![](https://nepalvani.com/wp-content/uploads/2025/02/DSC_0650.jpg)
गोविन्द महतो
जनकपुरधाम, माघ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले राजर्षि जनक विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पसमा प्राध्यापनका लागि लिखित प्रस्ताव पठाएको भएको छ । केही वर्ष अघि मात्र स्थापित बहुप्रतिक्षित राजर्षि जनक विश्वविद्यालयमा प्राध्यापनका लागि सभामुख रामचन्द्र मण्डलले लिखित प्रस्ताव पठाएको हो ।
मण्डलले विश्वविद्यालयको आंगिक क्याम्पसमा संविधान, संघीयता, अधिकार क्षेत्र, संघीयताको विशेषता, आवश्यकता, विश्वमा संघीयताका उदाहरणहरु जस्ता विषयमा प्रवचन दिने भएको प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलले जानकारी दिए । उनले भने, ‘सभामुख ज्यूको पूरानो प्राध्यापन पेशा राजनीतिका कारण छुटेको तथा अहिले राजनीतिबाट राजिनामा दिएर सभामुख पदमा भएपछि समयको सदुपयोग तथा संघीयता बारे फैलिरहेको नाकारात्मक भाष्यलाई चिर्न विशेषतः कानून विषयका विद्यार्थी समक्ष प्राध्यापन गर्न रुचि देखाउनुभएकोले सचिवालयले व्यवस्थापन गर्दैछ ।’
सभामुख रामचन्द्र मण्डलले समेत संघीयता र संघीयताको अभ्यासको पिरियड रहेकोले एकात्मक शासन प्रणालीमा रमाएका केही मनुवाहरुले प्रदेश र संघीयताबारे फैलाईरहेको द्वेषपूर्ण अभिव्यक्तिलाई चिर्न मधेशको जिल्लाहरुको उच्च माध्यमिक स्तरको विद्यालय तथा कलेजमा प्राध्यापन गराउने जमर्को गरेको बताए । सभामुख मण्डलले भने, ‘खास मेरो रुचि अग्रेजीमा हुन्छ, तर अहिलेको आवश्यकतालाई मध्यनजर गरेर विशेषतः संघीयता, संविधानलाई मुलभुत आधार मानेर अतिथि प्राध्यापकको रुपमा प्राध्यापन गराउने सोच छ ।’
प्रदेशसभा व्यवस्थापिका नचलेको समयलाई सदुपयोग गरेर केही आर्जित ज्ञान लिन र दिन तथा ज्ञानलाई अपडेट नगर्दा थिग्रनेमा चिन्तित हुँदै प्राज्ञिक काममा संलग्न हुने रुची प्रकट गरेपछि राजर्षिजनक विश्वविद्यालयका उप–कूलपति डा. अमर प्रसाद यादवले सहर्ष स्विकार गरेका थिए । विश्वविद्यालयको गौरव र संघीयतामा जनताको साझा आशा र गुनासोलाई सभामुख समक्ष विद्यार्थीले राख्न पाउनु अवसरको रुपमा लिएर उप–कूलपतिले प्राध्यापनको प्रस्ताव सहर्ष स्विकार गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।
यस प्रकारको चलन विशेषतः पश्चिमा मुलुकमा रहेको छ । त्यहाँका अवकास प्राप्त सरकार प्रमुख तथा प्रतिष्ठित सरकारी अधिकारीहरु विभिन्न शिक्षण संस्थामा भिजिटिङ प्रोफेसरका रुपमा प्रवचन दिने गर्छन् । यस्तो काममा संलग्न हुने नाममा उनीहरुले अंगालेको राजनीतिक वा अन्य पेशालाई त्याग्नु जरुरी मानिदैन । राजनीतिक जीवनमा आउनु अघि लामा समयसम्म जनकपुरधाम सहित काठमाण्डौं र पहाडि जिल्लामा ईङगलिशका प्राध्यापन गर्दै आएका सभामुख मण्डल अब्बल उत्पादन मानिन्छ ।