
बर्दिबास, ९ माघ ।
महोत्तरीको बर्दिबासमा सम्पन्न दोस्रो मेयरकप (वडास्तरीय) क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि बर्दिबास–१ ले जितेको छ । आज बुधबार सम्पन्न अन्तिम खेलमा बर्दिबास–१ ले यो उपाधि जितेको हो । बर्दिबास नगरपालिकाको सहयोगमा यसपालिको प्रतियोगिता सर्च ०४४ खेल तथा साङ्गितिक समूह बर्दिबास–१४ ले आयोजना गरेको हो ।
अन्तिम खेलमा बर्दिबास–१२ ले दिएको ११२ रनको लक्ष दुई ओभर खेल बाँकीछँदै चार विकेटको क्षतिमा हासिल गरेको हो । यसअघि पहिलो ब्याटिङ्ग गरेको बर्दिबास–१२ ले अलआउट हुँदै ११२ रनको लक्ष दिएको थियो । बर्दिबास–१२ का लागि विकास थापाले तीन छक्काको मद्दतले ३८ रन जोड्नु भयो । यसैगरी विजय पासवान र धिरेन्द्र महतो दुई/दुई छक्का लिनु भएको थियो । जवाफी ब्याटिङ्गमा उत्रेको बर्दिबास–१ ले २० ओभरको प्रतियोगितामा दुई ओभर खेल बाँकी छँदै चार विकेटको क्षतिमा लक्ष प्राप्ति गरेको हो ।
विजयी टिमले ५१ हजार नगद, प्रशंसापत्र र ट्रफीसहित प्राप्त गरेको छ । यसैगरी उपविजेता बर्दिबास–१२ ले २५ हजार नगद, प्रशंसापत्र र उपविजेताको ट्रफी प्राप्त गरेको छ । प्रतियोगिता समापन समारोहमा खेलाडीहरुलाई नगरप्रमुख प्रहलादकुमार क्षत्रीले पुरस्कार प्रदान गर्दै खेलको विकासमा नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समापन समारोहमा विजयी टिमका कप्तान रोमन निरौला, खेल अवधिका वेष्ट फिल्डर विकास थापा, वेष्ट बलर ट्रिपल लामा , म्यान अफ दी म्याच सन्दिप बुढाथोकी र प्रतियोगिता अवधिभरिमा सर्वाधिक रन बनाउने राजकुमार भजेलसहितलाई नगरप्रमुख क्षत्रीले सम्मानित गर्नुभयो ।
खेल समापन समारोह सर्च ०४४ खेल तथा साङ्गितिक समूह बर्दिबास–१४ का अध्यक्ष योगेश हमालको अध्यक्षतामा सम्पन्न भएको हो । यसपालिको प्रतियोगिता मा २ गते सुरु भएको हो । प्रतियोगितामा बर्दिबास नगरक्षेत्रका १४ वडामध्ये १३ वडामा १३ टिम सहभागी थिए ।