श्वेत रक्त बनाउने मसिन व्यवस्थापनमा जुट्दै सहयोग
बर्दिबास, २३ पुस ।
जटिल प्रकृतिका बिरामीको उपचारमा आवश्यक पर्ने श्वेत रक्त (सेतो रगत) बनाउने उपकरणका लागि रेडक्रस बर्दिबास उपशाखालाई सहयोग जुट्दैछ । उपशाखाले सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्रमै श्वेत रक्त बनाउन आवश्यक पर्ने सेप्रेटर मसिनसहितका उपकरणका लागि रोटरी क्लव अफ बर्दिबास र ग्रेटर तेजपुर (भारत) शाखाले चासो बढाएका छन् ।
आकष्मिक र जटिल प्रकृतिका बिरामीको उपचारमा मधेशमा दुर्लभजस्तै रहँदै आएको श्वेत रक्तको सेवा बर्दिबासबाटै दिइन पहलकदमी लिइएको रोटरी क्लव अफ बर्दिबासका अध्यक्ष (प्रेसिडेन्ट) विष्णुराज पुरीले बताउनुभयो । “बर्दिबासमा श्वेत रक्त बन्नुपर्ने विषय केही वर्षयता उठ्दै आएको छ, हामीले यसका लागि आवश्यक उपकरणको प्रबन्धका लागि पहलकदमी बढाएका छौं” पुरी भन्नुहुन्छ, “यस प्रयोजनका लागि रोटरी क्लव अफ ग्रेटर तेजपुर (भारत) शाखाको साथ हुनेछ ।”
मधेशमा रक्त सङ्कलन र बिरामीसम्म रक्त सेवा प्रवाहमा अब्बल सेवा दिइरहेको रेडक्रस बर्दिबास उपशाखाको रक्तसञ्चार केन्द्रसँग श्वेत रक्त सेवा सञ्चालनबारे निर्णायक छलफल भइरहेको रोटरी क्लव अफ बर्दिबासले जनाएको छ । श्वेत रक्त बनाउन उपकरण स्थापित गरिनअघि रेडक्रस बर्दिबास उपशाखा र रोटरी क्लवबीच सेवा सञ्चालन र सेवा प्रवाहबारे ठोस सहमतिपछि प्रकृयाले गति लिने रोटरी क्लव अफ बर्दिबासका अध्यक्ष पुरीको थप भनाइ छ ।
श्वेत रक्त बनाउने उपकरण जडान र सञ्चालनसँगै आफ्नो उपशाखाको सेवाले एउटा अर्को महत्वपूर्ण फड्को लगाउने रेडक्रस उपशाखा बर्दिबासका अध्यक्ष रेवन्त कार्की ‘सुदीप’ बताउनुहुन्छ । यसका लागि रोटरी क्लव अफ बर्दिबास र ग्रेटर तेजपुर (भारत) सँग सहकार्यको हात अघि बढेको कार्कीले स्पष्ट पार्नुभयो ।
उपचारमा आवश्यक पर्दा हम्मेसी नपाइने श्वेत रक्त सेवा आफ्नै नगरमा पाइनसक्ने कुराले बर्दिबास नगरबासी उत्साहित देखिदा छन् । रेडक्रस बर्दिबासको रक्तसञ्चार केन्द्रमा श्वेत रक्तको सेवा थपिनसके सिङ्गो मधेश लाभान्वित हुने रेडक्रस महोत्तरी शाखाका सभापति दिपक मिश्रको विश्वास छ ।