
नेपालावाणी नेटवर्क
जनकपुरधाम, फाल्गुन ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. विनोद कुमार यादवले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवामा मधेश प्रदेशकै अब्बल संस्थाको रुपमा खरो उत्रिएको बताएका छन् । उनले स्वास्थ्य र शिक्षा सम्बन्धि अनुसन्धानका क्षेत्रमा प्रदेश तथा सिंगो देशमा स्थापनाको छोटो समयमै उदयमान हुँदै प्रदेशको मात्र नभई देशकै उत्कृष्ठ शिक्षा र स्वास्थ्य सेवाको हब बनाउन लागि परेको बताएका हुन् ।
चिकित्सा शिक्षा, स्तरीय स्वास्थ्य सेवा र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी प्रदेशमै औपचारिक रुपमा स्थापना भएको प्रतिष्ठानले स्थापनको चौथो बसन्त पुरा गर्दै शिक्षा र स्वास्थ्यको हवको रुपमा स्थापित भएको बताए । प्रा.डा. यादवले भने, ‘स्नातक तहमा पाँच र स्नातकोत्तर तहमा चौध विधामा शैक्षिक कार्यक्रम संचालन गरी एउटा मेडिकल कलेजको पूर्णता पाउनु ज्यादै नै उत्साहजनक सफलता हो । यसलाई निरन्तरता दिनु र उत्कृष्ठ शिक्षा र स्वास्थ्यको सेवा प्रवाह गर्नु नै हाम्रो मूल ध्येय हो ।’
प्रदेशको स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विज्ञान सम्बन्धी अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले अग्रणी भूमिका निर्वाह गर्दै आएको र भविष्यमा यसलाई अक्षुण राखी चिकित्सा शिक्षाका थप कार्यक्रमहरु, सरल र सहज रुपमा प्रदान हुनेमा डा. यादवको जोड थियो ।
उनले विशिष्टीकृत स्वास्थ्य सेवा प्रवाह तथा अनुसन्धानका क्षेत्रमा अग्रस्थान हासिल गर्न अहोरात्र खटिरहेको र आगामी दिन देशमै उत्कृष्ठ बनाउने रजिष्ट्रार यादवको भनाई थियो ।