![](https://nepalvani.com/wp-content/uploads/2025/02/karmchari-union.jpg)
बर्दिबास, २ फागुन । नेपाल निजामति कर्मचारी युनियन महोत्तरीका नवनिर्वाचित पदाधिकारीले निर्वाचित पदको सपथ लिएका छन् । गत शनिबार (माघ २६ गते) सम्पन्न युनियनको जिल्ला अधिवेसनबाट निर्वाचित पदाधिकारीले आज एक समारोहबीच सपथ लिएका हुन् । नवनिर्वाचित पदाधिकारी, केन्द्रीय र प्रदेश प्रतिनिधिलाई निर्वाचन समितिले सपथ गराएको हो ।
अधिवेशनको निर्वाचन समितिले आयोजना गरेको सपथ तथा विदाइ समारोहमा नवनिर्वाचित अध्यक्ष रञ्जित पाण्डेसहितका १९ सदस्यीय जिल्ला कार्यसमिति , छ जना केन्द्रीय प्रतिनिधि र पाँच जना प्रदेश प्रतिनिधिले सपथ लिएका छन् । निर्वाचन समितिका जितेन्द्रप्रसाद सिंहले पदाधिकारी र प्रतिनिधिको सपथ गराउनु भएको हो । गत शनिबार सम्पन्न युनियनको जिल्ला अधिवेसनले सर्वसम्मत नेतृत्व चयन गरेको थियो ।
कार्यक्रममा यसअघिका जिल्ला अध्यक्ष भरत यादवसहितका पदाधिकारीलाई सम्मानसहित विदाइ गरियो । कार्यक्रमका प्रमुख अतिथि बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले कुलताका साथ कार्यकाल सम्पन्न गरेको भरत यादव नेतृत्वको समितिलाई धन्यवाद दिदै नयाँ पदाधिकारीलाई बधाई ज्ञापन गर्नसँगै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम निर्वाचन समितिका सदस्य जितेन्द्रप्रसाद सिंहको अध्यक्षता र अर्का सदस्य पोषण थापाको सञ्चालनमा सम्पन्न भएको हो ।