
महोत्तरी, २२ माघ । वसन्तपञ्चमी पर्वको मौका छोपेर महोत्तरीको भङ्गाहा–४ रामनगरमा एकै रात पाँच घरमा चोरी भएको छ । आम युवा र किशोर पर्वविशेषको साँस्कृतिक कार्यक्रम हेर्न गएका मौका छोपी चोरले नै बस्तीका रामबाबु कुशवाहा , राजा भनिने गुलाम महतो, देवसुन्दर महतो, शुभनारायण ठाकुर र रामबाबु महतोको घरमा सोमबार मध्यराततिर चोरी भएको हो ।
चोरले रामबाबु कुशवाहा र रामबाबु महतोको घरबाट गरगहनाको सानो बाकस, बहुमूल्य लत्ताकपडा र धातुका भाँडाकुँडासहित तीन/तीन लाख मूल्यबराबरको धनमाल चोरी भएको छ । यता गुलाम महतो, देवसुन्दर महतो र शुभनारायण ठाकुरको घरमा भने चोर पसेको केहीबेरमै साास्कृतिक कार्यक्रम हेरेर घर फर्केका हरुको हलचलले खासै सामान लान नपाएका छिमेकका रामईश्वर ठाकुरले बताउनुु भयो ।
चोरको हल्लीखल्ली भएपछि सीतापुर प्रहरी चौकीबाट गस्ती प्रहरी पुगेर घटनाबारे जानकारी लिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जानकारी गराइ यहाँ अनुसन्धान थालिएको सीतापुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक सुनिलकुमार यादवले जानकारी दिनुभयो ।
पछिल्ला केही महिनायता जिल्लाका उत्तरीक्षेत्रमा चोरीका घटना बाक्लिदै गएका छन् । यसअघि एक महिनापहिले बर्दिबासका पाँच/छ वटा पसलमा चोरीका घटना भएका थिए ।—