
गाेपाल बराल,
बर्दिबास (महाेत्तरी), ८ फागुन ।
यसपालिको ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बर्दिबास नगरक्षेत्रका विद्यालयका छात्रछात्राको मुटु परीक्षण भएको छ ।
रोटरी क्लव अफ बर्दिबासले नेपाल हृदय रोग निवारण प्रतिष्ठान महोत्तरीको सहकार्यमा बिहीबार नगरका ११ विद्यालयमा आयोजना गरेको मुटु जााच शिबिरमा पाँच हजार ६७८ छात्रछात्राको मुटु परीक्षण गरिएको हो । शिबिरमा मुलुककै वरिष्ठ हृदयरोग विशेषज्ञ डा. अवनीभूषण उपाध्याय, डा. प्रेमराज वैद्य र डा. प्रकाशराज रेग्मीसहितको १५ सदस्यीय चिकित्सकटोलीले मुटु जाँच गरेको हो ।
विद्यालयकेन्द्रित शिबिर चकाचौध सहरी रमझमको मुख्य बर्दिबासचोकस्थित र विकट चुरेकाछका सडक यातायात , स्वास्थ्य र मानवोचित सेवा तथा अवसरबाट वञ्चित रहँदै आएको झ्याउरेभाङ्ग्रेस्थित विद्यालयसम्म शिबिर सञ्चालन भएको छ । “हामीले बर्दिबास नगरक्षेत्रका ११ विद्यालयमा मुटु रोग विशेषज्ञ चिकित्सक टोली पुर्याएर पाँच हजार ६७८ छात्रछात्राको मुटु परीक्षण गर्यौं” आयोजक संस्था रोटरी क्लव अफ बर्दिबासका अध्यक्ष विष्णुराज पुरीले भन्नुभयो, “यस क्रममा अति विकट बस्ती झ्याउरेभाङ्ग्रे र छोड्केका विद्यालय पनि पुग्यौं ।” झ्याउरेभाङ्रे बर्दिबास–१० र छोड्के वडानम्बर पाँचमा पर्ने अति विकट बस्ती हुन् । यी दुबै बस्तीमा सडक यातायात पुगेको छैन । हिउँदभरि खोलाको बाटोहुँदै पुगिने यी ठाउँ वर्षाभरि बाहिरी आउजाउ पूर्ण रुपले बन्द रहन्छ ।
बर्दिबास नगरका अति व्यस्त सहरीक्षेत्र र विकट बस्तीका विद्यालयमा गरिएको मुटु परीक्षणमा सकारात्मक नतिजाभने विकट बस्तीकै आएको छ । विकटताले अवसर नपाएपनि धुलो, धुँवा र गञ्जागोल हल्लीखल्ली नहुने विकट बस्तीका छात्रछात्रामा हेर्दै गरिबी झल्किए पनि सहरका भन्दा उनीहरुको मुटुको अवस्था स्वस्थ्य पाइएको डा. अवनीभूषण उपाध्यायले बताउनुभयो ।
यसपालिको प्रजातन्त्र दिवसमा रोटरी क्लवले स्वास्थ्य जाँचका कार्यक्रमलाई प्राथमिकता दिएको छ । यसपालिको तीन दिने प्रजातन्त्र दिवस (फागुन ६, ७ र ८) को कार्यक्रममा मङ्गलबार र बुधबार रोटरीले बर्दिबास–५ का दुर्गम बस्तीमा आँखा जाँच शिबिर सम्पन्न गरेको थियो । यसैगरी पहिलो दिन सोमबार साइकलयात्रा कार्यक्रम आयोजना गरिएको थियो । बर्दिबासको १५ किलोमीटर वृतमा गरिएको साइकल यात्रामा रोटरी र जिल्ला ट्रफिक प्रहरी कार्यालयले कार्यक्रमको संयोजन गरेका हुन् । प्रजातन्त्र दिवसमा आयोजना गरिएका यी कार्यक्रम रचनात्मक र सिर्जनात्मक भएका यहाँका बुद्धिजीवीको प्रतिकृया छ । भाषणभूषणभन्दा यस्ता कार्यक्रमले जनतालाई लोकतन्त्रको अनुभूति हुने बर्दिबास जनता बहुमुखी क्याम्पस बर्दिबास–१४ का प्राचार्य चेतबहादुर खड्काले बताउनुभयो ।