भूमिका उपाध्याय,
बर्दिबास २९ वैशाख ।  महोत्तरीको बर्दिबासमा अत्याधुनिक सार्वजनिक सभा भवन निर्माण थालिएको छ । बर्दिबास सेवा समितिको बहुउपयोगी भवनमै आज सोमबार बुद्ध जयन्तिको अवसर पारेर सार्वजनिक सभा भवन निर्माणको काम थालिएको हो । सभा भवनको आज एक समारोहबीच बर्दिबासका नगरप्रमुख प्रहलादकुमार क्षत्री, उपप्रमुख तारादेवी महतो र बर्दिबास सेवा समितिका अध्यक्ष हिरालाल गौतमले वैदिक मन्त्रोच्चारणबीच शिलान्यास गर्नुभयो ।

महोत्तरीसहितका मधेशमै सार्वजनिक प्रयोगका सभा भवन कम रहेका हुँदा त्यसको अभाव अब पूर्ति हुने अपेक्षा गरिएको छ । कूल एक करोड ५० लाख लागत अनुमान गरिएको सभा भवन निर्माणमा बर्दिबास नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ३० लाख उपलब्ध गराएको छ । “चालु आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले ३० लाख र स्थानीय सहयोगबाट पाँच लाख ३३ हजार ४४१ रकम जुटेको छ” सेवा समितिका अध्यक्ष गौतमले भन्नुभयो, “आउने वर्ष नगरपालिकाले थप रकम विनियोजन गरिने प्रतिबद्धता जनाएको छ, अब अत्याधुनिक सभा भवन बन्छ ।”

सभासम्मेलन , माङ्गलिक कार्य र सार्वजनिक उत्सवका लागि सार्वजनिक ठाउँ नभएका बेला सभा भवन निर्माणको थालनीले यसको अभाव टर्ने आस जागेको बर्दिबासबासीको प्रतिकृया छ । निर्माण थालिएको सभा भवनले मधेशका विभिन्न कार्यक्रम आयोजना गर्न सहज हुने नगरप्रमुख क्षत्रीले बताउनुभयो ।

”मधेशमा यस प्रकृतिका सभा भवन निकै कम छन् , यहाँ बन्ने यो भवनले यहाँ –मधेश) का आठै जिल्लालाई सहज हुनेछ” क्षत्रीले भन्नुभयो, “सभा भवन निर्माणमा रकम अभाव हुन नदिने गरी काम थालिएको छ, यो बन्छ ।”

करिब तीन कठ्ठा क्षेत्रफलभित्र निर्माण थालिएको सभाभवन वरिपरि फराकिलो पटाङ्गिनी रहेको हुँदा यहाँ विवाह, व्रतबन्धसहितका माङ्गलिक कार्यक्रम आयोजना हुनसक्ने समितिले जनाएको छ । सभाभवनमा मञ्चबाहेक ३२५ कुर्सी राखिने भवन निर्माण समितिका अध्यक्ष केदार शर्माले जानकारी दिनुभयो । सभा भवन २०८२ भित्रै सञ्चालनमा आइसक्ने समितिको प्रतिबद्धता छ ।


२०८२ बैशाख २९, सोमबार २२:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय