बर्दिबास, २१ पुस । मधेशका होटल तथा पर्यटन व्यवसायी र पत्रकारहरुले आपसी सहकार्यमा जोड दिएका छन् । मधेशको पर्यटन प्रबर्द्धनमा व्यवसायी र पत्रकारबीचको आपसी सहकार्यले खास उपलब्धी हासिल हुने दुबैपक्षको निष्कर्ष छ ।
आज आइतबार महोत्तरीको बर्दिबासमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ र होटल सङ्घ नेपाल (हान) को मधेश प्रदेश समितिले नेपाल पत्रकार महासङ्घमा मधेशबाट विभिन्न तहमा निर्वाचित पत्रकारको सम्मानमा आयोजना गरेका कार्यक्रममा यस्तो निष्कर्ष दुबैपक्षले औंल्याएका हुन् । कार्यक्रममा पत्रकार महासङ्घमा मधेशबाट केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेशका पदाधिकारी एबं सदस्य तथा प्रदेशका आठवटै जिल्लाका नवनिर्वाचित अध्यक्षहरुको सहभागिता थियो ।
कार्यक्रममा आयोजक दुबै संस्थाका प्रतिनिधिले आफूहरुले विगतमा तय गरेको ‘घुमौ मधेश, बुझौ मधेश’ भन्ने नारालाई पछि मधेश प्रदेश सरकारले अपनत्व लिएको चर्चा गर्नुभयो । मधेशको समृद्धि र विकासका लागि यहाँका पर्यटकीय स्थलको पहिचान, पूर्वाधार विकास र प्रचार आवश्यक रहेको बताउँदै नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ र होटल सङ्घ नेपाल (हान) का वरिष्ठ सल्लाहकार विजय झुनझुनवालाले यस कार्यमा पत्रकारको महत्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो । यसैगरी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिब अशोक तिवारी, केन्द्रीय सदस्य ललिता साह र प्रदेश अध्यक्ष श्याम वञ्जाराले मधेशको पर्यटन प्रबर्द्धनमा होटल तथा पर्यटन व्यवसायीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मधेशका पत्रकार र होटल तथा पर्यटन व्यवसायीको यो एकठाउँमा यति ठूलो जमघट भएको पहिलो पटकमै दुबैपक्षबाट अभिव्यक्त प्रतिबद्धताले यहाँको पर्यटन प्रबर्द्धनमा ठोस उपलब्धी हासिल हुने सबै सहभागीको अपेक्षा छ । कार्यक्रममा आयोजक संस्थाले पत्रकार महासङ्घमा मधेशबाट विभिन्न पदमा निर्वाचित हुनु भएका सबैलाई मधेशका पर्यटकीयस्थलहरुको चित्र अङ्कित आकर्षक ‘फ्रेम’ मायाको चिनोस्वरुप प्रदान गर्दै माला र खादा लगाएर सम्मान गरेका छन् ।
कार्यक्रममा आयोजक संस्थाका तर्फबाट मोहन प्रधान , मोहन शर्मा लामिछाने र वैकुण्ठ सापकोटासहितका वक्ताले पत्रकार महासङ्घमा नवनिर्वाचित सबै प्रतिनिधि र होटल तथा पर्यटन व्यवसायी अब मधेशको समृद्धि र विकासमा एकाकार भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।
२०८१ पुष २१, आईतवार २०:४६मा प्रकाशित