
गोपाल बराल,
महोत्तरी, ११ जेठ ।
आर्थिक अभाव र सुरक्षाको कारणले उच्च शिक्षा लिन नपाएका महोत्तरीको मध्य उत्तरवर्ती भङ्गाहा नगरक्षेत्रका छोरीबुहारीलाई आफ्नै ठाउँमा भर्खरै सञ्चालन भएको स्नातक क्याम्पस वरदान भएको छ । कक्षा ११ र १२ सकेपछि नजिकमा क्याम्पस नहुँदा उच्च शिक्षा लिन नपाएका यहाँका छोरीबुहारीलाई भङ्गाहा–५ मा यसै जेठको पहिलो साता सञ्चालनमा आएको सिद्धनाथ क्याम्पस वरदान बनेको हो । पाँच/सात वर्ष पहिले नै ११/१२ सकेर नजिकमा क्याम्पस नहुँदा पढाइ रोकिएका छोरीबुहारी अहिले धमाधम यहाँ भर्ना हुँदैछन् ।
“पढ्न मन छँदाछँदै नजिकमा कलेज नहुँदा उच्च शिक्षाको रहर मार्नु परेको थियो, अब भने घरकै सातुपिठो खाएर पढ्न पाइने भयो” सिद्धनाथ क्याम्पस सञ्चालनमा आएपछि नामाङ्न गराएकी भङ्गाहा–५ की विभा कापरले भन्नुभयो, “अबभने मेरो रहर पूरा हुनेभयो ।” छ वर्षअघि ११ र १२ कक्षाको पढाइ सकेकी विभाले नजिकमा स्नातक क्याम्पस नभएकैले उच्च शिक्षाको रहर पूरा गर्न पाउनु भएको थिएन ।
“एक त घरको आर्थिक अवस्था पनि बाहिर गएर पढ्न सक्ने थिएन, फेरि हाम्रोयता छोरी बाहिर पढ्न पठाउन अभिभावक सुरक्षा चुनौति मान्छन्” विभाले भन्नुभयो, “अब आफ्नै ठाउँमा क्याम्पस सञ्चालन भयो, चार वर्षमा त स्नातक पार लगाइ हालिन्छ ।” विभाले अब स्नातक पढ्ने अठोट व्यक्त गर्नुभयो ।
विभाजस्तै भङ्गाहा–३ की ममताकुमारी चौधरी थारुले ११ र १२ कक्षा सकेको पाँच वर्षपछि यसपालि स्नातक तहको अध्ययनका लागि नामाङ्कन गर्नुभयो । यसरी ११ र १२ को अध्ययन चार/पाँच वर्ष पहिले नै सकेर नजिकमा स्नातक क्याम्पस नहुँदा उच्च शिक्षाको रहर मारेका अमृता चौधरी, जेसिका भुजेल, गुड्डुकुमारी चौधरी, मञ्जु साह र निशा महतोलाई पनि अहिले उच्च शिक्षाको रहर पूरा गर्ने अवसर जुटेको छ । छोरीबुहारीमात्र नभएर आर्थिक अभावले बाहिर पढ्न जान नसकेका गरिब परिवारका छोराले पनि पढ्ने अवसर पाएका छन् । चिरञ्जनकुमार यादवले ११/१२ उत्तीर्ण गरेको १२ वर्षपछि यसपालि आफ्नै बस्तीमा सञ्चालित सिद्धनाथ क्याम्पसमा स्नातक तहमा भर्ना लिनुभएको छ । यो क्याम्पस सञ्चालनले पढ्ने रहर पालेका न्यून आय हुने परिवारलाई राहत भएको छ ।
क्याम्पसमा भङ्गाहा नगरक्षेत्रका अतिरिक्त बर्दिबास–७, ९ र धनुषाको वटेश्वर गाउँपालिकाका भूचक्रपुर, राजसखुवा, राजपुर , खोरिया सीतापुरका बासिन्दाका लागि निकै सहज भएको छ । यी बस्ती क्याम्पससँगै जोडिएका बस्ती हुन् ।
”अब पढ्न पाउँला भन्ने आस मारेकी थिएँ” आठ वर्षअघि ११/१२ सकेर गृहस्थीमा पसेकी बर्दिबास–७ की शैल पासवान भन्नुहुन्छ, “घर नजिकै क्याम्पस सञ्चालन भएपछि अब पढ्ने अठोट गरे ।” शैलले भर्ना लिइसकेको बताउनुभयो । अहिले छोरीबुहारीमात्र नभएर यसअघि खर्च अभावले बाहिर पढ्न जान नसकेका विपन्न परिवारका छोराले पनि पढ्ने अवसर पाउका छन् । स्नातक पढ्ने रहर हुँदाहुदै गरिबीले पढाइ अल्झेको बताउने चिरञ्जन यादवले पनि अहिले सनातक तहमा भर्ना लिनुभएको छ । यो क्याम्पस सञ्चालनमा आएपछि नगरक्षेत्र र छिमेकका बस्तीका गरिब परिवारका छोराछोरीलाई उच्च शिक्षा पढ्न सहज भएको छ । भङ्गाहामा सिद्धनाथ क्याम्पस यसै जेठको पहिलो सातामा उद्घाटन गरिएसँगै दिनदिनै अहिले नामाङ्कन गर्ने लहर चलेको क्याम्पस प्रमुख राजेन्द्र यादवले बताउनुभयो ।
“क्याम्पस उद्घाटन भएर सञ्चालनमा आएको आठ/नौ दिन त भएको छ , पढ्न चाहनेले धमाधम नामाङ्कन गराइ रहेका छन्” यादवले भन्नुभयो, “अहिलेसम्म ४० जनाले नामाङ्कन गराइ सकेका छन् ।”
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित क्याम्पसमा भर्ना लिनेहरुमा छात्रभन्दा छात्रा बढी छन् । अहिलेसम्म २५ छात्रा र १५ छात्र रहेका क्याम्पस प्रशासनले जनाएको छ । शिक्षाकै प्रसार र अवसर बढाउन नगरपालिका नेतृत्वले नै पहलकदमी लिएर यहाँको प्रसिद्ध धार्मिकस्थल सिद्धनाथ महादेव मन्दिरको नाउँमा ‘सिद्धनाथ क्याम्पस’ स्थापना र सञ्चालन गराएको हो । क्याम्पसमा हाल शिक्षा सङ्कायमा अङ्ग्रेजी, नेपाली र स्वास्थ्य विषयको पठनपाठन सुरु गरिएको क्याम्पस प्रमुख राजेन्द्र यादवले जानकारी दिनुभयो । आउने वर्षमा शिक्षा सङ्कायकै थप विषय र वाणिज्य सङ्कायको स्वीकृतिको पहलकदमी अहिलेदेखि नै लिइएको क्याम्पस प्रमुख यादवको भनाइ छ ।
नौ वटा वडामा विभाजन रहेको भङ्गाहा नगरक्षेत्रमा ४० भन्दा बढी बस्ती छन् । यहाँको जनसङ्ख्या २०७८ को राष्ट्रिय जनगणनाअनुसार ५५ हजार ३५४ छ । यद्यपि यो सङ्ख्या पछिल्ला चार वर्षभित्र ६० हजारको हाराहारीमा पुगेको नगरप्रमुख सञ्जिवकुमार साह बताउनुहुन्छ । नगरक्षेत्रमा ३० सामुदायिक विद्यालय छन् । जसमध्ये माध्यमिक विद्यालयको सङ्ख्या यसपालि नौ पुगेको साहले जानकारी दिनुभयो । तर ११/१२ को पठनपाठन हुने एकमात्र मावि छ ।
नगरक्षेत्रमा पहिलो क्याम्पस सञ्चालनमा आएसँगै निकै पहिले १२ कक्षा वा पहिलेको प्रविणता प्रमाणपत्रतह उत्तीर्ण गरेर घर थन्किएका हरुले धमाधम स्नातक तहमा भर्ना लिएका छन् । यिनमा छोरीबुहारीको सङ्ख्या उल्लेख्य रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
थारु, दनुवार, बाँतर, मुसहर, कापर, चमार, धानुक र मुस्लिमसहितका जाति समुदायको सघन बसोबास रहेको भङ्गाहा नगरपालिका क्षेत्रमा क्याम्पस स्थापना र सञ्चालनले आम सर्वसाधारण पनि खुसी देखिएका छन् । “हाम्रो ठाउँमा पनि कलेज खुलेछ, अब पढ्न मन गरे नातिनातिनाले घरको सुतोपिठो खाएर दुःखजिलो पढ्न सक्छन्” भङ्गाहा–४ पलार बस्तीका ८० वर्षीय चौठी बाँतर भन्नुहुन्छ, “यो कलेजले छोरीबुहारीलाई सजिलो भएको छ ।” आफूहरुले पढ्न नपाएपनि अबको पुस्ताले पढ्नुपर्छ भन्ने कुरा थाहा पाएको बाँतर बताउनुहुन्छ ।
हुनेखानेले छोराछोरी सहरबजार पुर्याएर पढाएपनि यहाँका गरिब बस्तीका थारु, दनुवार, बाँतर, मुसहर , कापर, धानुक र मुस्लिमसहितका जाति समुदायका आम सर्वसाधारणका छोराछोरीले उच्च शिक्षा पढ्न पाएका छैनन् । बाँतर र मुसहर त शैक्षिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपमै खास अवसरबाट वञ्चित जाति समुदाय हुन् । गरिबीले आफ्ना सन्तान पढाउन नसकेको बताउने भङ्गाहा–४ रामनगरको दलित बस्तीका जुगल सदा मुसहर अबभने पढ्न रहर हुनेलाई निकै सहज भएको बताउनुहुन्छ ।
नगरपालिका भनिएपनि विकासका अवसरबाट निकै पछि रहेको भङ्गाहा नगरपालिकाका नौ वडाका ४० बस्ती सबै नै ग्रामीण परिवेशका छन् । “खै केही विकास पूर्वाधारबेगर नै यो ठाउँ नगरपालिका घोषणा गरिएछ, यहाँ त सबै गाउँ नै छन्” स्थानीय परिवेश खुट्याउँदै भङ्गाहा–५ सीतापुरका ६२ वर्षीय अमरबहादुर भुजेल भन्नुहुन्छ, “यत्रो ठूलो क्षेत्रमा भर्खर पहिलो कलेज खुलेको छ ।” अब आधारभूत तहका जनताका छोराछोरीका लागि उच्च शिक्षा अलि सहज बन्ने भुजेलको विश्वास छ ।
नवसञ्चालित क्याम्पसलाई साधन सुविधा सम्पन्न बनाउन प्रतिबद्ध भइ लागिने नगरप्रमुख सञ्जिवकुमार साह बताउनुहुन्छ ।