गाेपाल बराल,
महोत्तरी, ३ असार ।

महोत्तरीमा बर्सेनि नियमविपरित सवारी साधन चलाउँदा ट्रफिक प्रहरीले गर्ने कार्वाही क्रमशः घट्दो छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरीले गरेका पछिल्ला तीन वर्षको तथ्याङ्क केलाइँदा बर्सेनि कार्वाही घट्दै गएको देखिएको हो ।

चालु आर्थिक वर्ष २०८१/०८२ को गत जेठ मसान्तसम्मको विवरणमा कार्वाही सङ्ख्या २४ हजार ४६४ रहेको अभिलेखले देखाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को सोही अवधि (साउनदेखि जेठसम्म) को कार्वाही सङ्ख्या ३५ हजार ९२७ र त्यसअघिको आव २०७९/०८० मा ३७ हजार १५० कार्वाही भएका छन् । आव २०७९/०८० को पनि यो साउनदेखि जेठसम्मको विवरण रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरी बर्दिबासका प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले पुष्टि गर्नुभयो ।

“सवारी साधन त दिनहुँ थपिदा छन् , बर्सेनि सडकमा चल्ने सवारी साधनको सङ्ख्या त बढी रहेकै छ” जोशी भन्नुहुन्छ, “यसबीच बढेका ट्रफिक सचेतना कार्यक्रमको प्रभावले हुनसक्छ, हामीले नियमित चेकजाँच बढाएपनि कार्वाही गरिनु पर्ने प्रकृति भने घटेका छन् ।” कार्वाही घट्दै गएसँगै बर्सेनि सडक दुर्घटना र मानवीय क्षतिका घटना पनि घट्दै गएका जोशीको भनाइ छ ।

कार्वाही विवरण केलाइँदा बितेका दुई आर्थिक वर्षमा जेठ सबैभन्दा बढी र साउन सबैभन्दा कम कार्वाही गरिएका महिना देखिएका छन् । गत आव २०८०/०८१ मा सबैभन्दा बढी कार्वाही जेठमा चार हजार १५० र सबैभन्दा कम साउनमा एक हजार १४० मात्र छ । यसैगरी त्यसपहिलेको आव २०७९/०८० मा पनि सबैभन्दा बढी जेठमा चार हजार ८०० र साउनमा सबैभन्दा कम एक हजार ८०० कार्वाही भएका छन् । जारी आवमा भने यो तालिका फरक परेको छ । यस वर्ष हालसम्म (गत साउनदेखि जेठसम्म) मा सबैभन्दा बढी गत मङ्सिरमा दुई हजार ९०१ र सबैभन्दा कम पुसमा दुई हजार १० देखिएको छ ।

कार्वाही सङ्ख्या घटेपनि २०७९/०८० को सो अवधिभन्दा आव २०८०/०८१ को सोही अवधिमा राजश्व भने बढी सङ्कलन भएको छ । आव २०८०/०८१ को सो अवधिमा तीन करोड नौ लाख ६२ हजार ८५० रुपैयाँ जरिवाना कार्वाहीबाट राजश्व सङ्कलन भएको छ । त्यसअघिको आव २०७९/०८० को सोही अवधिमा दुई करोड ७९ लाख ७५ हजार ५०० राजश्व सङ्कलन भएको थियो । कार्वाही सङ्ख्या घटेपनि ठूला सवारी साधनमा कार्वाही बढी हुँदा राजश्व बढेको प्रनि जोशीले स्पष्ट पार्नुभयो । यसपालि जारी आवको सो अवधिमा भने दुई करोड ३३ लाख ६१ हजार ५०४ रुपैयाँमात्र राजश्व सङ्कलन भएको छ ।

राजश्व घटेपनि नियमविपरित सवारी साधन चलाउने क्रम कम हुँदै जानु नियमित गरिदै आइएका सचेतना कार्यक्रमको उपलब्धी भएको कार्यालयको ठम्याइ छ ।


२०८२ असार ३, मंगलवार २०:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय