
महोत्तरी, २३ माघ ।
महोत्तरीको भङ्गाहा—४ रामनगर बस्तीमा शृङ्खलाबद्ध चोरी र लुटपाटको घटना बढेको छ । सोमबार राती पाँच घरमा चोरीका घटना भएलगत्तै सो बस्तीमा मङ्गलबार राती अर्को लुटपाटको घटना भएको हो ।
पछिल्लो पटक मङ्गलबार राती बस्तीका सुशीलकुमार महतोको घरमा तीन/चार जनाको सङ्ख्यामा पुगेका लुटेराले घरका महिलाले लगाएका नाक, कानका गहना लुछेर लगेका छन् । लुटेराले गहना लुछ्दा बुहारी कानमा लामो घाउ नै भएको घरधनी सुशीलकुमार महतोले बताउनुभयो । नजिकको सीतापुर प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक सुनिलकुमार यादवले घटनाको पुष्टि गर्नुभएको छ । महिलाले लगाएका गहना लुछेपछि हल्लीखल्ली बढेको हुँदा लुटेरा त्यही गहनामात्र लिएर भागेका पीडित परिवारले जनाएको छ । लुटेराले एक तोला सुनका गहना लुछेर लगेका छन् ।
यसअघि सोमबार राती सोही बस्तीमा पाँच घरमा चोरी भएको थियो । बस्तीका रामबाबु कुशवाहा , राजा भनिने गुलाम महतो, देवसुन्दर महतो, शुभनारायण ठाकुर र रामबाबु महतोको घरमा सोमबार मध्यराततिर चोरी भएको थियो ।
चोरले रामबाबु कुशवाहा र रामबाबु महतोको घरबाट गरगहनाको सानो बाकस, बहुमूल्य लत्ताकपडा र धातुका भाँडाकुँडासहित तीन/तीन लाख मूल्यबराबरको धनमाल चोरी भएको पीडितले बताएका छन् । । गुलाम महतो, देवसुन्दर महतो र शुभनारायण ठाकुरको घरमा भने चोर पसलगत्तै घरका मान्छे जागा भएका हुँदा धनमालभने चोरले लान पाएनन् ।
एउटै बस्तीमा दिनदिनैजसो चोरी र लुटपाटका घटना बढेपछि सर्वसाधारणमा त्रास बढेको छ । अब सघन प्रहरी गस्ती बढाइ दिन माग गर्दै स्थानीय बासिन्दाले रात्री पालो पहरा थाल्ने निधो गरिएको सो बस्तीका सामाजिक अगुवा रामईश्वर ठाकुरले बताउनुभयो ।
पछिल्ला केही महिनायता जिल्लाका उत्तरीक्षेत्रमा चोरीका घटना बाक्लिदै गएका छन् । यसअघि एक महिनापहिले बर्दिबासका पाँच÷छ वटा पसलमा चोरीका घटना भएका थिए । भङ्गाहा—४ को यो बस्ती बर्दिबाससँगै जोडिएको छ ।
२०८१ माघ २३, बुधबार २३:०१मा प्रकाशित