
बर्दिबास (महोत्तरी) , २६ फागुन ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले सिर्जनात्मक सिकाइ शिक्षा समाज रुपान्तरणमा सहयोगी हुने बताउनु भएको छ । आइतबार महोत्तरीको बर्दिबासमा प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री तिवारीले शिक्षाप्रति जिज्ञासु बनाउने शिक्षण विधि अवलम्बनले विद्यार्थीमा सिकाइ अभिरुची बढाउने उल्लेख गर्नुभयो ।
समारोहमा उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गर्दै उहाँले साथीहरुबीच नै स्वस्थ्य र सकारात्मक प्रतिष्पर्धा जगाउन हस्तलेखन प्रतियोगिता सहयोगी हुने विचार व्यक्त गर्नुभयो । प्रदेश सरकार शिक्षामा आम जनताका छोराछोरीको पहुँच बढाउन यस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रममा सहयोगी हुने प्रतिबद्धता तिवारीले जनाउनुभयो ।
गत मङ्सिरको पहिलो साता मधेश प्रदेशका आधारभूत र माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयमा तीन समूहमा आन्तरिक प्रतिष्पर्धाबाट छनौट हुँदै आएर प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न भएको हो । शिक्षातर्फका विभिन्न कार्यक्रम गर्दै आएको कनेक्ट एजुकेसन सेन्टर काठमाण्डौले प्रतियोगिता आयोजना गरेको हो । तीन समूहमा गराइएको प्रतियोगितामा कक्षा– २, ३ र ४ को ‘क’ , कक्षा–५, ६ र ७ को ‘ख’ र कक्षा–८, ९ र १० को ‘ग’ समूह गरी प्रत्येक समूहभित्र प्रतिष्पर्धा गराइएको आयोजक संस्थाका प्रबन्ध निर्देशक विक्रमसिंह धामीले जानकारी दिनुभयो ।
प्रतियोगितामा समूहपिच्छे प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २०, १० र पाँचहजार नगद तथा पदक प्रदान गरिएको छ । तीनै समूहमा गरी नौ जना छात्रछात्रा हस्तलेखन प्रतियोगितामा उत्कृष्टता देखाउँदै क्रमशः प्रथम, द्वितीय र तिृतीय पुरस्कारले पुरस्कृत भएका छन् । यिमध्ये समूह ‘क’ बाट महोत्तरीकी कक्षा तीनकी छात्रा रिया बम्जन, समूह ‘ख’ बाट पर्साका कक्षा–७ का छात्र नितेश गौरे र समूह ‘ग’ बाट बाराकी कक्षा १० की छात्रा पायल रौनियारले प्रथम स्थान प्राप्त गर्नु भएको आयोजक संस्थाका कार्यक्रम संयोजक देवेन्द्र आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिताको समापन समारोहमा मधेश प्रदेशसभा सदस्य शारदा थापाले पढाइलेखाइमा राम्रो गर्न असल र मेहनती साथीसँगको सङ्गत गर्न र त्यस्ता साथीभन्दा राम्रो गर्छु भन्ने भावना जगाउन छात्रछात्रालाई अपिल गर्नुभयो ।
प्रतियोगिता विद्यालय, सम्बन्धित स्थानीयतह र जिल्लातहको छनौट चरण पार गर्दै अन्तिम चरणमा आएको हो । गत मङ्सिर पहिलो साता सुरु गरिएको प्रतियोगिता विभिन्न चरण पार गर्दै अन्तिम चरणमा आइपुग्न झण्डै चार महिना लागेको आयोजकले जनाएका छन् । यस कार्यमा विद्यालय, सम्बन्धित स्थानीयतहको शिक्षा शाखा, जिल्लास्थित शिक्षा विकास समन्वय इकाई कार्यालय र प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयबाट समन्वयात्मक सहयोग र हौसला पाएको आयोजकले जनाएका छन् ।
पारम्भिक अर्थात् पहिलो चरणमा एक हजार बढी छात्रछात्रा सहभागी भएको प्रतियोगितामा अन्तिम चरणमा आइपुग्दा १७८ सहभागी रहेका थिए । आफूहरुले मुलुकका सातवटै प्रदेशमा यो प्रतियोगिता सम्पन्न गरी राष्ट्रिय स्तरको आयोजना गर्ने तालिका बनाइएको संस्थाका प्रबन्ध निर्देशक धामीले समापन कार्यक्रममा जानकारी दिनुभयो ।