
अनिल कुमार साह
जनकपुरधाम, चैत्त ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संविधान संशोधनका लागि गृहकार्य भइरहेको बताएका छन् । उनले भने, ‘हामी संविधान संशोधन उपयुक्त समयमा गर्नेछौं । यसका लागि हामी आन्तरिक गृहकार्य गरिरहेका छौं र यसका लागि एक विशेष समिति पनि गठन गर्नेछौं ।’ समिति गठन गरी हामीले संविधानमा कस्तो संशोधन गर्नुपर्छ भन्ने खाका ल्याउनेछौं र त्यसपछि अन्य राजनीतिक दललाई पनि यसमा समेटेर आवश्यक परिवर्तन गर्ने प्रक्रिया अघि बढाउनेछौं,’ उनले भने ।
उनले संविधान संशोधनलाई कुनै पनि प्रकारको अराजकता र असमझदारीको रुपमा लिने नभई एक सुव्यवस्थित र समान विचार सहित अघि बढ्ने निर्णय गरिएको बताए । उनले संविधान संशोधनलाई ‘पेन्डोराको बाकस खोल्न जस्तो’ नभएको बताउँदै भने, ‘यो उत्पाद हुने कुरा होइन । हामीले अघिल्लो दुईपटक संविधान संशोधन गरेका छौं । संविधान जारी गर्दा केही असन्तुष्टि थियो । तर, हामीले यसको समाधान गर्ने प्रयास गरेका छौं ।’
उनले पहिलो संविधान संशोधनमा केही व्यक्तिहरुको असन्तुष्टि रहेको र दोश्रोपटक भने संसद सर्वसम्मत र एकजुट भइ संशोधन गरेको स्मरण गराए । प्रधानमन्त्री ओलीले संविधान संशोधनलाई प्रतिगमनको निम्ति ढोका खोल्ने प्रयास नगर्ने प्रतिबद्धता जनाए । ‘संविधान संशोधन कुनै प्रतिगमनका लागि होइन, यो प्रक्रिया लोकतान्त्रिक प्रणालीलाई अझ सशक्त बनाउने र जनतालाई अधिक अधिकार दिने उद्देश्यले अघि बढाइएको हो ।’
उनले भने, ‘अहिलेका केही प्रतिगामी सोच भएका शक्तिहरु राजतन्त्र पुनः स्थापना गर्ने विचारमा छन् । यसको हामी कडा विरोध गर्छौं ।’ प्रधानमन्त्री ओलीले राजतन्त्रको आलोचना गर्दै भने, ‘अहिलेको नयाँ पुस्ताले राजतन्त्रको यथार्थ अनुभव गरेको छैन । राजतन्त्र भनेको सामन्ती प्रणाली हो । जसमा केही व्यक्तिहरु राजा जन्मिन्छन् र अरु जनताका रुपमा रहने हुन्छन् । यो अहिलेको नागरिकले स्वीकार गर्दैनन् ।’