महोत्तरी,३१जेठ ।

मटिहानी नगरपालिका-६ स्थित स्वास्थ्यचाैकीलाई एम्बुलेन्स प्राप्त भएकाे छ ।
मित्रराष्ट्र भारतकाे वीरगञ्जस्थित महावाणिज्य दूतावासले मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डललाई स्वास्थ्यचाैकीका लागि एम्बुलेन्स हस्तान्तरण गरेकाे हाे । मटिहानी नगरपालिकाले करिब एक वर्षअघि स्वास्थ्यचाैकीका लागि नेपालस्थित भारतीय राजदूतावासलाई आग्रह गरेको थियाे ।

एम्बुलेन्स आज महावाणिज्य दूतावासका महावाणिज्य दूत श्रीदेवी सहाय मिनाले नगरप्रमुख मण्डललाई प्रदान गर्नुभएकाे हाे ।नेपाल भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत एम्बुलेन्स प्राप्त भएकाे नगरप्रमुख मण्डलले बताउनुभयाे ।

एम्बुलेन्स प्राप्त भएपछि सर्वसाधारणकाे उपचार व्यवस्थापनमा निकै सजिलाे हुने नगरप्रमुख मण्डलकाे विश्वास छ । अब गम्भीर प्रकृतिका बिरामीलाई तत्काल स्वास्थ्यचाैकी पुर्‍याउन र आवश्यकताअनुसार थप उपचारका लागि बाहिर लान निकै सजिलाे हुने मण्डलले विश्वास व्यक्त गर्नुभयाे ।

महावाणिज्य दूतावास वीरगञ्जले मटिहानीसँगै मधेश सरकार र अन्य पाँच स्थानीयतहका अस्पताल/ स्वास्थ्यचाैकी सम्बन्धित स्थानीयतहकाे अभिभावकत्व रहनेगरी अन्य चार स्थानीयतहलाई पनि एक/एकवटा एम्बुलेन्स दिइएकाे महावाणिज्य दूतावास वीरगञ्जले जनाएकाे छ ।

नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत मधेस प्रदेशलाई १ वटा र मधेस प्रदेशका अन्य चार स्थानीयतहलाई एम्बुलेन्स प्रदान गरिएकाे महावाणिज्य दूतावासले जनाएको छ।


२०८२ जेष्ठ ३१, शनिबार १८:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय