेर घर फर्केसँगै महोत्तरीको गौशाला-९ डुमरवानास्थित उहाँको घरमा दिनहुँ खुशी व्यक्त गर्न पुग्ने भरिभराउ देखिन्छन् ।
आफ्नो टिमको सफलताप्रति सबैक्षेत्रबाट प्राप्त चासोले आगामी विश्वकप र एशियाकपमा उत्कृष्टता देखाउन हौसला मिलेको पूजा बताउनुहुन्छ । “युएईमा छनौट प्रतिष्पर्धामा सामेल भइरहँदा सम्पूणर् नेपाली हामीलाई हेर्दैछन् भन्ने वोध भइरहन्थ्यो, यो वोधले हामीले सहजै विश्वकप र एशियाकपको यात्रा सुनिश्चित गर्यौं” पूजा आपूmलाई भेट्न पुग्ने सबैसँग भन्नुहुन्छ, “आगामी खेल विश्वकप र एशियाकप उचाल्नु हाम्रो टिमको साझा ध्येय हो ।”
छनौट प्रतियोगिता जितेर गतबिहीबार टिमसहित स्वदेश फर्कनु भएकी पूजा आफ्नो घर नपुग्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्ना प्रतिनिधि पठाइ नेपालको विश्वकप प्रवेश सुनिश्चित भएको खुशी उहाँका परिवारजनमा पुर्याउनुभयो । सो दिन नै उहाँको बस्ती डुमरवानामा साँझ दीपावली गरी खुशी मनाइएको थियो ।
शुक्रबार घर पुग्नु भएकी पूजालाई राजनीतिक दल र सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र आम सर्वसाधारणले घरमै भेटेर बधाई ज्ञापन गर्दै आगामी खेलयात्रा अझ सशक्त बन्ने हौसला दिदै आएका छन् । “अहिले हामीप्रति आम रुपमा दर्शाइएको सकारात्मक चासोले अब झन राम्रो गर्नैपर्ने दायित्ववोध भएको छ” आइतबार साँझ आपूmलाई भेट्न घर पुग्नुभएका सङ्घीय सरकारका पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिब गिरिराजमणि पोखरेलसँग पूजाले भन्नुभयो, “सुव्यवस्थित खेल मैदान, अभ्यासको समुचित व्यवस्था र यथोचित रेखदेख भइरहनसके नेपाली क्रिकेटले विश्वमाझ राम्रो प्रदर्शन गर्नेछ ।”
यसपालिको युएईमा भएको यू-१९ टी-२० क्रिकेटको एशिया तथा विश्वकप छनौटका खेलमा कुवेत र युएईसँगको प्रतिष्पर्धामा नेपाली महिला टिमले उत्कृष्टता प्रदर्शन गर्दै छनौट खेलमा सफलता प्राप्त गरेको छ । खेलमा कप्तान पूजाले शतक पार गर्नसँगै पाँच विकेट लिनुभएको थियो ।
नेपाली क्रिकेट महिला टिमको यो सफलतामा आम रुपमा व्यक्त चासोले आफ्नी छोरीले देशका लागि केही गर्दैछन् भन्ने विश्वास जागेको उहाँका पिता रञ्जित महतोले बताउनु भएको छ । “पूजा अब देशकी छोरी हुन् , यिनलाई तपाईँहरुका काखमा सुम्पेका छौं” कामको सिलसिलामा भारतको दिल्ली रहनुभएका रञ्जितले घर पुगेका पाहुनाहरुसँग भिडियोकलमा भन्नुहुन्छ, “यिनले देशको नाम रोशन गर्नेछिन् ।”
रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तानमा जेठी छोरी अञ्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । माहिली छोरी पूजाको सफलताले कान्छी आरती र सबैभन्दा कान्छा छोरा कृष्ण पनि खेलप्रति अझ उत्साहित भएका छन् ।