नेपालवाणी नेटवर्क
जनकपुरधाम, मंसिर ।
नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई मिर्चैया नगरपालिकाले सम्मान गरेको छ । पुजाको कप्तानीमा गत साता नेपाली यू १९ महिला क्रिकेट टोलीले इतिहास रच्दै आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल भएकोमा मिर्चैया नगरपालिकाले नगद सहित सम्मान गरेको हो ।
विहिवार नगरपालिकाद्वारा आयोजित एक समारोहका बीच मिर्चैया नगरपालिकाका प्रमुख श्रवण कुमार यादवले नगद ३५ हजार प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मान समारोहमा उपप्रमुख जीवछी देवी साह, गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो सहितका व्यक्तिहरुको उपस्थिति थियो ।
समारोहमा नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान महतोले आफूले देशको शिर उच्च पार्न सधै क्रिकेटको माध्यमबाट जीवन समर्पित गरिसकेको बताईन् । उनले भने, ‘नेपाल टिमलाई अघि बढाउन जस्तोसुक्कै संघर्ष गर्न तयार छु ।’
नगरप्रमुख श्रवण कुमार यादवले पुजाको कप्तानीमा गत साता नेपाली यू १९ महिला क्रिकेट टोलीले इतिहास रच्दै आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल भएकोमा खुशी प्रकट गर्दै देश र मधेशको शिर उच्च पारेको गौरवान्वित भएको बताए । उनले भने, ‘मधेशको माटोमा एकसे एक गौरव गर्ने गौरव गर्ने खालको प्रतिभाहरु भएको तर हामीले चिन्न सकेको छैनौं ।’
क्याप्टन पुजा महतोलाई उनको गृहनगर महोत्तरीको गौशालामा नगरबासीले नागरिक अभिनन्दन गरेको छ । नागरिक अभिनन्दनमा स्वतःस्फूर्त रुपमा नागरिकले ठाउँठाउँमा पुजालाई सम्मान तथा मायो चिनो प्रदान गरेको थियो । उनलाई अहिले सम्मान थाप्न भ्याईनभ्याई छ ।