बर्दिबास १४ माघ  ।
विज्ञान र सूचना प्रविधिका नयाँनयाँ विकासक्रमसँग जोडिन मधेशमा मधेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापनाको तयारी थालिएको छ ।
विशिष्टीकृत अनुसन्धान केन्द्र मधेश प्रदेशले आज सोमबार बर्दिबासमा सुरु गरेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको कार्यसूचीअनुसारको चुरे संरक्षण र विकाससम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहले यस्तो जानकारी दिनुभएको हो । यसअनुसारको प्रस्ताव तयार भएर अब प्रकृयामा रहेको डा. साहले स्पष्ट पार्नुभयो ।
“हामीले प्रतिष्ठान स्थापनाबारेको प्रस्ताव तयार गरेका छौं, अहिले यो अध्ययनको चरणमा छ” डा. साहले भन्नुभयो, “मधेशको आवश्यकता र सम्भावनालाई तत्काल सम्बोधन हुनेगरी विज्ञान र प्रविधिबारेका अभ्यास थालिन प्रतिष्ठान स्थापनाबारे सोचिएको हो ।” मधेशमा सिद्धान्त निरुपण गर्नमात्र नभएर प्रायोगिक विज्ञानको अभ्यास आवश्यक भएको डा. साहको भनाइ छ । यसका लागि सघन नीति सम्वाद गरिन पर्ने डा. साहले बताउनुभयो ।
मधेशको चुरेसँग जीवनपद्धतिको सम्बन्ध रहेको हुँदा यसको संरक्षण र उपयोगको नीतिको कडाइका साथ अनुसरणको आवश्यकता भएको उहाँले औंल्याउनुभयो । मधेशको ऊर्जा, खानेपानी र सिँचाइको सिधा सम्बन्ध चुरेसँग रहेको हुँदा यसको समवेदनशीलतासँग सबैले परिचित हुन अपरिहार्य भएको डा. साहले बताउनुभयो । मधेश प्रदेश सरकारले बनाएका र बन्ने क्रममा रहेका नीतिमा यी पक्ष सुस्पष्ट हुनपर्ने आफ्नो ध्येय रहेको उहाँको भनाइ छ । एक प्रसङ्गमा डा. साहले मधेशको नीति तथा योजना आयोगले हरित आर्थिक नीतिको सङ्कल्प प्रस्ताव तयार गर्नसँगै अब प्रदेशमै तथ्याङ्क विश्लेषणका काम व्यवस्थित गर्न प्रदेश तथ्याङ्क ऐन ल्याइन पर्ने ठहर गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का सचिब डा. रवीन्द्रप्रसाद ढकालले स्थापनाकालयताका ४४ वर्षमा प्रतिष्ठानले हासिल गरेका उपलब्धी सोझै जनसम्बन्धित बनेका उल्लेख गर्नुभयो । यिनमा ब्रिकेट, सौर्यऊर्जा, इमेलको प्रयोग , इकोसिस्टम र खाद्यवस्तुको परीक्षण (विकिरण परीक्षण) मुख्य काम भएका उहाँले बताउनुभयो ।
दुई दिने यो प्रशिक्षण कार्यक्रममा ‘चुरे संरक्षण नीति, अवस्था, सवाल र समाधानका उपाय’ एबम् ‘चुरे संरक्षण कस्को चासो ? कस्को जिम्मेवारी ?’विषयक कार्यपत्रमा चुरे तथा जलाधार विज्ञद्वय डा. नागेन्द्रप्रसाद यादव , डा. विनोद भट्ट र चुरे विज्ञ नागदेव यादवले सहजीकरण गर्नुहुने जानकारी दिइएको छ । यसैगरी अन्तिम दिन विज्ञ सरिता लामाबाट भर्चुअल प्रस्तुतिकरण र चुरे पाहाडी क्षेत्रको स्थलगत अवलोकन सहभागीलाई गराइने विशिष्टीकृत अनुसन्धान केन्द्र मधेशले जनाएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका व्यवस्थापन परिषदका सदस्य तथा विशिष्टीकृत अनुसन्धान केन्द्र मधेश प्रदेशको व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. पारसनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।
यस प्रशिक्षणमा मधेशका आठै जिल्लाका डिभिजन वन कार्यालय र यस प्रदेशका चारवटा भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख, विभिन्न जिल्लाका सिँचाइ कुलो संरक्षण समिति र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहभागिता रहेको छ ।

२०८१ माघ १४, सोमबार १८:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय