महाेत्तरी, १ असार ।
बर्दिबास नगर कार्यपालिकाकाे कार्यालयकाे शिक्षा तथा खेलकुद शाखाले गर्मी छल्न तीन दिन विद्यालय विदा दिएकाे छ । शाखाले अत्यधिक गर्मी बढेकाे हुँदा ससाना नानीहरुमा हुनसक्ने स्वास्थ्य जाेखिमलाई मध्यनजर गरिदै आज आइतबारदेखि पर्सि मङ्गलबारसम्म तीन दिन विदाकाे सूचना शनिबार गरेकाे हाे । याे सूचनासँगै नगरक्षेत्रका ५५ सामुदायिक र ३० संस्थागतसमेत ८० विद्यालयमा विदा भएकाे छ ।
यसैगरी गर्मीकै कारण यसअघि गत बुधबारदेखि शुक्रबारसम्म विदा दिएकाे जलेश्वर नगरपालिकाले भने आजदेखि गर्मी छल्न बिहानी कक्षा सुरु गरेकाे छ ।
यता बर्दिबास नगरपालिकाकाे शिक्षा शाखाले शनिबार तीन दिन विदाकाे सूचना गरेलगत्तै आज आइतबार बिहानैदेखि माैसम शीतल भएकाे छ । सामान्य वर्षासँगै माैसम शीतल भएपछि गर्मी छल्न विदाकाे सूचना जारी गर्ने तयारीमा रहेका अन्य स्थानीयतहले भने अब कक्षा बन्द नगर्ने टुङ्गाे गरेका छन् ।

गर्मी धेरै बढेपछि विदा दिनेबारे छलफल थालिएबीच नै माैसम शीतल भएपछि अब विद्यालय बन्द गर्न नपर्ने टुङ्गाे गरिएकाे मटिहानी नगर कार्यपालिकाकाे कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले बताउनुभयाे । यसैगरी भङ्गाहा नगरपालिकाले पनि अबकाे माैसम हेरेर विदाबारे निर्णय लिइने जनाएकाे छ । यसपालि शिक्षक आन्दोलनले लामाे समय विद्यालय नचल्दा पठनपाठन निकै पछि परेकाे छ । यसलाईसमेत दृष्टिगत गरी विद्यालय सञ्चालन नियमित गरेर बिहानी कक्षा सञ्चालन गरिएकाे भङ्गाहाका नगरप्रमुख सञ्जिवकुमार साहले जानकारी दिनुभयाे ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतह छन् । बढ्दाे गर्मी छल्न सबैजसाेले विदाकाे तयारी गरेका भएपनि आज बिहानबाट माैसम शीतल बन्दै गएपछि विदाकाे कुरा अहिले थाति बसेकाे छ ।


२०८२ असार १, आईतवार १७:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय