महोत्तरी, २० पुस ।
प्रेस चौतारी नेपाल महोत्तरीले दोस्रो जिल्ला अधिवेसनको तयारी थालेको छ । चौतारीआबद्ध महोत्तरीका पत्रकारहरुको आज शनिबार बर्दिबासमा सम्पन्न विस्तारित वैठकले आउने माघ १७ गते बिहीबारका दिन दोस्रो जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।
यसपालि राष्ट्रव्यापि सङ्गठन विस्तार र अधिवेशनको तयारीमा जुटेको चौतारीको आउने फागुनमा १० औं राष्ट्रिय अधिवेसन कोशी प्रदेशको विराटनगरमा गर्ने निर्णय भइसकेको छ । यस क्रममा आउने माघभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने चौतारीको तालिका छ । यसै अभियानअर्न्तगत महोत्तरीको दोस्रो जिल्ला अधिवेशन माघ १७ गते गरिने निधो भएको प्रेस चौतारीको महोत्तरी समितिले जनाएको हो ।
चौतारीका पूर्वकेन्द्रीय सदस्य गोपाल बरालको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला अधिवेशन व्यवस्थापन उपसमिति र प्रतिवेदन लेखन उपसमिति गठन गरेको छ । प्रतिवेदन लेखन उपसमितिको जिल्ला अध्यक्ष नविन मिश्र प्रियदर्शी र व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी रामनारायण महतोलाई दिइएको धनवीर महतोले जानकारी दिनुभयो ।
सम्पन्न विस्तारित वैठकले भर्खरै गत मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको समीक्षा गर्नसँगै केन्द्र र प्रदेशको नेतृत्वमा चौतारीलाई विजयी गराउन आआफ्नो क्षेत्रबाट सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । यसैगरी जिल्लाको निर्वाचनमा जिल्ला सचिबसहितका पदमा विजयी हुनु भएका साथीलाई बधाई ज्ञापन गर्दै बैठकले सबै मतदाताप्रति उच्च सम्मान जनाएको चौतारी महोत्तरी समितिले जनाएको छ ।