गोविन्द महतो
जनकपुरधाम, माघ ।
ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारणका लागि सिमांकन, नक्सांकन तथा उत्खनन् सुरु गरिएको छ । उद्गमस्थल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगर देखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नै प्राकृतिक बहाव क्षेत्रको सौन्दर्यीकरणका लागि सिमांकन तथा नक्सांकनको कार्य गर्न सुरु गरिएको हो ।
दुधमति नदी संरक्षण उच्चस्तरीय उप–समितिका अध्यक्ष उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवको नेतृत्वमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा वि.सं. २०२४÷०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमा यकिन गर्ने तथा दुधमतीको प्राकृतिक बहाव क्षेत्र खाली गराउन सिमांकन तथा नक्सांकनको प्रारम्भ भएको हो । लक्ष्मीनियाँ–३ स्थित बनिनियाँ भन्दा उत्तर उद्गमस्थल सम्म नदीको बहावक्षेत्र नै अतिक्रमित छ । त्यस क्षेत्रमा खेतमुनि भएर पानी बग्ने गरेको छ ।
सरकारी अधिकारीहरु समेत सम्मिलित मुख्यमन्त्री सिंह तथा उर्जा सिंचाई तथा खानेपानी मन्त्री सहितको टोलीले दुग्धमती पोखरीसँगै दक्षिणी भू–भाग सम्मको नदी अवलोकन गरेको हो । दुधमती नदीमा धार्मिक तथा पौराणिक ग्रन्थमा समेत उल्लेखित पवित्र नदी मानिन्छ । श्रीपञ्चमीका दिन नदीको उद्गमस्थलमा ठूलो मेला लाग्ने गर्दछ ।
उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी सहितको संयुक्त टोलीले नेपालको झण्डा हलाएर सीमांकनको सुरुवात गरे । धनुषा महोत्तरी क्षेत्रमा कूल २९ किलोमीटरमा दुधमति नदीको सीमांकनको प्रारम्भिक चरणमा नक्सा अनुसार क्षेत्रफल निकालेर नापजाँच र पिलर गाड्ने सहित जग्गा छुटयाउने गरी पैनी खन्ने काम आईतवार देखि शुरु गरिएको छ ।
दूधमती नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभई नेपाल भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गणतव्यको रुपमा स्थापित हुने दुधमती नदी सरोकार समाजका जनकपुरधामका अध्यक्ष सुदिप मण्डलको भनाई छ । दूधमति नदी पर्यटकीय क्षेत्रमा रुपमा विकास भए क्षिरेश्वरनाथ नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर हुने बताए । उनले भने, ‘नदीको उकास विकाससंगै यहाँस्थित दूधमति नदीको एक डेढ किलोमीटर क्षेत्रफललाई तालको रुपमा विकास गरे स्थानीय सरकारका लागि समेत आर्थिक उपार्जनको ठूलो माध्यम हुन सक्छ ।’
उच्चस्तरीय समितिका अध्यक्ष तथा मन्त्री शेषनारायण यादवले दुधमती नदीको सौन्र्यीकरण मन्त्रालयको मात्रै योजना नभई प्रदेश सरकारकै ड्रिम प्रोजेक्टको रुपमा अघि बढेको बताए । उनले भने, ‘अहिलसम्मकै प्रदेश सरकारको ठूलो गौरवको आयोजना रहेकाले यसमा स्थानीय जनताको समेत प्रत्यक्ष संलग्नता आवश्यकता छ । करीब ५ अर्बको बहुवर्षिय परियोजना अन्तर्गत दूधमति बहाव क्षेत्र बाहेक दुवैतर्फ ११÷११ मिटर कालेपत्र सडक, उद्गम स्थलमा मन्दिर तथा पार्क सहित पोखरीको सौन्दर्यकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ-गाउँ नजिक दूधमति र सीता माताको मन्दिर सहित पार्क, प्रत्येक २÷२ किलोमीटरको दूरीमा ड्यामको व्यवस्था हुनेछ ।’
कार्यक्रममा स्थानीय तहको तर्फबाट क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले परियोजना शुरु भएपछि नगरपालिकाबाट २५ लाख र लक्ष्मिनिया गाउँपालिकाका प्रतिनिधिले ११ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ५० लाख रुपैयाँ बजेट छुटयाएको छ । आगामी वर्षदेखि डिपिआर अनुसार बढी भन्दा बढी बजेट छुटयाउने प्रतिबद्धता मन्त्री यादवले जनाए ।
नदीलाई डम्पिङ साइट बनाउने र जग्गा अतिक्रमण गर्दा यसको अस्तित्व नै धरापमा पुग्ने भएको हुँदा ऐतिहासिक दुधमती नदी संरक्षण तथा साप्ताहिक सरसफाई अभियान समिति गठन गरी नियमित सफाइ अभियानमा जुट्दै आएका प्रदेशसभा सदस्य रामआशीष यादवले मानव सभ्यता र पर्यावरण जोगाउन सबैले संकल्प लिनुपर्ने बताए । नदीको इतिहास देवी सीतासँग जोडिएकाले संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ । ‘पहिले हामीले दुधमतीको पानी पिउथ्यौं, साधुसन्त, स्थानीयवासी सबैले पिउँथे, पछिल्लो समय ध्यान नपुग्दा दूषित बन्यो,’ उनले भने, ‘नदीको पानी पहिले जस्तै सफा बनाउनुपर्छ ।’
दुधमतीको इतिहास
दुधमती इतिहास त्रेता युगसँग जोडिएको धार्मिक मान्यता छ । मिथिलाका राजा जनककी छोरी सीताको जीवनसँग जोडिएको हुँदा दुधमती नदीको छुट्टै महत्व छ । राजा जनकले सीतालाई दूध खुवाउन कामधेनु गाई नै मगाएका थिए । बाल्यकालमा सीताले कामधेनु गाईको दूध खाने क्रममा मुखबाट झरेको दूधको फिँजले दुधमती नदीको उत्पत्ति भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
सीताको जीवनसँग जोडिएको धार्मिक तथा ऐतिहासिक नदी अहिले इतिहासमै सीमित हुने अवस्थामा पुगेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा महेन्द्रनगर देखि सुरु भएको दुधमती नदी जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म बगेर लोप हुन्छ ।
२९४६ किमि लम्बाइको दुधमती नदी मिथिलाञ्चलकै सबैभन्दा पुरानो नदी मानिन्छ । यो नदीलाई हिन्दु धर्मावलम्बीहरु पवित्र मान्दै स्नान गर्ने, देवकार्य, पितृकार्य गर्ने महत्वपूर्ण स्थलका रूपमा लिने गरेको छ । दुधमती नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने र चिताएको पुग्ने जनविश्वास छ । संरक्षण अभावमा नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै गएको छ भने सांस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यता समेत हराउँदै गएको छ ।