
बर्दिबास ११ फागुन ।
आम नागरिकको स्वास्थ्य जाँच र उपचार सेवा विस्तार गर्न बर्दिबास अस्पतालले बिहानी ओपिडी सेवा दिन थालेको छ । सेवाग्राहीको समय अनुकूल बनाउन अस्पतालले आज आइतबारदेखि बिहानी ओपिडी सेवा सञ्चालनमा ल्याएको हो । जेष्ठ नागरिक, असहाय गरिब, सिमान्तकृत समुदाय र लाई लक्षित गरी बिहानी सेवा प्रारम्भ गरिएको अस्पतालले जनाएको छ ।
“हामीले सामाजिक सुरक्षा कोषबाट सेवा लिनेलाई लक्षित गरी बिहानी ओपिडी सेवा सुरु गरेका छौं” अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदीप ठाकुर भन्नुहुन्छ, “यद्यपि अस्पताल आएका अन्यलाई पनि हामी यो सेवा प्रवाह गछौं ।” खासमा कार्यालय समयमा सञ्चालन रहँदै आएको ओपिडी सेवालाई अझ फराकिलो बनाउन बिहानी सेवा थालिएको उहाँको भनाइ छ ।

अहिले जाडो याम सकिएर गर्मी बढ्नैलाग्दा मौसमको परिवर्तनले बिरामी निक्कै बढेपछि यसलाईसमेत मध्यनजर गरिदै बिहानी सेवा थप गरिएको अस्पतालले जनाएको छ । बिहान आठ बजेदेखि १० बजेसम्मको थप दुई घण्टा ओपिडी सेवा थपिदा बिरामीको घीड कम हुने, जाँच परीक्षणमा हतार नहुने र अन्य ठाउँमा काम गर्न जानु पर्नेहरुको समय व्यवस्थापनमा पनि सहयोग पुग्ने डा. ठाकुर बताउनुहुन्छ ।
“हाम्रो अस्पतालको मापदण्डअनुसार तीन शया हुने हो, तर हामीले अहिले १० वटा सञ्चालनमा राखेका छौं” डा. ठाकुर भन्नुहुन्छ, “अचेल फागुन लागेसँगै बिरामीको चाप निक्कै बढेको छ, झण्डै २०० को हाराहारी दैनिक उपचार सेवाका लागि आउँदैछन् , बिरामीको समुचित वास्ताका लागि पनि समय थप्नै पर्ने भएको हो ।” अहिले मौसम परिवर्तनका कारण उपचार लिन आउने बिरामीमा श्वाँसप्रश्वाँस , रुघाखोकी र हाडजोर्नीसम्बन्धी समस्याका रहने गरेका डा. ठाकुरले जानकारी दिनुभयो ।
अस्पतालले बिहानैदेखि ओपिडी सेवा सञ्चालन गरेपछि उपचार सेवा सहज हुने सर्वसाधारणले आस सँगालेका छन् । “अब त बिहानैदेखि सबै उपचार पाइने भएछ, भोको पेट जाँच्नु पर्नेहरुलाई त झन सुविस्ता हुनेभयो” अस्पताल नजिककै ७० वर्षीय भानुभक्त काफ्ले भन्नुहुन्छ, “अब भीड र चेपाचेपमा परिन्न होला ।”
बिहानी ओपिडी सेवा प्रारम्भ समारोहमा बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले यो सेवामा जारी फागुनभरि शुल्करहित उपचार सेवा दिइने घोषणा गर्नुभयो । “हामीले नगरसभाबाटै जनताको स्वास्थ्य उपचार पाउने कुरालाई पहिलो प्राथमिकतामा राखेका छौं, अस्पतालका सुविधा क्रमशः विस्तार हुँदै जानेछन्” नगर नेतृत्व उपलब्ध साधन स्रोतलाई अत्यधिक परिचालित गरी सुविधा सम्पन्न अस्प्ताल व्यवस्थापन गर्ने कुरामा प्रतिबद्ध छ ।”
बर्दिबास अस्पतालबाट जिल्लाका बर्दिबास, भङ्गाहा, औरही र गौशाला नगरक्षेत्र, तीनतिर फरकफरक जिल्ला सीमा जोडिएका हुँदा छिमेकको धनुषाको मिथिला , सर्लाहीको ईश्वरपुर र सिन्धुलीका कमलामाई र दुधौली नगरक्षेत्रका बिरामी यहाँ बाक्लै उपचार सेवा लिन आइरहेका अस्पताल प्रशासनले जनाएको छ ।

२०८१ फाल्गुन ११, आईतवार २०:५९मा प्रकाशित