oplus_0

गोविन्द महतो
जनकपुरधाम, फाल्गुन ।

मुख्यमन्त्री : बीरेन्द्र जी, कहाँ हुनुहुन्छ ?
बीरेन्द्र : हस्पिटलमा
मुख्यमन्त्री : कुन हस्पिटलमा
बीरेन्द्र :  को बोल्दै हुनुहुन्छ ?
मुख्यमन्त्री : म एम्बुलेन्स ड्राईभर
बीरेन्द्र : के नाम हो तपाईको ?
मुख्यमन्त्री : सरोज
बीरेन्द्र : सरोज, ए …ए …
मुख्यमन्त्री : चिन्नु भएन, ३११२ को एम्बुलेन्स ड्राईभर !
बीरेन्द्र : विरामीलाई कहाँ राख्नुभाछ ?
मुख्यमन्त्री : यही छ, राम्रो पार्टी छ, राम्रो ।
बीरेन्द्र : अहिले कहाँ हुनुहुन्छ ?
मुख्यमन्त्री : बाह्रविघाको छेउँमा छु ।
बीरेन्द्र : हस्पिटलहरुमा छापामारी भैरहेको छ । अर्कोमा लानुस् न !
मुख्यमन्त्री : कुनमा ? तपाई लिन्नु हुन्न भने अर्कोमा लान्छु ।
बीरेन्द्र : गोदाबरीमा लग्नुस् ।
मुख्यमन्त्री : गोदाबरीमा राम्रो दिन्छ ः
बीरेन्द्र : हँ हँ राम्रो दिन्छ ?
मुख्यमन्त्री : कति दिन्छ ?
बीरेन्द्र : म कुरा गरेर भन्छु ।
मुख्यमन्त्री : हुन्छ, कुरा गरेर भन्नुस् न ! तपाईको हस्पिटल चल्दैन ?
बीरेन्द्र : अहिले पुरा बन्द गरिदिएको छ, चेक छ । बन्द गरिदिएको छ ।
मुख्यमन्त्री : चेकवाला गैसक्यो
बीरेन्द्र : हैन, त्यही ठाउँ छ ।
मुख्यमन्त्री : होर ! त्यही ठाउँ छ ? आज दिनभर प्यासेन्ट छैन ।
बीरेन्द्र : छैन, सबै खाली गरिसकेको छ ।
मुख्यमन्त्री : कहिले देखि ?
बीरेन्द्र : १२–१ बजेदेखि सबैलाई डिस्चार्ज गरेर खाली गरिदिएँ ।
मुख्यमन्त्री : ऐह… ऐह… अनि हुँदैन् ।
बीरेन्द्र : हुदैन ।
मुख्यमन्त्री : त्यसो भए अब देखि प्यासेन्ट दिन्न !
बीरेन्द्र : अब दिनु हुन्न भने के भनौं !
मुख्यमन्त्री : अब अहिले आको छु, यस्तो मालदार पार्टी लिएर ! अब दिन्नु हुन्न भने के गरौं म !
बीरेन्द्र  तपाई अर्को हस्पिटलमा जानुस् न !
मुख्यमन्त्री : अहिले तपाई कहाँ हुनुहुन्छ ? भेटनु हुन्न ?
बीरेन्द्र : म मोडेल निरै छु, भेटदैछु ।
मुख्यमन्त्री : ऐ … मोडेर निरै हुनुहुन्छ ।
बीरेन्द्र : ऐ … बुझनु हुन्न पुलिसहरु आछ ।
मुख्यमन्त्री : ऐ .. सब त्यही छ ।
बीरेन्द्र : हो, सब त्यही छ । म रोडबाट निस्केर गल्लीमा यता छु ।
मुख्यमन्त्री : ए.. ल..लल
बीरेन्द्र : यहाँ एम्बुलेन्स लागेको छ, त्यो ?
मुख्यमन्त्री : हो.. हो त्यही
बीरेन्द्र : ए.. ल म बुझदैछु ।
यो संवाद मधेशका मुख्यमन्त्री सतिष कुमार सिंह र जनकपुर मोडेल हस्पिटलका मानिस बीरेन्द्र बीचको कुराकानीको एक अंश हो ।

oplus_0

जनकपुरधाम परिक्रमा सडक भित्रै लहरै असरल्ल परेको अस्पताल छयाप्छयाप्ती छ । अझ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालको लहरै निजी अस्पताल र मेडिकल छन् । अन्य बेला बिरामी तान्न सडकमै बोर्ड तेर्साउने अस्पतालमा अहिले सुनसान छ । ओपीडी सेवा बन्द छ । प्रायः भरिभराउ हुने जनकपुरधामका नीजि अस्पतालको गेट अहिले सुनसान छ । डाक्टर देखिदैनन्, अस्पताल सञ्चालकको भागाभाग छ । तल मुख्य गेटमा ताला लगाएका छन् । जसको मुख्य कारण हो, मधेश प्रदेशको मुख्यन्त्री सतिष कुमार सिंहले वर्षौदेखि छाडा रुपमा अवैद्य नीजि अस्पताललाई कडाई गरेपछि सञ्चालक अस्पतालमा ताला लगाएर भागाभाग भएको छ ।

oplus_2

गत माघ ३ गते देखि जनकपुर १४ स्थित विना दर्ताको मुस्कान हस्पिटलमा सर्लाहीकी पविता कुमारी यादवको पित्तथैलीको अप्रेशन गर्दा २० दिन सम्म पनि होस् नआएपछि मुख्यमन्त्रीले चासो लिएका थिए । अस्पताल र विरामीको स्वास्थ्य बारे चासो लिएका मुख्यमन्त्रीले २५ गते मुस्कान हस्पिटलको अनुगमन गरी दर्ता विना नै अवैद्य रुपमा सञ्चालन गरेको भेटिएपछि ताला लगाउन निर्देशन दिएको थियो ।

सोही अनुगमनले तिव्रता पाएपछि ४० वटा नीजि अस्पताल अनुगमन गरेको मुख्यमन्त्रीले अवैद्य रहेका ९ वटा अस्पताललाई पूर्ण रुपमा बन्द गराएका छन् । बन्द हुनेहरुमा मुस्कान हस्पिटल प्रालि, बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर, जनकपुर सिता हस्पिटल, अरमान हस्पिटल, जनकपुर मोडर्न हस्पिटल, जनकपुर मोडेर हस्पिटल, जनकपुर गोदावरी हस्पिटल, कृष्णा हस्पिटल प्रालि. जनक मेमोरियल हस्पिटललाई बन्द गराईएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पूरा नगरी जनकपुरमा खोलिएका निजी अस्पताललाई बन्द गर्न मुख्यमन्त्री सिंहले लगातार दबाब बढाएका छन् । मुख्यमन्त्री सिंह, मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद सिंह, स्वास्थ्य मन्त्रालयका अधिकारी र सुरक्षा अधिकारीको लगातारको निरीक्षणमा मुख्यमन्त्री सिंहले स्वीकृति प्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको अन्नपूर्णसंगको कुराकानीमा बताए । उनले भने, ‘अस्पतालको स्वीकृत छैन, मनपरी अस्पताल सञ्चालन गरेको छ,’ ‘स्वीकृति लिनुस्, अस्पताल राम्रोसँग चलाउनुस । होइन भने बन्द गर्नुस् ।’

दर्ता विना निर्वाध सञ्चालनमा


जनकपुरधाम उप–महानगरपालिकाले हालै गरेको एउटा अध्ययनले यहाँका दर्जनौं निजी अस्पतालहरु वर्षौदेखि दर्ताविनै संचालनमा रहेको भेटिएको छ । जनकपुरमा मात्रै करिब ६० वटा निजी अस्पताल छन् । तीमध्ये करिब ७५ प्रतिशत अस्पताल दर्तावनै सञ्चालनमा रहेको पाइएको हो ।

जनकपुर उपमहानगर पालिकाले हालै निजी अस्पताल सहित स्वास्थ्य संस्थाहरुको तथ्यांक संकलन गरेको थियो । तीमध्ये ८ वटा निजी अस्पताल दर्ता नै नभई संचालन भएको उल्लेख छ । तर, यसमा पनि कतिपय अस्पतालले झुठो विवरण टिपाएका र कतिपयको विवरण नै समावेश भएको छैन । यसरी हेर्दा करिब ७५ प्रतिशत अस्पताल कुनै न कुनै हिसाबले प्रक्रिया पुरा नगरी वर्षौ देखि निर्वाधा रुपमा संलनमा रहेको भेटिएको छ ।

दर्ता विनै संचालनमा रहेको एउटा अस्पताल तराई राजधानी हस्पिटल हो । यो जनकपुरको रामानन्दचोकको प्रवेशद्वारको सय मिटर दक्षिण पश्चिम छेउमा चार वर्षदेखि संचालनमा छ । उप–महानगरपालिका–८ मा पर्ने यो हस्पिटलमा यसअघि पटकपटक लापरबाही भएको विवरणहरु सार्वजनिक भएका थिए । तर, पनि हस्पिटललाई हालसम्म कुनै निकायबाट कारबाही भएको छैन ।

यस्तै रामानन्द चोकमै दर्ता बिनै चलिरहेको अर्को अस्पताल हो, जनक मेमोरियल हस्पिटल प्रा.लि. । खानेपानी कार्यालयको उत्तरी छेउमा रहेको यो हस्पिटल वर्षौदेखि संचालनमा छ । स्थानीय रामानन्द चोकभन्दा केही भित्र दर्ता विनै अरमान हस्पिटल प्रालि र सहयोग हस्पिटल प्रालि पनि सञ्चालनमा छन् ।

त्यस्तै बाह्रविघा मैदानको पश्चिमतर्फ अमृत श्री हस्पिटल प्रालि सञ्चालनमा छ । त्यो पनि संचालनका लागि स्वीकृति नलिएको उप–महानगरपालिकाको अध्ययनले देखाएको छ । यस्तै तथ्यांकमा दर्ता नरहेको अरु पनि अस्पतालहरु छन् । माँ वौधी हस्पिटल प्रालि, शुभ ओम हस्पिटल प्रालि, लाइफ केयर अस्पताल जस्ता अस्पतालको प्रक्रिया नपुग्दै सञ्चालनमा छ ।
निजी अस्पताललाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्न नसक्दा पनि मनोमानी स्वीकृति दिने क्रम जारी छ । जनकपुरधाम उप–महानगरपालिकाका उपमेयर किशोरी साहले समन्वयको अभाव रहेको स्वीकार गर्दै समस्या भएको बताए ।

छैन सरकार बीच समन्वयन

स्थानीय तह स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धि निर्देशिका २०७४ मा २५ बेडसम्मको जनरल अस्पताल स्थानीय पालिकामा दर्ता तथा नवीकरण हुने उल्लेख छ । २५ बेडभन्दा माथि तथा विशिष्टिकृत अस्पताल दर्ताका लागि सम्बन्धित पालिकाको कार्यपालिकाको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी प्रावधान छ ।
संघीयता आएपछि यो ६ वर्षमा तीनै तहको सरकारसंग कति बेडको कति हस्पिटल जनकपुरधाममा छन्, कति कहाँ दर्ता भएका छन् भन्ने तथ्यांक छैन । त्यसैले बेलाबेला अस्पतालमा चरम लापरबाहीका घटना सार्वजनिक हुँदा तिनको दर्ता र स्वीकृतिको विवाद वाहिर आउने गरेको छ ।

निजी अस्पताललाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्न नसक्दा पनि मनोमानी स्वीकृति दिने क्रम जारी छ । जनकपुरधाम उप–महानगरपालिकाका उपमेयर किशोरी साहले समन्वयको अभाव रहेको स्वीकार गरे । ‘समन्वयको अभाव छ । हामी प्रदेश र केन्द्रसंग पनि समन्वय गरेर अस्पतालहरुलाई व्यवस्थित गर्ने प्रयासमा छौं,’ उनी भन्छन् ।

 

२०८१ फाल्गुन ६, मंगलवार १०:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय