
मटिहानी (महाेत्तरी), ४ असार :
मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ कराेड ५० लाखकाे अनुमानित बजेट प्रस्तुत गरेकाे छ । आज बुधबार मटिहानी नगरसभाकाे १५ औं नगर परिषदमा नगरप्रमुख हरिप्रसाद मण्डलले आगामी आवको नीति तथा कार्यक्रमसँगै उक्त राशिकाे अनुमानित बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उद्घाटन गर्नु भएकाे परिषदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै प्रमुख मण्डलले
बजेटमा सङ्घीय सरकारबाट २८ कराेड १० लाख,मधेश प्रदेश सरकारबाट एक कराेड २६ लाख, आन्तरिक स्राेतबाट पाँच कराेड ९० लाख र गत आवको माैज्दात चार कराेड १४ लाख आगामी आवका लागि मुख्य आय शिर्षक रहेका उल्लेख गर्नुभयाे । प्रस्तावित नीति तथा कार्यक्रम तथा बजेटले मुख्य प्राथमिकता कृषि तथा पशुपक्षीपालनलाई दिइएकाे नगरप्रमुख मण्डलले स्पष्ट पार्नुभयाे ।
प्रस्तावित बजेटमा मटिहानीकाे विशेष पहिचान बन्दै आएको मखान खेतीलाई प्रबर्द्धन गरिने प्रतिबद्धता जनाइएकाे छ । यसैगरी तरकारी, अन्नबाली, दलहन र तेलहन खेतीका किसानलाई उत्प्रेरित गर्न विशेष कार्यक्रम प्रस्तावित गरिएकाे मण्डलले बताउनुभयाे । खेतीमा महिलालाई जाेड्न ‘एक घर एक करेसाबारी’ कार्यक्रम निति तथा कार्यक्रममा समेटिएकाे छ ।
यसैगरी पर्यटन प्रबर्द्धनका विशेष कार्यक्रमसँगै शिक्षा र स्वास्थ्यमा सबैकाे पहुँच सुनिश्चित गरिन बजेटमा प्रस्ताव गरिएकाे मण्डलकाे भनाइ छ ।