नेपालवाणी डटकम
जनकपुरधाम, मंसिर ।

सप्ताहव्यापी विवाह पञ्चमीको अवसरमा नेपाल कुशवाहा कल्याण समाजले जनकपुरधाममा निःशुल्क भोजन र स्वास्थ्य शिविरको आयोजना गरेको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवमा आउने श्रद्धालु भक्तजनहरुलाई मध्यनजर गरेर निः शुल्क भोजन र स्वास्थ्य शिविरको आयोजना गरेको हो ।


हरेक वर्षैै झैं यस वर्ष पनि नेपाल तथा भारतबाट आएका श्रद्धालुभक्तजनहरुको लागि नेपाल कुशवाहा कल्याण समाजले निःशुल्क भोजनको आयोजना गरेको केन्द्रिय सदस्य सुशिल सिंहले नेपालवाणी नेटवर्कलाई जानकारी दिए । जनकपुरधाम स्थित गंगासागरमा श्री साकेत विहारी कुशवाहा कुट्टीमा निःशुल्क भोजन र स्वास्थ्य सेवा शिविरको आयोजना गरिएको हो ।

श्री साकेत विहारी कुशवाहा कुशवाहा कुट्टीका उपाध्यक्ष समेत रहेका सिंहले भने, ‘सेवा गर्ने भावले जनकपुरधाम आएका श्रद्धालुभक्तजनहरुलाई कठिनाई नहोस् र सक्दो सहयोग गर्न पाउँ भनी उदेश्यका साथ परोपकारी भावनाले स्वास्थ्य शिविर र भोजनाको आयोजना गरिएको हो ।

निः शुल्क शिविरमा रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागि हुन आएका सयौं जना श्रद्धालुभक्तजनहरुले भोजन तथा स्वास्थ्य शिविरको लाभा उठाएको कुशवाहा कल्याण समाजका केन्द्रिय सदस्य भोला महतोले जानकारी दिए । उनले भने, ‘हामीले हरेक वर्षै झैं यस वर्ष पनि स्वास्थ्य शिविर र निःशुल्क भोजनाको व्यवस्थापन गरेका छौं । यहाँ आएका सबै श्रद्धालुभक्तजनहरुलाई खाना र स्वास्थ्य सेवा दिएर पठाएका छौं ।’

स्वास्थ्य शिविर तथा निःशुल्क भोजन शिविरको समुदघाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गरेका थिए । समारोहमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष राकेश मेहता, धनुषा जिल्ला अध्यक्ष योगेन्द्र महतो शिवशंकर प्रसाद सिंह, विजय महतो, अमृत महतो, प्रमोद सिंह लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य शिविर र भोजनालय अवेर राति सम्म चल्ने जनाईएको छ ।

यसैगरी लायन्स क्लब ऑफ़ जनकपुधाम एण्ड लियो क्लब ऑफ जनकपुरधाम लियो क्लबका अध्यक्ष लियो रितिक कुशवहा र प्रविन कुशवाहा लगायतले नि: शुल्क स्वास्थ्य शिविर समेत संचालन गरेका थिए ।

२०८१ मंसिर २१, शुक्रबार १६:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय